‘जैविक सुरक्षामा ध्यान नदिँदा बर्डफ्लु संक्रमण फैलिरहेको छ’
बर्डफ्लु संक्रमणका कारण कुखुरालगायत पन्छी पालन गर्ने किसानले ठूलो क्षति व्यहोर्दै आइरहेका छन् । यस वर्ष पनि झापा, मोरङ, सुनसरीलगायत जिल्लामा बर्डफ्लुको संक्रमण फैलिरहेको छ । अतिसंक्रामक बर्डफ्लु भाइरस एक ठाउँबाट अर्को ठाउँमा छिट्टै पुग्ने भएकाले कुखुरापालक कृषकहरू संक्रमण फैलने भयले त्रस्त छन् ।
पशु सेवा विभागका अनुसार यस वर्ष देखा परेको बर्डफ्लु संक्रमणबाट हालसम्म झण्डै १३ करोड रूपैयाँ नोक्सानी भइसकेको छ । यो क्षतिको ग्राफ बढेर करिब २८ करोडसम्म पुग्ने विभागको अनुमान छ ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्याय बर्डफ्लु नियन्त्रणका लागि जैविक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउँछन् । जैविक सुरक्षामा देखिएको चुककै कारण बर्डफ्लु महामारी पटक–पटक देखा परेको उनको ठम्याइ छ ।
बर्डफ्लु संक्रमणको पछिल्लो अवस्था, न्यूनीकरणका लागि सरकारीतबरबाट भइरहेका प्रयासलगायत विषयमा डा. उपाध्यायसँग भेट टाइम्स मासिकले गरेको कुराकानीको सम्पादित उतार ः
नेपालमा बर्डफ्लु संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
बर्डफ्लु संक्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशी प्रदेशका जिल्लाहरूमा पनि झापा, मोरङ र सुनसरी बढी प्रभावित छन् । संक्रमण बढेसँगै कोशीका तीन जिल्लामा धेरै कुखुरा नष्ट गरिएको छ । पशु सेवा विभागलाई प्राप्त पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म ३० वटा कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ । संख्यात्मक रूपमा करिब–करिब १ लाख २७ हजार ८३९ वटा कुखुरा मारिएको छ । कुखुराहरूमा पनि फूल पार्ने जातका लेयर्स यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । बर्डफ्लु संक्रमण पुष्टि भएर नष्ट गरिएकामध्ये ८३ प्रतिशत लेयर्स, ८ प्रतिशत ब्रोइलर जातका कुखुरा छन् भने प्यारेन्ट चल्ला ६ प्रतिशत रहेका छन् । त्यसैगरी, लोकल कुखुरा २ प्रतिशत र अन्य गिरिराज, परेवालगायत १ प्रतिशत नष्ट गरिएको छ ।
बर्डफ्लू संक्रमण बाह्य चराचुरुंगीहरूमा पनि पुष्टि भएको समाचार प्रकाशमा आएका छन् । यो जंगली पन्छीहरूमा पनि पुगिसकेको अवस्था हो ?
काठमाडौंको कीर्तिपुरमा मृत भेटिएको कागको नमुना संकलन गरेर हामीले प्रयोगशाला परीक्षण गरेका थियौं । नतिजामा उक्त काग एच९ संक्रमित भएको पुष्टि भएको छ । हाई प्याथोजेनिक पुष्टि भएको उक्त कागलाई तत्कालै नष्ट गरिसकिएको छ । अन्यत्र मृत भेटिएका पन्छीहरूको यसैगरी प्रयोगशाला परीक्षण गरिएको भए पनि तिनमा भने बर्डफ्लु पुष्टि भएको छैन ।
धेरै ठाउँमा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको र त्यस लगत्तै कुखुरालगायतका पन्छी नष्ट गरिएको यहाँले बताउनुभयो । बर्डफ्लुले यसपालि पनि महामारीकै रूप लिइसकेको हो ?
बर्डफ्लुलाई अत्यधिक रोगजनक (हाइली प्याथोजेनिक) मानिन्छ । बर्डफ्लुको मृत्युदर उच्च भएकाले यसबाट किसानले ठूलो क्षति व्यहोर्ने गरेका छन् । यही कारण बर्डफ्लु आउनेबित्तिकै किसान त्रस्त हुने गरेका हुन् । रोगको नेचर नै धेरै प्रभावित पार्ने किसिमको भएकाले राज्यले बर्डफ्लु संक्रमित कुखुरा नष्ट गरेर क्षतिपूर्ति दिने व्यवस्था गरेको हो ।
यसपालि बर्डफ्लु संक्रमण फैलनुको कारणहरू के–के रहेछन् ?
बर्डफ्लु फैलनुका कारणहरू धेरै वटा रहेको पत्ता लागिसकेको छ । कोशी प्रदेशको ‘आउटब्रेक’लाई हेर्दा एउटा फार्मबाट अर्को फार्ममा गाडीहरू निर्वाध रूपमा जाने, दाना, चल्ला, अण्डा एउटै गाडीमा ओसार्ने शैलीले भूमिका खेलेको पाइन्छ । प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग गरिएका, अग्ला रुख, बाँसका झाङ छेउमा खोर निर्माण गरिएका, पानी जम्ने, ठूला–ठूला पोखरी भएका सिमसार क्षेत्रका आसपासमा खोर निर्माण गरिएका कारणले पनि बर्डफ्लु फैलिएको पाइएको छ । त्यस्तै, रोग लागेका फार्मका मालिक, कामदारहरू निस्फिक्री आउजाउ गरिरहनु, भिजिटरलाई निर्बाध प्रवेश दिनुले पनि रोगको जोखिम बढाएको छ । सारमा भन्नुपर्दा जैविक सुरक्षामा ध्यान नदिँदा बर्डफ्लु संक्रमण फैलिएको अवस्था छ ।
बर्डफ्लुका कारण किसान त्रस्त देखिन्छन् । यो अझै उकालो लाग्नेवाला छ या घट्दो क्रममा छ ? केही अनुमान गर्न सकिने स्थिति छ ?
बर्डफ्लु संक्रमण देखिएको झापाको अवस्था ठीकै छ । तर सुनसरीको अवस्था त्यति राम्रो छैन । रोग न्यूनीकरणका लागि सावधानीका उपायहरू अवलम्बन गरिएका भए पनि रोग फैलिरहेको हामीले पाएका छौं । मुभमेन्ट कन्ट्रोल त्यति प्रभावकारी भएको छैन कि, अवैध रूपमा कुखुराको ओसारपसार भइरहेको छ कि भन्ने हाम्रो आशंका छ ।
बर्डफ्ल् फैलिइसकेपछि त्यत्तिकै रोकिँदैन । जहाँ–जहाँ बर्डफ्लुको संक्रमण फैलिइसकेको हुन्छ, त्यहाँका कुखुरा मर्ने निश्चित हुन्छ । गतिविधि राम्रोसँग रोक्न सक्ने हो, सबैले साथ सहयोग गर्ने हो भने बर्डफ्लु रोकिन्छ । तर यो पालि फैलिएको बर्डफ्लुलाई अहिलेसम्म रोक्न सकिएको छैन । त्यसैले यो अवस्था केही समय रहन्छ कि भन्ने हाम्रो अनुमान छ ।

भनेपछि आवश्यक सतर्कता र सावधानी अपनाउन सकिएको छैन ?
हुन त सबैले साथ सहयोग गरेका छन् । तैपनि कताकता अलि कम भएको हो कि भन्ने महसुस भएको छ ।
बर्डफ्लु संक्रामक रोग हो । यसको परीक्षणको काम अहिले कसरी भइरहेको छ ?
हरेक प्रदेशमा पशु रोग अन्वेषण प्रयोगशाला छन् । आफ्नो फार्मका धेरै पन्छी मर्न थाले, बर्डफ्लुको शंका लाग्यो भने कृषकहरूले प्रयोगशालामा कुखुरा लगेर जँचाउन सक्नुहुन्छ । त्यसक्रममा पोजेटिभ रिपोर्ट आयो भने प्रयोगशालाले थप नमुना संकलन गरेर काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पठाउनु हुन्छ । त्यहाँ थप आवश्यक परीक्षणहरू हुन्छन् ।
शंकास्पद स्थानको नमुना संकलन गरेर सरकार आफैंले परीक्षण गर्ने कामचाहिँ भएको छैन ?
शंकास्पद ठाउँमा नमुना संकलन गरेर प्रयोगशाला परीक्षणको काम भइरहेको छ । बर्डफ्लु संक्रमण भएको एक फार्मबाट अर्को फार्ममा जाँदा हामी आफैंले सार्न सक्ने भएकाले फिल्डमै गएर परीक्षणको काम कम गर्न भनेका छौं ।
बर्डफलुको पहिचान प्रभावकारी रूपमा गर्न राज्यका निकाय चुक्दा संक्रमण फैलिएको बताइन्छ । यसबारे यहाँको भनाइ के छ ?
त्यस्तो होइन । परीक्षणको काम सरकारी तबरबाट भन्दा पनि फार्म सञ्चालक आफैंले स्वतःस्फुर्त रूपमा गर्नु उपयुक्त हुन्छ । यदि कसैलाई आफूले पालेका कुखुरामा बर्डफ्लु संक्रमण भएको शंका लागेको छ भने प्रयोगशालामा लगेर परीक्षण गराउन सक्नुहुन्छ । कतिपयले आफ्नै पशुचिकित्सक र पशु स्वास्थ्यकर्मीहरूलाई देखाएर उपचार र परीक्षण कार्य गरेको पाइन्छ । तर प्रायः मानिसहरूले शंका लागेर पनि परीक्षणको काम गरेको पाइँदैन । रोग फैलिएर धेरै कुखुरा मरिसकेपछि बल्ल प्रयोगशालामा परीक्षणका लागि जाने गरिएको छ । यो प्रवृत्तिले पनि अलिकति समस्या सिर्जना गरेको छ ।
बर्डफ्लु महामारीबाट हुने क्षतिबारे विभागले केही आकलन गर्न भ्याएको छ कि छैन ?
बर्डफ्लु प्रभावित कोशी प्रदेशबाट क्षतिको विवरण आउने क्रम जारी छ । अब त्यस्तै चार–पाँच ठाउँबाट विवरण आउन बाँकी होला । कुखुरा, अण्डा र दाना नष्ट गरेको विवरण हेर्दा १३ करोड चानचुन क्षति भइसकेको छ । यो क्रम रोकिएन र अझै केही समय जारी रह्यो भने २७÷२८ करोड थप क्षति हुने देखिन्छ ।
बर्डफ्लुका कारण भएको क्षतिको संकलन कसरी भइरहेको छ ? क्षति व्यहोरेका किसानले कसरी राहत लिन सक्छन् ?
बर्डफ्लु संक्रमणका कारण मरेका पन्छीको तथ्यांक एकमुष्ट तयार गरेर जिल्लाले पशु सेवा विभागमा उपलब्ध गराउँछ । जिल्लाबाट विवरण प्राप्त भइसकेपछि किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विभागले टिप्पणी उठाएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाउनु पर्छ । त्यसका लागि हामीले प्रभावित जिल्लाबाट प्रचलित दररेट माग गरिसकेका छौं । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर कुखुरा, अण्डा, दानालगायतको दररेट उहाँहरूले उपलब्ध गराएपछि बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार त्यसको ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ । पशु सेवा विभागले त्यहीअनुसार आफ्नोतर्फबाट प्रक्रिया अघि बढाउँछ ।
बर्डफ्लुका कारण पन्छीपालक कृषकले वर्षौंदेखि ठूलो नोक्सानी व्यहोर्दै आइरहेका छन् । बर्डफ्लू महामारी बारम्बार दोहोरिनुको कारण के हो ? यसलाई न्यूनीकरण गर्न सकिँदैन ?
बर्डफ्लु संक्रमित कुखुरा नष्ट गर्दा करोडौं रूपैयाँ क्षति हुन्छ । करोडौंको क्षति गराएर कुखुरा किन मारेको होला भन्ने पनि लाग्न सक्छ । बर्डफ्लु भाइरस मानिसमा सरेर तेस्रो भाइरस जन्मिँदा त्यो मान्छेबाट मान्छेमा सर्छ । यदि यो प्रकृतिको भाइरस जन्मियो र मान्छेमा संक्रमण भयो भने कोभिड–१९ बाट जति मान्छे मरेका छन्,, त्योभन्दा कैयौं गुणा मानिसहरू मर्न सक्छन् । त्यसैले हामीले बर्डफ्लुको स्रोतलाई नै नष्ट गर्न कुखुरा मारेका हौं । मान्छेको जीवनको तुलनामा पन्छीको जीवन केही होइन । सर्वसाधारणलगायत सबैले यो कुरा बुझ्न जरुरी छ कि मानिसको जीवन बचाउनका लागि बर्डफ्लु संक्रमित पन्छी मारिएको हो । त्यसैले आमकिसानले जैविक सुरक्षाको उपाय अपनाएर मात्र पन्छीपालन गर्नुपर्छ । एउटाले गर्ने गल्तीबाट सबैले दुःख पाउने भएकाले त्यस्तो अवस्था नआओस् भनेर चनाखो हुनुपर्छ ।
अब म नेपालमा किन पटक–पटक बर्डफ्लु संक्रमण दोहोरिरहेको छ भन्ने प्रश्नमा आउन चाहन्छु । बर्डफ्लु प्रायः जंगली चराचुरुंगीबाट हाम्रा स्थानीय पन्छीहरूमा सर्ने गरेको छ । विशेष गरेर रोमानिया, साइबेरियाबाट जाडो छल्नका लागि पाहुना चराहरू नेपाल आउने गर्छन् । त्यसक्रममा ती चराहरू बंगलादेश, पाकिस्तान, भारतलगायतका मुलुकहरूको रुखहरूमा, सिमसारहरूमा बसेका हुन्छन् । नेपालमा आइसकेपछि हाम्रा स्थानीय पन्छीसँग पनि तिनको लसपस हुन्छ र ती पन्छीबाट फार्मका पन्छीमा बर्डफ्लु संक्रमण फैलन पुग्छ । टाढाबाट बसाइँसराइ गरेर आउने चराहरूलाई हामीले रोक्न सक्दैनौं । तर हामीले जैविक सुरक्षामा ध्यान दिएर जोखिमहरूबाट बचाउन भने अवश्य सक्छौं ।
जैविक सुरक्षामा ध्यान दिने हो भने बर्डफ्लुबाट बच्न सकिन्छ भन्नुभयो । जैविक सुरक्षाअन्तर्गत के–के पर्छन् ?
दाना, अण्डा, चल्ला एउटै गाडीमा नओसार्ने, एक पटक प्रयोग भएको गाडी राम्रोसँग सरसफाइ गरेर निःसंक्रमण गर्ने, एक फार्मबाट अर्को फार्ममा नजाने, फार्म भिजिटरलाई सहज पहुँच नदिने जस्ता कुरा यसमा पर्छन् । वनजंगलका पन्छीबाट यस्ता रोगको संक्रमण खतरा हुने भएकाले खोर निर्माणलगायतमा पनि चनाखो हुनुपर्छ । मरेका पन्छीलाई खाल्डो खनेर राम्रोसँग पुर्ने हो भने पनि संक्रमण फैलने जोखिम हुँदैन ।
जैविक सुरक्षाबारे फार्म सञ्चालकले आवश्यक जानकारी नपाएकाले यो समस्या दोहोरिएको हो कि ?
यसबारे जनचेतना फैलाउन सकिएन भन्ने मलाई लाग्दैन । सन् २००९ मा नेपालमा पहिलो पटक बर्डफ्लु महामारी भित्रिँदा यो रोग नयाँ थियो । मानिसहरूलाई यसबारे खासै जानकारी थिएन । त्यसैले त्यतिबेला देशैभरि रोग फैलिएको थियो । तर अहिले अवस्था त्यस्तो छैन, केही स्थानमा मात्र बर्डफ्लु देखिएको छ । जैविक सुरक्षामा ध्यान दिइएकै कारण संक्रमण भित्रिएको सुरुवाती वर्षहरूमा जसरी यो सबैतिर नपुगेको हो । जानेर, बुझेर, अध्ययन गरेर व्यावसायिक रूपमा कुखुरापालन गर्नेहरू जैविक सुरक्षाप्रति संवेदनशील हुनुहुन्छ । तर अरूको देखासिकीमा फार्म सञ्चालन गर्नेहरूले भने जैविक सुरक्षामा खासै ध्यान दिएको पाइँदैन । ‘मेरो फार्ममा त बर्डफ्लु आउँदैन होला’ भनेर हेलचेक्र्याइँ गर्दा यो रोग लाग्ने गरेको पाइन्छ । त्यसैले जैविक सुरक्षाको विषयमा सबै संवेदशील हुनुपर्छ ।
बर्डफ्लु संक्रमणपछि उपभोक्ताहरूमा पन्छीजन्य वस्तु उपभोग गर्न हुने वा नहुने भन्नेमा अन्योल देखिन्छ । बर्डफ्लु संक्रमणका बेला पन्छीजन्य वस्तु उपभोग गर्न मिल्छ कि मिल्दैन ?
अहिलेसम्म कुखुराको पकाएको अण्डा र मासु खाएर कसैलाई पनि बर्डफ्लु लागेको छैन । महत्वपूर्ण कुरा के छ भने बर्डफ्लु भाइरसमा तातो सहन गर्न सक्ने क्षमता हुँदैन । थोरै तातो बनाउँदा पनि यो मर्छ । त्यसैले बर्डफ्लुको बेला ढुक्क भएर पन्छीजन्य वस्तु उपभोग गर्दा हुन्छ । तर राम्रोसँग पकाउन भने जरुरी छ । किनभने, काँचो मासु खाँदा त अन्य रोग पनि सर्न सक्छ नि ।
