बाँदर नियन्त्रण तालिम लिन सरकारले पठायो १५ चिकित्सक र रेन्जरलाई भारत

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा सञ्चालन हुन लागेको बाँदर नियन्त्रणसम्बन्धी बन्ध्याकरण कार्यक्रममा सरकारले १५ चिकित्सक र रेन्जरलाई पठाएको छ । जसमा १० पशुचिकित्सक र पाँच रेन्जर छन् ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, नेपालस्थित भारतीय राजदूतावास र भारत सरकारको सहकार्यमा सञ्चालन हुन लागेको तालिममा सहभागी हुन १० चिकित्सक र ५ रेन्जर शुत्रबार भारत प्रस्थान गरेका हुन् ।

बाँदर नियन्त्रणसम्बन्धी तालिमका लागि डा. मनोजकुमार महतो, डा. रञ्जित अधिकारी, डा. बब्लु ठाकुर, डा. अनन्त कोइराला, डा. हरिनारायणप्रसाद थारू, डा. भीमप्रसाद तिमिल्सिना, डा. विनोदबहादुर कठायत, डा. सुलेश्व्र मण्डल, डा. विशाल चन्द र डा. विकास गिरी छनोट भएका छन् ।

त्यसैगरी, रेन्जरहरू डा. चन्द्रकला राना, अक्षय चौधरी, पुरनदेव मिश्र, दीपकबहादुर चन्द र खिमराज ओली पनि एक साता लामो तालिममा सहभागी हुँदैछन् ।

तालिम यही चैत ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

भारतमा सञ्चालन हुन गइरहेको तालिममा सहभागिताका लागि छनोट भएका पशु चिकित्सक र रेन्जरलाई शनिबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिदाइ गरेको छ ।

नेपाली टोलीको बिदाइ गर्दै संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले तालिम नेपालमा जटिल समस्याका रूपमा देखापरेको बाँदर आतंक न्यूनीकरणका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिन् । यो कार्यक्रम थप प्रभावकारी बनाउन बजेट प्रबन्ध गर्न पनि उनले सरकारलाई अनुरोध गरेकी छन् ।

सहभागीहरूले तालिमबाट ज्ञान र व्यवहारिक सीप आर्जन गर्ने विश्वास व्यक्त गर्दै उनले आफूले सिकेका कुरा नेपाल आएर अन्य बाँड्न अनुरोध गरिन् ।

पछिल्लो समय नेपालको ग्रामीण क्षेत्रमा बाँदरले बालीनाली खाइदिँदा किसान समस्यामा परेका छन् । बाँदर आतंककै कारण कतिपय स्थानमा बालीनाली लगाउन छाडिएको छ भने कतिपय यसकै कारण आफ्नो थातथलो छाडेर बसाइँ सरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *