दानामा एन्टिबायोटिक्स ,तस्करीमा पूर्वएआइजी र हेफरका कन्ट्रीडाइरेक्टर

राजन प्रसाई
काठमाडौं ।नेपालमा चोरी तस्करीका घटना दिनहुँ भइरहेकै छन् । कतिपय तस्करीका घटनामा प्रहरीले प्रकाउ गरेर सार्वजनिक गर्ने तथा कतिपयमा कारबाहीसमेत हुने गरेका छन् ।
यस्तैमा सरकारद्वारा कुखुराको दानामा मिसाउन प्रयोग हुने एण्टिबायोटिक्स तस्करीमा नेपाल प्रहरीको उच्च तहबाट अवकाशप्राप्त पूर्वएआइजी भीष्म प्रसाईं संलग्न रहेको खुलेको छ । केही समयदेखि नेपालमा कुखुराको दानामा प्रयोग हुने एन्टिबायोटिक्स प्रतिबन्धित छ । एण्टिबायोटिक्सको अधिक प्रयोगले एन्टिबायोटिक्स रेसिष्टेन्समा वृद्धि भई औषधिले कामै नगर्नेबारे जनस्तरमा सचेतना आवश्यक देखिएका बेला ललितपुरको लगनखेलमा सञ्चालन भइरहेको सिद्धदेवी इन्टरनेशनले भारतको स्टालिन कम्पनीले उत्पादन गरिरहेको ‘स्टल बिएमडी’ नामक औषधि तस्करी गरेर आयात गरिरहेको प्रमाण भेट टाइम्स मासिकले फेला परेको छ । जसको मुख्य हर्ताकर्ता प्रसाईं छन् ।
अगस्ट २०२१ मा उत्पादन भएर जुलाई २०२४ सम्म प्रयोग अवधि रहेको ब्याच नं.SFRB 210045 को २५ केजीको ‘स्टल बिएमडी’बोरा भेट टाइम्सले फेला पारेको छ । परिचय खुलाउन नचाहने एक व्यक्तिले भेट टाइम्स मासिकको कार्यालयमा टेलिफोन सम्पर्क गरी यसबारे गुनासो गरेका थिए । लगत्तै भेट टाइम्सका ग्रुप सम्पादक डा.वंशी शर्माको नेतृत्वमा स्थलगत रिपोर्टिङ गरिएको थियो । जसक्रममा कुखुराको दानामा प्रयोग हुने प्रतिबन्धित एन्टिबायोटिक्स फेला परेको छ ।
प्रतिबन्धित एन्टिबायोटिक्सको कारोबार भइरहेको पुष्टिपछि यसका आधिकारिक व्यक्ति खोजी गर्ने क्रममा भेटिएको तथ्य अझै अचम्मित बनाउने खालको छ । यो अनधिकृत गतिविधिमा कुनै बेला देशको कानूनको परिपालना गर्ने शपथ खाएका नेपाल प्रहरीका पूर्वएआइजी प्रसाईं नै संलग्न रहेको भेटिएको हो ।
भेट टाइम्सले अनधिकृत एन्टिबायोटिक्सको कारोबारमा संलग्नताबारे जिज्ञासा राख्दा उनले आफूहरू आधिकारिक बिक्रेता भएको स्वीकार गरे । तर उक्त एन्टिबायोटिक्सको आयात भने आफूले नगरेको उनको दाबी छ । ‘यो हाम्रो र कान्तिपुरको साझेदारी कम्पनी हो । हामीले यस कम्पनीको सामान बिक्री गरिरहेका छौं । तर यो सामान (एन्टिबायोटिक्स) को आयात भने हामीले गरेका होइनौं ।’
ह्वाट्स एपमार्फत भेट टाइम्ससँग सम्पर्कमा जोडिएका स्टालिन साउथ एसिया प्राली भारतका सिइयो अनिकेत पारिखले नेपालमा प्रतिबन्धित रहेको उक्त सामान आफूहरूले नपठाएको बरु सिद्धदेवीले तस्करी गरेर लगेको बताए । उनले भने, ‘सो सामान सिद्धदेवीले भारतबाट तस्करी नै गरेर लगेको हो । हामीले पठाएका होइनौं । किनकि, नेपालमा यो सामान प्रतिबन्धित रहेको हामीलाई राम्रोसँग जानकारी छ ।’ तर,यिनको जवाफ र काम गराईमा भने फरक पाईएको छ । भेट टाइम्सलाई प्राप्त सुचनामा यीनै अनिकेतले आफ्ना उत्पादनको बोराको बाहिरी भागमा खाली बोराले लुकाएर नेपालका दर्जनबढी दाना उद्योगमा एन्टिवायोटिक्स सप्लाई गरिहेको पाईएको छ । भेट टाइम्स आगामी अंकमा सरकारी निकायबाट पुष्टि गराई त्यस्ता दाना उद्योगहरुको समेत खुलासा गर्दै जाने छौं ।
फिड सप्लिमेन्ट आयात सिफारिसको अधिकार रहेको राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख डा.सूर्यप्रसाद पौडेलले पनि सिद्धदेवीलाई एन्टिबायोटिक्स आयातको सिफारिस दिएको जानकारी उनको कार्यालयको रेकर्डमा नदेखिएको बताउँछन् ।
समाचार रोक्न प्रलोभन
पूर्वएआइजीको संलग्नतामा कारोबार भइरहेको एन्टिबायोटिक्सबारे तथ्य जाँच गर्न हामीले पहिल्यै ग्राहक बनेर उक्त औषधि खरिद गरिसकेका थियौं । यसको सुइँको पाउनुपूर्व उनले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए । तर जब भेट टाइम्सले ग्राहक बनेर खरिद नै गरिसकेको चाल पाए, त्यसपछि भने उनको टोन नै बदलियो । उनले भेट टाइम्सका कार्यकारी अधिकृत राजन प्रसाईंलाई टेलिफोन सम्पर्क नै गरी ‘हामी सहयोग गर्ने मान्छे हो’ भन्दै प्रलोभनमा पार्ने प्रयास गरेका थिए ।
अवैध तस्करी गरेको स्वीकार
अनधिकृत गतिविधिमा पूर्वएआइजी संलग्न भएको पुष्टिपछि भेट टाइम्सले कम्पनीका आधिकारिक व्यक्तिसँग सम्पर्कको प्रयास गरेको थिए । तर प्रायः सबै अधिकारी पन्छिए । सिद्धदेवी इन्टरनेशनलको भागिनी संस्था सन् फिडका डाइरेक्टर नितेश गुप्ताले त जिम्मेवारी नै छाडेको झुटो दाबी गर्न भ्याए । जबकि, उनी अहिले पनि सन् फिडको निर्देशकका रूपमा काम गरिरहेका छन् ।
लेखापाल रमेश खतिवडा भने भेट टाइम्ससँग टेलिफोन सम्पर्कमा जोडिए उनले भने आफ्नो कम्पनीले अनधिकृत एन्टिबायोटिक्स बिक्री वितरण गरिरहेको स्वीकार गरे । तर उक्त सामान अहिले नभएर एक वर्षअघि नै आयात गरिएको उनको भनाइ छ । उनले भने, ‘हो, हामीहरूले उक्त सामान बिक्री गरिरहेका छौं ।
तर सो सामान एक वर्ष पहिले नै आयात गरिएको हो ।’ आयात गरिएकोमध्ये धेरै बिक्री भइसकेको र अब थोरै मात्र बाँकी रहेको उनले बताए । उनले विज्ञापन दिने प्रलोभन देखाउँदै समाचार नछाप्न अनुरोधसमेत गरे । सिद्धदेवी इन्टरनेशनल प्रा.लि.प्रतिष्ठित कम्पनी हो ।
जसको कार्यकारी अधिकारमा पूर्व एआइजी भीष्म प्रसाई र पशु सेवा विभागका पूर्व डिजी डा. शुभनारायण महतो छन् । महतो हेफर इन्टरनेशनल नेपालका कन्ट्रिडाइरेक्टरसमेत हुन् ।
भेट टाइम्सका सम्पर्कमा आएका डा.महतोले आफू सिद्धदेवीको सेयर होल्डर भए पनि प्रतिबन्धित एन्टिबायोटिक्स बिक्री वितरण गर्ने गरेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘म सिद्धदेवीको सेयर होल्डर हुँ । तर मलाई यसले कुखुराको दानामा प्रयोग हुने प्रतिबन्धित एन्टिबायोटिक्स बिक्री वितरण गरेकोबारे केही जानकारी छैन । कार्यालयमा आउनूस्, त्यही भेटेर कुरा गरौंला,’ भेट टाइम्ससँग टेलिफोन सम्पर्कमा जोडिएका उनले भने ।

भेट टाइम्स मासिक मंसिर,२०७९ बाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *