कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह

नेपाली कामदार लैजान सकिने सम्भावना : इजरायली राजदूत बास

 

काठमाडौं।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले दिँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको छ।

आज सिंहदरबारस्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक बाससँग भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायलबीच ६५ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको कृषि क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न आग्रह गर्नुभएको हो।

मन्त्री अधिकारीले नेपाल र इजरायलबीच कार्यान्वयनमा रहेको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवालाई अवसर प्रदान गरेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ। उहाँले इजरायलले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिले नेपालको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाउँदै, सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि क्षेत्र छनोट भइसकेको जानकारी दिनुभएको छ। उहाँले यस योजनाको कार्यान्वयनमा इजरायल सरकारसँग सहकार्य गर्न अनुरोध गर्नुभयो।

मन्त्री अधिकारीका अनुसार हाल झण्डै ५ हजार नेपालीहरू इजरायलमा कार्यरत छन्, जसले उनीहरूको जीवनस्तरमा सुधार ल्याएको छ। उहाँले भविष्यमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो।

भेटका क्रममा राजदूत बासले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत थप सहयोग गर्न इजरायल इच्छुक रहेको बताउनुभयो। उहाँले यसै वर्ष नेपालले छनोट गरेका क्षेत्रमा कृषि विकासका लागि सेन्टर फर एक्सिलेन्स स्थापनामा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

राजदूत बासले नेपाली कामदारलाई कृषि क्षेत्रमा समावेश गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै, विगतमा दुई देशबीच भएका सहमति कार्यान्वयनमा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो।

यस भेटवार्ताले नेपाल–इजरायल कृषि सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *