खोरेतको भय,महामारीविरुद्ध जुध्न के गर्दैछ सरकार ?

महामारीविरुद्ध जुध्न के गर्दैछ सरकार ?

काठमाडौं । लम्पी स्किन, अफ्रिकन स्वाइन फिभरजस्ता महामारीजन्य रोगबाट पशुपालक किसानले क्षति व्यहोरेको घटना सेलाउन नपाउँदै पशुपन्छीजन्य अति संक्रामक विषाणुजन्य रोग खोरेत (एफएमडी) देशका विभिन्न स्थानमा देखापरेको छ । महामारीको रूप लिने सम्भावना भएको खोरेत कोशी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्म पुष्टि भएपछि पशुपालक कृषक त्रस्त बनेका छन् । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआइएस) का अनुसार गत साउनदेखि पुस २१ गतेसम्म देशका

विभिन्न १६ स्थानमा फूट एण्ड डिजिज (खोरेत) को संक्रमण पुष्टि भएको छ । योबीचमा देशभरका कुल ६४३ पशु संक्रमित भएकामा १७ पशु मरेका छन् । कैलालीमा सबैभन्दा धेरै ४१० पशु संक्रमित भएका छन् । धनगढी महानगरपालिका क्षेत्रभित्रका पशुवस्तुमा उक्त संक्रमण देखिएकोमा एउटाको मात्र मृत्यु भएको राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीले जनाएको छ ।

बागमती प्रदेशमा संक्रमित पशु कम भए पनि मृत्युदर अन्यत्रको भन्दा बढी देखिएको छ । धादिङमा सबैभन्दा धेरै पशुवस्तु मरेका छन् । यो जिल्लाको धुनीबेंसी नगरपालिका र थाक्रे गाउँपालिकाका क्रमशः १२४ र ३ पशुवस्तु संक्रमित भएकामा १३ वटा मरेका हुन् । मृत्यु भएका सबै पशु धुनीबेंसी नगरपालिका क्षेत्रका किसानको भएको पशु सेवा विभागको भनाइ छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि खोरेत देखिएको छ । त्यहाँका ५० पशुवस्तु यसको संक्रमणबाट प्रभावित भए पनि अहिलेसम्म मृत्यु भने भएको छैन । त्यस्तै, कोशीको झापा, बागमतीको भक्तपुर, चितवन, काठमाडौं, काभ्रेपलाञ्चोक र ललितपुर, लुम्बिनीको कपिलवस्तु, सुदूरपश्चिमको कञ्चनपुरमा पनि खोरेत पुष्टि भएको छ । झापाका ३ र अन्यत्र जिल्लाका एक÷एक स्थानमा खोरेत पुष्टि भएको हो ।

पशु सेवा विभागका पूर्वमहानिर्देशक समेत रहेका वरिष्ठ पशु रोग विशेषज्ञ डा. वंशी शर्मा एकै पटक धेरै स्थानमा खोरेत रोगको संक्रमण देखिएकाले यसले महामारीको रूप लिइसकेको बताउँछन् । ‘सरकारी तथ्यांकअनुसार ११ जिल्लामा खोरेत रोगको संक्रमण पुष्टि भएको छ,’ शर्मा भन्छन्, ‘एउटा रोग एकै पटक धेरै ठाउँमा देखिन्छ भने त्यो महामारी हुन्छ । त्यसैले खोरेतले पनि महामारीको रूप लिइसकेको छ ।’ अहिले विभिन्न जिल्लामा देखिएको खोरेत संक्रमण आगोको झिल्कोजस्तै भएकाले थप फैलन नदिन त्यसको केन्द्रबिन्दु पहिचान गरेर नियन्त्रण उपाय अवलम्बन गर्नुपर्ने डा. शर्माको सुुझाव छ । खोरेत आन्तरिक र बाह्य दुुई कारणले देखापर्ने गर्छ । तर यस पटक कसरी देशका विभिन्न स्थानमा खोरेत फैलियो भनेर पहिचान भइसकेको छैन । डा. शर्मा के कारणले यसपाला नेपालमा खोरेत फैलियो भनेर यकिन साथ भन्न सकिने अवस्था नरहे पनि झापामा देखिनुले भारततिर पनि यो समस्या छ भन्ने देखाएको बताउँछन् ।

‘आगोको झिल्को हेर्दा निकै सानो हुन्छ, तर यो यति शक्तिशाली हुन्छ कि डढेलो फैलाउन ताकत राख्छ,’ शर्मा भन्छन्, ‘अहिले विभिन्न स्थानमा देखिएको खोरेत संक्रमण पनि त्यस्तै हो । त्यसलाई समयमै काबुमा नलिँदा देशैभर फैलने खतरा भएकाले केन्द्रबिन्दु पहिचान गरेर नियन्त्रणमा जुट्नु बुद्धिमानी हुन्छ ।’

पशुपन्छी रोग विशेषज्ञ डा. उमेश मण्डल भने पशुवस्तुको मुभमेन्टका कारण अहिले खोरेत रोगको संक्रमण देशका विभिन्न ठाउँमा देखिए पनि यसले भयावह रूप लिइनसकेको बताउँछन् । अहिले चिसो मौसम रहेको र १० डिग्रीभन्दा कम तापक्रममा यो भाइरस फैलन नसक्ने भएकाले उति धेरै जोखिम नरहेको उनको भनाइ छ । ‘अहिले नेपालको मौसम चिसो छ । १० डिग्रीभन्दा कम तापक्रममा एमएमडी भाइरस फैलन नसक्ने भएकाले महामारीको रूप लिनसक्ने सम्भावना कम छ,’ डा. मण्डलले भने । यद्यपि, योसँगै चिसोमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले १० डिग्रीभन्दा बढीको तापक्रम भएको स्थानमा यो रोग फैलने खतरा पनि उत्तिकै छ । डा. मण्डल खोप अभियानलाई प्रभावकारी बनाएर त्यसलाई निस्तेज पानुपर्ने बताउँछन् ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. वरुण शर्मा पनि यस वर्ष खोरेतको जोखिम अलि बढी हुन सक्ने बताउँछन् । ‘विगत २०–३० वर्षको तथ्यांक विश्लेषण गर्दा खोरेत रोग हरेक २ देखि ३ वर्षको अन्तरालमा बढ्ने गरेको पाइन्छ,’ शर्माको तर्क छ, ‘नेपालमा गएको दुई वर्षमा त्यति धेरै केश नदेखिएको हुनाले यस वर्ष खोरेतको जोखिम अलि बढी हुन सक्ने देखिन्छ ।’ खोपको पहुँच बढेको हुनाले विगत वर्षहरूमा जस्तो भयावह रूप लिने खतरा भने यसपालि नदेखिएको उनको विश्वास छ । ‘पहिलेको तुलनामा अहिले खोप (भ्याक्सिनेसन) को पहुँच बढेको छ,’ शर्मा भन्छन्, ‘त्यसैले खोरेत रोगको फैलावट विगतको जस्तो भयावह नहोला भन्ने हाम्रो अनुमान छ ।’

त्रास पशुपालक कृषक

नेपालका पशुपालक कृषकले एकपछि अर्का रोगको महामारी सामना गर्दै आइरहेका छन् । यसअघि देशभर फैलिएको लम्पी स्किन महामारीबाट देशभरका करिब १५ लाख ३६हजार बढी गाईभैंसी संक्रमित भएकोमा ६५ हजार ५०० को मृत्यु भएको थियो । जसबाट करिब ७९ अर्ब रूपैयाँ नोक्सानी पुुगेको पशु सेवा विभागको भनाइ छ । केही विज्ञ र पशु चिकित्सा परिषद्को अध्ययनले भने यसबाट १ खर्ब २६अर्ब रूपैयाँ नोक्सानी पुगेको आकलन गरेका छन् ।
सुंगुर तथा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर पहिलो पटक नेपालमा देखिँदा करिब ५० हजारभन्दा बढी बंगुर मरे । संक्रमितको मृत्युदर शत प्रतिशत रहेकाले किसानले ठूलो क्षति व्यहोरे । सरकारसँग यसको एकीकृत विवरण नभए पनि व्यावसायिक रूपमा बंगुर पालन गर्नेको अर्बौं रूपैयाँ डुबेको अनुमान गरिएको छ । विशेषगरी ललितपुर, काठमाडौं र बागमती प्रदेशका किसान यो रोगको मारमा सबैभन्दा पनि परे ।

खोपको अभाव, बीमामा पहुँच नहुनु, जैविक सुरक्षामा कमी लगायत कारण महामारीजन्य रोग फैलँदा क्षति व्यहोर्न बाध्य किसान खोरेत रोग फैलिएसँगै पुनः त्रसित बनेका छन् । कतिपय किसान त प्रारम्भमै यसबाट प्रभावित भइसकेका छन् । धुनीबेंसी, धादिङका किसान सुरेन्द्र पाठक समयमै खोप लगाउन नसक्दा आफ्नो भैंसी मरेको र बचेका अन्य गाईभैंसी कसरी जोगाउने भन्ने चिन्ता थपिएको बताउँछन् ।

छैन पर्याप्त खोप

कृषि गणना २०७८ अनुसार, नेपालमा ३४ लाख ५ हजार कृषक परिवारले पशुचौपाया पाल्दै आइरहेका छन् । यसमा गाईगोरु पाल्ने कृषक परिवारको संख्या १७ लाख ८ हजार छ भने उनीहरूले पालेका गाईगोरुको संख्या ४५ लाख ५९ हजार छ । ०६८ मा यस्ता कृषक परिवारको संख्या २२ लाख ८१ हजार र तिनले पालेका गाईगोरुको संख्या ६४ लाख ३० हजार थियो ।

कृषि गणना २०७८ अनुसार, १४ लाख १७ हजार कृषक परिवारको गोठमा २९ लाख २३ हजार राँगाभैंसी पालिएको छ । अघिल्लो कृषि गणनामा यो संख्या ३१ लाख ७४ हजार थियो ।

कृषि गणना, २०७८ अनुसार नेपालमा च्याङ्ग्राको संख्या डेढ गुणाभन्दा बढीले बढेर १ करोड ४२ लाख ४२ हजार पुगेको छ । त्यस्तै, सुँगुर बंगुरको संख्या पनि झण्डै दोब्बरले बढेर १३ लाख ५८ हजार पुगेको छ । भेंडाको संख्या अघिल्लो गणनामा ६ लाख तीन हजार रहेकोमा ०७८ मा घटेर चार लाख ७८ हजार पुगेको छ । ०६८ मा च्यांग्राको संख्या एक करोड नौ लाख ९० हजार र सुंगुर, बंगुरको संख्या आठ लाख १९ हजार र भेडाको संख्या ६ लाख ८ हजार थियो ।

कृषि गणना २०७८ लाई मान्ने हो भने नेपालमा खुर भएका पशुको संख्या २ करोड ३५ लाख १८ हजार छ । पशु सेवा विभागका पूर्वमहानिर्देशक वरिष्ठ पशु रोग विशेषज्ञ डा. वंशी शर्मा खोरेतबाट जोगाउन एउटा पशुलाई वर्षमा कम्तीमा दुई पटक खोप लगाउनु पर्ने बताउँछन् । खुुट्टा फाटिएका सबै पशुलाई खोप लगाउन सम्भव नभए पनि कम्तीमा ८० प्रतिशतलाई एकै पटक खोप लगाउनु पर्छ । ‘८० प्रतिशतभन्दा बढी खुट्टा फाँटिएका पशुमा वर्षमा दुई पटक खोप लगाउनु पर्छ, यो रोग नियन्त्रणको सबैभन्दा राम्रो उपाय खोप हो,’ डा. शर्मा भन्छन् ।

सत् प्रतिशत पशुमा खोरेतको खोप लगाउने हो भने नेपाललाई वार्षिक ४ करोड ७० लाख ३६ हजार डोज खोप आवश्यक पर्छ । यदि सबैलाई नलगाएर ८० प्रतिशतलाई मात्र लगाउने हो भने पनि १ करोड ६४ लाख ६२ हजार ६०० पशुवस्तुलाई लगाउन वार्षिक ३ करोड २९ लाख २५ हजार २०० डोज खोप आवश्यक पर्ने हुन्छ । तर सरकारले भने अहिलेसम्म आवश्यक मात्रामा खोरेत रोगविरुद्धको खोप प्रबन्धक गर्न सकेको छैन । खोरेतविरुद्ध खोप आवश्यक मात्रामा जुटाउन चुक्दै आइरहेको सरकारले गत आर्थिक वर्ष ०८१÷८२ मा पशु सेवा विभागमार्फत ९७ लाख डोज खोरेतविरुद्धको खोप खरिद गरेकोमा यस वर्ष त्योभन्दा पनि कम ३३ लाख डोज मात्र खरिद गर्ने तयारी गरेको छ । यो नेपाललाई आवश्यक खोपको मात्रै १०.०२ प्रतिशत हुन्छ ।

डा. शर्मा खोरेतबाट पशुपालन क्षेत्रमा ठूलो आर्थिक नोक्सानी पुुग्ने जोखिम भएकाले सबैलाई पशुलाई टार्गेट गरेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने भए पनि मागअनुसार खोप आपूर्ति हुन नसकेको बताउँछन् । खोरेत रोगको जोखिमलाई कम गर्ने हो भने सीमा क्षेत्र र राजमार्गमा पहिले खोप लगाउनुपर्ने उनको सुुझाव छ । ‘हाम्रोमा मागअनुसार खोरेतको खोप आपूर्ति हुन सकेको छैन । रोग नियन्त्रणको प्रभावकारी विधि खोप भएकाले टोटल पशुलाई नै टार्गेट हुनुपर्छ । लगाउँदा पनि सकेसम्म ठूलो क्षेत्रमा एकै पटक लगाउनु पर्छ । बाटोको छेउ, सीमा हाइवेमा पहिले लगाउनु पर्छ,’ डा. शर्माको सुुझाव छ ।

अर्का पशु रोग विशेषज्ञ डा. उमेश मण्डल भ्याक्सिन लगाएर खोरेत नियन्त्रणमा लिन सकिने भएकाले प्रोटोकल फलो गरेर अघि बढ्न सुुझाव दिन्छन् । ‘यो रोगको नियन्त्रणका लागि खोप सबैभन्दा प्रभावकारी विधि हो,’ उनले भने, ‘तर खोप लगाउँदा मापदण्ड पालना नभएको पाइन्छ । प्रोटोकल फलो नगरी खोप लगाउँदा त्यो प्रभावकारी नहुने भएकाले यसमा गम्भीर हुनुु पर्छ ।’

तर राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका प्रमुख डा. विनय कर्ण खोरेत महामारी फैलन नदिन पशु सेवा विभागसँग पर्याप्त खोप रहेको जिकिर गर्छन् । ‘खोरेतले महामारीको रूप लेला भन्ने मलाई लाग्दैन । किनभने, भ्याक्सिनेसनका लागि विभागसँग अहिले नै यससम्बन्धी पर्याप्त भ्याक्सिन मौज्दात छ । कहीँ कतै खोरेतको महामारी फैलिइहाल्यो भने त्यसलाई नियन्त्रण गर्न सक्ने अवस्थामा विभाग छ,’ डा. कर्णको दाबी छ ।

खोपले उल्टै मरे पशु

खोरेतले दुुग्ध उत्पादनमा नकारात्मक असर पर्नुका साथै बजारीकरणमा समेत प्रभाव पार्ने भएकाले यसको नियन्त्रणमा सरोकारवालाले जोड दिँदै आएका छन् । सरकारले पनि खोरेतबाट पशुवस्तुलाई जोगाउन लामो समयदेखि खोप अभियान सञ्चालन गर्दै आइरहेको छ । खोरेतविरुद्धको खोप स्वदेशमा उत्पादन नहुने भएकाले सरकारले यसका लागि अलग्गै बजेट छुट्याउने गरेको छ ।

पशु सेवा विभागले बजेटअनुसारको खोप खरिद गर्न १४ भदौ ०८१ मा प्राविधिक मापदण्ड बनाउन प्राविधिक समिति गठन गरेको थियो । जसको संयोजकमा खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशालाका चिकित्सक डा. कृष्णराज पाण्डे र सदस्यमा विभागका चिकित्सक डा. नवराज श्रेष्ठ, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला त्रिपुरेश्वरका डा. रामचन्द्र आचार्य राखिएको थियो । डा. पाण्डे नेतृत्वको उक्त समितिले खरिद मापदण्ड बनाएकोमा त्यसैका आधारमा ९७ लाख ७८ हजार ९५० डोज खोप खरिद गर्न बोलपत्र आह्वान भएको थियो । जसको ठेक्का सुनगाभा भेट फर्माले हात पा¥यो । सुनगाभा नेपाल पशुपन्छी औषधि व्यवसायी संघकी पूर्वउपाध्यक्ष धना अधिकारी पाण्डेको फार्म हो ।
सुनगाभा भेटले २९ करोड २८ लाख ८९ हजार ४९३ रूपैयाँको टेन्डर पारेकोमा उसले भारतीय कम्पनी ‘ब्रिलियन्ट बायो फर्मा इन्डिया’बाट उत्पादित खोप खरिद गरेर सरकारलाई उपलब्ध गराएको थियो । त्यस्तै, कोशी प्रदेश निर्देशनालयले पनि सुनगाभासँग सोही कम्पनीको ५ लाख ८१ हजार ३९५ डोज खोप अलग्गै खरिद गरेको थियो । तर कोशी प्रदेशमा ती खोप लगाएका पशु वस्तु मरेका छन् । पशु सेवा विभागले गरेको अध्ययनका क्रममा पनि उक्त खोप लगाएका पशु मरेको पाइएको छ । कोशी प्रदेशमा फिल्डस्टरमा खोरेत खोपको गुणस्तर निरीक्षणसम्बन्धी प्रतिवेदनमा सुनगाभाले उपलब्ध गराएको खोप लगाउँदा पशुवस्तु मरेको उल्लेख छ । उक्त रिपोर्टअनुसार उक्त कम्पनीको खोप लगाएका पशुकेही मिनेटमै बिरामी परेर मरेका थिए । स्थलगत अध्ययन गर्न गएका पशु चिकित्सकले नकारात्मक असर गरेका खोप फिर्ता गर्न दिएको सुुझावअनुसार विभागले उक्त ब्याचका खोप फिर्ता गर्न निर्देशन दिएको छ । तर यसउपर थप छानबिन प्रक्रिया भने अघि बढाइएको छैन ।

जानकार स्रोतका अनुसार यो खोप खरिदमा ठूलो चलखेल देखिएको छ । खोप खरिद गर्न बनाइएको प्राविधिक मापदण्ड हेर्दा पनि त्यसको छनक देखिन्छ । किनभने, उक्त मापदण्डमा भारतीय कम्पनीको खोप मात्र किन्न मिल्ने व्यवस्था गरिएको छ । ‘मापदण्ड बनाउँदा भारतीय कम्पनीले मात्र बनाउने ‘भाइरस आइसोलेट’ नै तोकिएको छ । यसले पनि यसमा चलखेलको गन्ध आउँछ,’ स्रोत भन्छ ।

भ्याक्सिनमा पूर्ण परनिर्भरता

पशुवस्तुमा लाग्ने रोग नियन्त्रणका लागि नेपाललाई विभिन्न पशुजन्य रोगका खोप आवश्यक पर्ने गर्छ । यसरी आवश्यक पर्ने खोपमध्ये निकै कम खोप नेपालले उत्पादन गर्दै आइरहेको छ । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका अनुसार, पशुपन्छीमा लाग्ने रोगविरुद्धका ११ थरीका खोप नेपालले उत्पादन गर्दै आइरहेको छ । सरकारले पशुपन्छीको खोप उत्पादन क्षमता वृद्धि नगर्दा वार्षिक रूपमा करोडौंको खोप विभिन्न मुलुकबाट खरिद हुँदै आइरहेको छ ।
खोरेत रोगले नेपालको पशुजन्य आयआर्जनमा नकारात्मक असर पारेकाले यसको खोप स्वदेशमै उत्पादन गर्नुपर्ने बहस चल्न थालेको लामो समय भइसकेको छ । तर यसतर्फ अहिलेसम्म कुनै प्रगति हासिल हुन नसक्दा खोरेत खोपमा नेपाल पूर्ण रूपमा परनिर्भर छ । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका प्रमुख डा. कर्ण विभिन्न कारणले खोरेतविरुद्धको खोप नेपालमा उत्पादन गर्ने कार्यले मूर्त रूप लिन नसकेको बताउँछन् । ‘खोरेत रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि छलफल चलेको धेरै वर्ष अघिदेखि हो । तर अहिलेसम्म हुन सकेको छैन । यो खोपमा हामी अहिलेसम्म पूर्णतः परनिर्भर छौं,’ डा. कर्ण भन्छन् ।

यो खोप उत्पादनका लागि नेपालसँग प्रविधि, दक्षता र क्षमता छैन । त्यसका लागि भारतलगायत छिमेकी मुलुकसँग हात फैलाउनुपर्ने हुन्छ । जानकारहरू भारतले आफ्नो व्यापारिक स्वार्थलाई केन्द्रमा राखेर असहयोग गर्दा यसमा सफल हुन नसकेको बताउँछन् ।

प्रयोगशालाका प्रमुख डा. कर्ण पनि रिजनल पोलिटिक्सको असरका कारण खोरेत रोगविरुद्धको खोप स्वदेशमा उत्पादन गर्न नसकिएको स्वीकार गर्छन् ।
‘यो रिजनल पोलिटिक्सको असर हो भन्ने मेरो बुझाइ छ । मार्केटिङ, प्रोफिटलगायत फ्याक्टरले यसमा काम गरेको हुनसक्छ । खोरेत रोगविरुद्धको खोप हामी नै दिन सक्छौं, नेपालले किन उत्पादन गर्नुप¥यो भन्ने तिनलाई लागेको हुनसक्छ । दोस्रो कुरा, टेक्नोलोजीको पनि छ । किनभने, यो खोप उत्पादन गर्ने प्रविधि र दक्ष जनशक्ति हामीसँग छैन । खोप बनाउन आवश्यक भाइरसको प्रबन्ध गर्न पनि सकिएको छैन,’ नेपालमा खोरेत रोगविरुद्धको खोप उत्पादन हुन नसक्नुको कारणबारे खुलाउँदै डा. कर्णले भने ।

बजारीकरण प्रभाव हुने चिन्ता

पशु सेवा विभागको एक अध्ययनअनुसार खोरेतका कारण नेपालमा पशुवस्तुको प्रजनन र भरवहन क्षमतामा ह्रास आइरहेको छ । दूध र मासु उत्पादनमा यो रोगको प्रभावले प्रति वर्ष ६६ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भइरहेको अनुमान छ ।

खोरेतका कारण बजारीकरणमा समेत समस्या परेको छ । पशु चिकित्सकका अनुसार खोरेत रोग उन्मूलन नभएका कारण विश्व बजारमा नेपालका पशुजन्य वस्तुले प्रवेश पाउन सकेका छैनन् ।

गत वर्ष चीनमा मासु आयात गर्न नेपालले सम्झौता गरेको सन्दर्भमा खोरेत रोगको संक्रमण देखिएकाले त्यसको असर यसमा पर्ने चिन्ता कतिपयको छ । वरिष्ठ पशु रोग विशेषज्ञ डा. शर्मा खोरेतले पशुजन्य वस्तुको अन्तर्राष्ट्रिय बजार प्रभावित हुनसक्ने बताउँछन् । चीनमा मासु पठाउनका लागि फरक हिसाबले पशुपालन गरिने भएकाले अहिले देखिएको खोरेत संक्रमणले त्यो कार्य भने प्रभावित नहुने उनको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *