किन बारम्बार फैलिरहेछ बर्डफ्लु ?

काठमाडौं । यही चैत ४ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकाका दुई फार्ममा पालिएका कुखुरामा एकसाथ बर्डफ्लु संक्रमण पुष्टि भयो । यो यस वर्ष पहिलो पटक देखिएको संक्रमण थियो । फार्ममा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सरकारी सक्रियतामा ती सबैलाई मारेर नष्ट गरियो । बर्डफ्लु संक्रमण एक ठाउँबाट अर्को ठाउँमा छिट्टै फैलने भएकाले कुनै पनि स्थानमा संक्रमण पुष्टि भएलगत्तै सम्पूर्ण पन्छी मारेर नष्ट गर्ने प्रचलन छ ।

सरकारी सक्रियतामा बर्डफ्लु संक्रमित कुखुरा नष्ट गरिए पनि संक्रमणको बेग रोक्ने प्रयास सफल हुन सकेन । पूर्वी नेपाल ‘इपिसेन्टर’ रहेको बर्डफ्लु अहिले विभिन्न जिल्लामा फैलिसकेको छ । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्याय सावधानीका बावजुद देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फैलिएको बताउँछन् । ‘मोरङका दुई फार्मका कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएसँगै अन्यत्र नफैलियोस् भनेर हामीले त्यसलाई नष्ट गरेका थियौं,’ डा. उपाध्याय भन्छन्, ‘हाम्रो सावधानीका बावजुद देशका विभिन्न भागमा अतिसंक्रामक रोग बर्डफ्लु फैलिएको पाइएको छ ।’

पशु सेवा विभागअन्तर्गतको नेशनल एनिमल हेल्थ इन्फरमेसन सिस्टम (एनएएचआइएस) का अनुसार ०८२ चैत महिनाभरिमा देशभरका ३० वटा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ । बर्डफ्लुबाट सबैभन्दा धेरै सुनसरीका १२ फार्म प्रभावित भएका छन् । संक्रमण फैलन नदिन त्यहाँका २५ हजार ८२० कुखुरा मारिएको छ भने ७८ हजार ८०० अण्डा नष्ट गरिसकिएको छ । त्यसैगरी, ४ हजार ७५० किलोग्राम दाना पनि नष्ट गरिएको छ ।

कोशीको मोरङ र झापाका अतिरिक्त बागमतीका चितवन, काठमाडौंलगायत स्थानमा पनि बर्डफ्लु संक्रमण भेटिएको छ । एनएएचआइएसका अनुसार मोरङका ८, झापाका २, चितवन र काठमाडौंका एक÷एक स्थानका फार्ममा बर्डफ्लु भेटिएको हो ।

काठमाडौंको कीर्तिपुरमा मरेको कागमा बर्डफ्लु संक्रमण पुष्टि भएकाले यो समुदायस्तरमै फैलिएको आशंका कतिपयले गरेका छन् । तर विभागका वरिष्ठ पशु चिकित्सक डा. उपाध्याय यो आशंका तथ्यपूर्ण नरहेको दाबी गर्छन् । उनका अनुसार, अन्य स्थानमा मरेका पन्छीको नमुना संकलन गरेर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । ‘काठमाडौंको कीर्तिपुरमा मृत भेटिएको कागको नमुना संकलन गरेर प्रयोगशाला परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि हामीले अन्यत्र यसैगरी मरेका पन्छीको पनि परीक्षण गरेका थियौं,’ डा. उपाध्यायले भने, ‘तर अन्य कुनै पनि पन्छीमा अहिलेसम्म बर्डफ्लु संक्रमण पुष्टि भएको छैन ।’

बढ्दो क्रममा रहेको बर्डफ्लुको इपिसेन्टर यस पटक कोशी प्रदेश बनेको डा. उपाध्याय बताउँछन् । कोशी प्रदेशमा पनि झापा, मोरङ र सुनसरी बढी प्रभावित बनेको उनको भनाइ छ । संक्रमण धेरै ठाउँमा देखिएकाले यो प्रदेशमा सबैभन्दा धेरै पन्छी नष्ट गरिएको छ ।

डा. उपाध्याय संख्यात्मक रूपमा करिब–करिब १ लाख २७ हजार ८३९ वटा कुखुरा मारिसकिएको बताउँछन् । कुखुराहरूमा पनि फूल पार्ने जातका लेयर्स यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । बर्डफ्लु संक्रमण पुष्टि भएर नष्ट गरिएकामध्ये ८३ प्रतिशत लेयर्स र ८ प्रतिशत ब्रोइलर जातका कुखुरा रहेको डा. उपाध्यायले जानकारी दिए । उनका अनुसार प्यारेन्ट चल्ला ६ प्रतिशत, लोकल कुखुरा २ प्रतिशत र अन्य गिरिराज, परेवालगायत पन्छी १ प्रतिशत नष्ट गरिएको छ ।

बर्डफ्लु संक्रमणबाट हालसम्म १३ करोड रूपैयाँ क्षति भइसकेको डा. उपाध्यायले जानकारी दिए । यो क्रम रोकिएन र केही समय जारी रह्यो भने २७ देखि २८ करोड रूपैयाँसम्म क्षति हुने उनको आकलन छ । ‘बर्डफ्लु प्रभावित कोशी प्रदेशबाट क्षतिको विवरण आउने क्रम जारी छ । अब त्यस्तै चार–पाँच ठाउँबाट विवरण आउन बाँकी होला,’ क्षतिबारे जानकारी दिँदै डा. उपाध्यायले भने, ‘यसपालि कुखुरा, अण्डा र दाना नष्ट गरिएको विवरण हेर्दा १३ करोड चानचुन क्षति भइसकेको छ । यो क्रम रोकिएन र अझै केही समय जारी रह्यो भने २७÷२८ करोड थप क्षति हुने देखिन्छ ।’
बर्डफ्लु संक्रमणको जोखिम बढेसँगै सावधानीका उपायहरू कडाइका साथ अवलम्बन गरिएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार, बर्डफ्लु संक्रमण देखिएका जिल्लामा पन्छीको ओसारपसार गर्न रोक लगाइएको छ । त्यसैगरी, बर्डफ्लु देखिएका स्थानलाई बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीमार्फत त्यस्ता पन्छी नष्ट गर्ने काम पनि सँगसँगै भइरहेको छ । यही
कारण आफूहरूले गरेको परीक्षणमा बर्डफ्लु संक्रमण पुष्टि नभएको विभागको भनाइ छ ।

कसरी फैलियो बर्डफ्लु ?

नेपालमा पहिलो पटक सन् २००९ मा बर्डफ्लु पुष्टि भएको थियो ।

बर्डफ्लुबारे पर्याप्त जानकारी नभएकाले यो देशैभरि फैलिएको थियो । फैलावट बढी भएकाले स्वाभाविक रूपमा उतिबेला यसले क्षति पनि बढी नै गराएको थियो ।
बर्डफ्लु अब नयाँ रोग रहेन । यसबारे भएका अध्ययन, अनुसन्धानको निष्कर्ष किसानसम्म पुगिसकेको छ । यो रोग किन लाग्छ ? के गरे यसको जोखिम घटाउन सकिन्छ भन्ने सचेतना पर्याप्त मात्रामा विस्तार भए पनि संक्रमण फैलिएसँगै किसानले क्षति व्यहोर्ने सिलसिला यथावत् छ । यद्यपि, पहिलेको तुलनामा यसबाट हुने क्षति कम हुँदै गएको पशु चिकित्सकहरू बताउँछन् । ‘सन् २००९ मा नेपालमा पहिलो पटक बर्डफ्लु महामारी भित्रिँदा यो रोग नयाँ थियो । मानिसहरूलाई यसबारे खासै जानकारी थिएन । त्यसैले त्यतिबेला देशैभरि रोग फैलिएको थियो । तर अहिले अवस्था त्यस्तो छैन, केही स्थानमा मात्र बर्डफ्लु देखिएको छ,’ डा. उपाध्याय भन्छन् ।

बर्डफ्लुबाट करोडौंको नोक्सानी भइरहे पनि यसको नियन्त्रण गर्न किन सकिएको छैन ? डा. उपाध्याय जैविक सुरक्षामा ध्यान दिन नसक्दा बर्डफ्लु संक्रमण फैलने गरेको बताउँछन् । उनका अनुसार, बर्डफ्लु प्रायः जंगली चराचुरुंगीबाट हाम्रा स्थानीय पन्छीहरूमा सर्ने गरेको छ । विशेष गरेर रोमानिया, साइबेरियाबाट जाडो छल्नका लागि आउने पाहुना चराहरूबाट यो रोग घरपालुवा पन्छीमा सर्ने गरेको छ । बसाइँसराइ गरेर नेपाल आउने पाहुना चराहरू बंगलादेश, पाकिस्तान, भारतलगायतका मुलुकहरूको रुखहरूमा, सिमसारहरूमा बास बसेर आउँदा रोग सारेर आउने र नेपालमा आइसकेपछि स्थानीय पन्छीसँग लसपस हुँदा बर्डफ्लु संक्रमण फैलिने उनको भनाइ छ । टाढाबाट बसाइँसराइ गरेर आउने चराहरूलाई रोक्ने कुरा काबु बाहिरको भएकाले जैविक सुरक्षामा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

त्यस्तै, जंगल नजिक, बाँसका झाङ वरपर फार्म स्थापना गर्दा जंगली चरासँग लसपस हुने र बर्डफ्लु सर्ने हुन्छ । दाना, अण्डा, चल्ला एउटै गाडीमा ओसार्दा, एक फार्मबाट अर्को फार्ममा जाँदा पनि यो रोगको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् । डा. उपाध्याय जैविक सुरक्षामा चुक हुँदा नेपालमा बारम्बार बर्डफ्लु संक्रमण दोहोरिएको बताउँछन् । यद्यपि, अहिले कुखुरापालक कृषकले यसमा ध्यान दिन थालेको उनको निचोड छ । ‘जैविक सुरक्षामा ध्यान दिइएकै कारण सुरुवाती वर्षहरूमा जसरी यो सबैतिर नपुगेको हो । जानेर, बुझेर, अध्ययन गरेर व्यावसायिक रूपमा कुखुरापालन गर्नेहरू जैविक सुरक्षाप्रति संवेदनशील हुनुहुन्छ । तर अरूको देखासिकीमा फार्म सञ्चालन गर्नेहरूले भने जैविक सुरक्षामा खासै ध्यान दिएको पाइँदैन । ‘मेरो फार्ममा त बर्डफ्लु आउँदैन होला’ भनेर हेलचेक्र्याइँ गर्दा यो रोग लाग्ने गरेको पाइन्छ । त्यसैले जैविक सुरक्षाको विषयमा सबै संवेदनशील हुनुपर्छ,’ डा. उपाध्यायको सुझाव छ ।
बर्डफ्लुको जोखिम उच्च तैपनि छैन परीक्षण

बर्डफ्लुलाई अति संक्रामक पन्छीजन्य रोग मानिन्छ । अतिसंक्रामक भएकाले भुसको आगोजस्तो छिट्टै फैलने गुण यसमा हुन्छ । त्यसैले कुनै पनि पन्छीमा बर्डफ्लु संक्रमण पुष्टि भएलगत्तै नष्ट गर्ने विश्वव्यापी अभ्यास छ । यो अहिलेसम्म विकास भएको अभ्यासमध्ये प्रभावकारी भएकाले नेपालमा पनि बर्डफ्लुको पहिचान भए लगत्तै पन्छी मारेर त्यसलाई खाल्डोमा राम्रोसँग पुर्ने गरिएको छ ।

डा. उपाध्याय यसपालि धेरै ठाउँमा बर्डफ्लु फैलिइसकेकाले जोखिम बढाएको निचोड सुनाउँछन् । नियन्त्रणका प्रयासमा लाग्दा लाग्दै पनि बर्डफ्लुको संक्रमण धेरै ठाउँमा फैलन पुगेको उनको भनाइ छ । ‘बर्डफ्लु संक्रमण देखिएको झापाको अवस्था ठीकै छ । तर सुनसरीको अवस्था त्यति राम्रो छैन,’ डा. उपाध्याय भन्छन्, ‘रोग न्यूनीकरणका लागि सावधानीका उपायहरू अवलम्बन गरिएका भए पनि रोग फैलिरहेको हामीले पाएका छौं । मुभमेन्ट कन्ट्रोल त्यति प्रभावकारी भएको छैन कि, अवैध रूपमा कुखुराको ओसारपसार भइरहेको छ कि भन्ने हाम्रो आशंका छ ।’

बर्डफ्लु संक्रमण रोक्न नसकिएकाले यो केही समय रहने उनको अनुमान छ । ‘बर्डफ्ल् फैलिइसकेपछि त्यत्तिकै रोकिँदैन । जहाँ–जहाँ बर्डफ्लुको संक्रमण फैलिइसकेको हुन्छ, त्यहाँका कुखुरा मर्ने निश्चित हुन्छ,’ डा. उपाध्याय भन्छन्, ‘गतिविधि राम्रोसँग रोक्न सक्ने हो, सबैले साथ सहयोग गर्ने हो भने बर्डफ्लु रोकिन्छ । तर यो पालि फैलिएको बर्डफ्लुलाई अहिलेसम्म रोक्न नसकिएकाले यो अवस्था केही समय रहन्छ कि भन्ने हाम्रो अनुमान छ ।’

बर्डफ्लु नियन्त्रणको एक मात्र प्रभावकारी उपाय संक्रमित पन्छी नष्ट गर्नु नै हो । पन्छी बर्डफ्लुबाट संक्रमित भए÷नभएको पत्ता लगाउने भरपर्दो विधिचाहिँ वैज्ञानिक परीक्षण हो । तर सरकारले पन्छीहरूको बर्डफ्लु परीक्षण प्रभावकारी रूपमा गर्न सकेको छैन । न त परीक्षणलाई गम्भीरतापूर्वक लिएको पाइन्छ । किसानले नमुना लगेर दिएपछि मात्रै बल्ल बर्डफ्लुको परीक्षण हुने गरेको छ । डा. उपाध्याय पन्छीपालक कृषकले उपलब्ध गराउने नमुना पशु सेवा विभागको केन्द्रीय प्रयोगशाला र सात प्रदेशमा रहेका प्रादेशिक प्रयोगशालाबाट परीक्षण भइरहेको बताउँछन् । उनले आफूले पालेका फार्मका पन्छीमा बर्डफ्लुको शंका लागेमा तुरुन्त प्रयोगशालामा लगेर परीक्षण गर्न पनि किसानहरूलाई अनुरोध गरे । जानकारहरू धेरै स्थानमा बर्डफ्लु देखिइसकेपछि परीक्षणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा सरकारले त्यसतर्फ ध्यान नपु¥याउँदा जोखिम बढेको निचोड सुनाउँछन् । सरकारले बर्डफ्लुबाट मरेका कुखुराको क्षतिपूर्ति मूल्यको ७५ प्रतिशत मात्र दिने भएकाले पनि किसानहरूले परीक्षणमा चासो नदिने गरेको उनीहरूको भनाइ छ ।

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. उपाध्याय भने फार्ममा गएर बर्डफ्लु परीक्षण गर्दा रोग फैलने जोखिम भएकाले जानीबुझी त्यस्तो जोखिम नउठाइएको बताउँछन् । ‘शंकास्पद ठाउँको नमुना संकलन गरेर प्रयोगशाला परीक्षणको काम भइरहे पनि बर्डफ्लु संक्रमण भएको एक फार्मबाट अर्को फार्ममा जाँदा हामी आफैंले रोग सार्न सक्ने भएकाले फिल्डमै गएर परीक्षणको काम कम गर्न भनेका छौं,’ डा. उपाध्यायले भने ।

बर्डफ्लुमा कुखुरा खान मिल्छ कि मिल्दैन ?

बर्डफ्लु संक्रमणसँगै उपभोक्ताहरूमा कुखुराको मासु खाने कि नखाने भन्ने अलमल र अन्योल देखिने गरेको छ । त्यसैले अघिल्ला वर्षहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएका समाचार सार्वजनिक भएसँगै उपभोग दर घट्ने गरेको थियो ।
चिकित्सकहरूका अनुसार बर्डफ्लु भाइरससँग तातो सहन गर्नसक्ने शक्ति हुँदैन । थोरै तातो बनाउँदा पनि यो मर्छ । अहिलेसम्म कुखुराको पकाएको अण्डा र मासु खाएर कसैलाई पनि बर्डफ्लु लागेको छैन ।
डा. उपाध्याय बर्डफ्लु संक्रमणका समयमा पनि कुखुराको मासु ढुक्कसँग खान मिल्ने बताउँछन् । तर पकाउँदा भने ध्यान दिनुपर्ने उनको सुझाव छ । तर राम्रोसँग पकाउन भने पर्छ ।
‘अहिलेसम्म कुखुराको पकाएको अण्डा र मासु खाएर कसैलाई पनि बर्डफ्लु लागेको छैन । महत्वपूर्ण कुरा के छ भने बर्डफ्लु भाइरसमा तातो सहन गर्न सक्ने क्षमता हुँदैन,’ डा. उपाध्यायले भेट टाइम्स मासिकसँग भने, ‘थोरै तातो बनाउँदा पनि यो मर्छ । त्यसैले बर्डफ्लुको बेला ढुक्क भएर पन्छीजन्य वस्तु उपभोग गर्दा हुन्छ । तर राम्रोसँग पकाउन भने जरुरी छ । किनभने, काँचो मासु खाँदा त अन्य रोग पनि सर्न सक्छ नि ।’

बर्डफ्लु भए पनि माग उस्तै, बढ्यो मूल्य

बर्डफ्लु लागे पनि राम्रोसँग पकाएर कुखुराको मासु खान मिल्ने जानकारी सम्प्रेषण भएसँगै उपभोग गर्ने दरमा बदलाव आएको छ । त्यसको छनक योपालिको बजारले दिएको छ । कुखुराको उपभोग दर बढ्दा यो पालि बर्डफ्लु भाइरस देखिए पनि कुखुराको भाउ वृद्धि भएको छ । सम्भवतः पहिलो पटक बर्डफ्लु संक्रमण देखिएका बेला कुखुराको मूल्य वृद्धि भएको हो ।
राष्ट्रिय कुखुरा बिक्री संघका अनुसार, यसपालि विगत वर्षहरूमा जस्तो बर्डफ्लुको असर बजारमा देखिएको छैन । बर्डफ्लुको समयमा मासुको माग बढ्दा मूल्य वृद्धि गरिएको संघको भनाइ छ । अहिले जिउँदो कुखुराको होलसेल मूल्य प्रति केजी २८० रूपैयाँ छ भने तयारी मासु प्रति केजी ४५० रूपैयाँ छ ।

 

किसानले कसरी पाउँछन् राहत ?

बर्डफ्लु प्रभावित किसानलाई सरकारले राहत दिने गरेको छ । बर्डफ्लुबाट क्षति व्यहोरेका किसान पेशाबाटै पलायन हुने क्रम बढेपछि सरकारले क्षतिपूर्ति दिन थालेको हो ।
सरकारले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहतसम्बन्धी मापदण्ड’ २०७९ बनाएको छ । जसमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा क्षतिको ७५ प्रतिशतसम्म किसानले राहत पाउने व्यवस्था छ । त्यसैको सिफारिसका आधारमा किसानले क्षतिको ७५ प्रतिशतसम्म राहत पाउँछन् ।

डा. उपाध्यायका अनुसार, यसपालि बर्डफ्लुबाट नोक्सानी व्यहोरेका किसानलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । ‘बर्डफ्लु प्रभावित कोशी प्रदेशबाट क्षतिको विवरण आउने क्रम जारी छ । अब त्यस्तै चार–पाँच ठाउँबाट विवरण आउन बाँकी होला । यो आइसकेपछि प्रक्रिया अघि बढाउँछौं,’ डा. उपाध्यायले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *