सबै मिलेर परिषद्लाई नतिजामूलक बनाउनु पर्छ

पशु प्राविधिकहरूको लामो समयदेखिको माग सम्बोधन हुनेगरी गठन गरिएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को निर्वाचन हालै सम्पन्न भएको छ । परिषद्को उपाध्यक्षमा रामप्रसाद मेहता प्राविधिकहरूको रोजाइमा परेका छन् । मेहता पशु प्राविधिक तथा व्यवसायीहरूको नियमनका लागि अलग्गै नियामकको वकालत गर्ने अभियन्तासमेत हुन् । उनी नेतृत्वको पशु प्राविधिकहरूको छाता संगठन नेभ्लाको लगातारको दबाबपछि सरकार बाध्य भएर उनीहरूको माग सम्बोधन गर्न तयार भएको थियो । त्यसैले उनको जितलाई जसको नीति, उसकै नेतृत्व सफल भएको अर्थमा पनि विश्लेषण गरिएको छ । उनै मेहतासँग परिषद्का सामुन्ने रहेका चुनौती, आगामी रोडम्यापलगायत विषयमा केन्द्रित रहेर भेट टाइम्स मासिकका प्रतिनिधिले गरेको सवाल :
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्षमा अन्य प्रतिस्पर्धीलाई पाखा लगाएर यहाँले जित निकाल्नुभएको छ । कत्तिको सहज हुने रहेछ निर्वाचन प्रक्रिया सामना गर्न ?
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् स्थापनापतछि भएको यो पहिलो निर्वाचन हो । धेरै हिसाबले अर्थपूर्ण यो निर्वाचनमा निकै कडा प्रतिस्पर्धा भएको यहाँहरूले थाहा पाइसक्नुभएको छ । योग्यता पुगेका सबैको निर्वाचनमा भाग लिने अधिकार हुने भएकाले उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्नुलाई अन्यथा भन्न मिल्दैन । तर पनि पहिलो निर्वाचन भएकाले सहमतिमा अघि जान सकेको भए राम्रो हुने थियो भन्ने मत धेरैको थियो । तर हामीबीच सहमति निर्माण हुन सकेन र निर्वाचन प्रक्रियामा सामेल भयौं । यसलाई अन्यथा नसोची लोकतान्त्रिक अभ्यासकै रूपमा हामीले ग्रहण गरेका छौं ।
निर्वाचनमा एउटा यस्तो प्रक्रिया हो जसमा गइसकेपछि सबैले जित्न सम्भव हुँदैन । त्यसो त, मत परिणामबाट दोस्रो, तेस्रो हुने साथीहरूलाई पनि मतदाताले रुचाएको देखिएको छ । यो परिणामलाई सबैले स्वीकार गरिसकेको अवस्था छ । त्यसकारण परिषद्ले व्यवसायी तथा किसानको हितमा नतिजामूलक ढंगले काम गर्नु पर्ने खाँचो छ । परिषद्लाई मोडेलका रूपमा अघि बढाउन सरोकारवाला सबैको साथ आवश्यक भएकाले हातेमालो गरेर अघि बढ्नेछौं ।
तपाईंसँगको प्रतिस्पर्धामा नेभ्लाकै अन्य पदाधिकारी पनि हुनुहुन्थ्यो । मतदाताले तपाईंलाई नै रोज्नुभयो ? यसको कारण के होला ?
निर्वाचनमा विभिन्न फ्याक्टरहरूले भूमिका खेल्छन् । मतदाताले विभिन्न कोणबाट मूल्यांकन गर्छन् । म दुई कार्यकाल नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएनको अध्यक्ष भएँ । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद् ऐन निर्माणदेखि परिषद् स्थापनासम्म मुख्य भूमिका निर्वाह गरियो । यी सबै कुरा साथीहरूले निकै नजिकबाट नियाली रहनुभएको थियो । यसकै मूल्यांकन गरेर मतदाताहरूले परिषद् व्यवस्थापनको जिम्मेवारी मलाई दिनुभएको होला भन्ने ठानेको छु ।
नियामक निकायको उपाध्यक्ष र सदस्य पदमा भएको निर्वाचन केही अस्वस्थ जस्तो पनि देखियो । यो घटनाक्रमलाई यहाँले कसरी केलाउनुभएको छ ?
निर्वाचनका क्रममा देशका सात वटै प्रदेशका धेरै जिल्ला पुगियो । त्यसक्रममा कुनै–कुनै ठाउँमा अस्वस्थ प्रतिस्पर्धा भएको मैले थाहा पाएको छु । तर समग्रमा निर्वाचन निष्पक्ष र विवादरहित ढंगले नै भएको मेरो बुझाइ छ ।
जिल्ला घुम्दा अस्वस्थ प्रतिस्पर्धा भएको थाहा पाएँ भन्नुभयो । त्यसक्रममा कसले, के–के गरेका रहेछन्, बताइदिनुहोस् न ?
यो निर्वाचन व्यवसायीबीचको प्रतिस्पर्धा थियो । यसलाई इन्फ्लुएन्स गरिराख्न जरुरी नै थिएन । तर केही ठाउँमा साथीहरूले प्रभावित पार्ने कसरत गर्नुभयो । हो या होइन, मलाई थाहा छैन । तर कतिपय स्थानमा औषधि व्यवसायी साथीहरूले पनि यो निर्वाचनलाई प्रभावित पार्ने प्रयास गर्नुभयो भन्ने बाहिर सुन्नमा आएको छ । यसको सत्यताको सम्बन्धमा म आफैं पनि बुझ्ने प्रयासमा छु । तर मलाई यो सुन्दा आश्चर्य र दुःख दुवै लागेको छ ।
अर्को कुरा, उम्मेदवारलाई राजनीतिक रंग दिने काम पनि यो निर्वाचनमा भयो । तर विवेकशील मतदाताहरूले त्यसलाई भने स्वीकार गर्नु भएन । उहाँहरूले जाहेर गरेको मतले पेशागत क्षेत्रमा राजनीतिक गर्न हुँदैन भनेर प्रष्ट सन्देश दिएको छ ।
परिषद् भर्खर स्थापना भएको छ । वामे सरिरहेको यसले गर्नुपर्ने काम धेरै छन् । तर एकताबद्ध भएर अघि बढ्नुपर्ने पशु प्राविधिकलाई निर्वाचनले विभाजित गरेको अवस्था छ । ती मनलाई जोड्नेतिर के सोच्नुभएको छ ?
एकदमै राम्रो र सोचनीय मामला यहाँले उठाउनुभयो । निर्वाचनमा उम्मेदवार हुने सबै साथीलाई तोकिएको पदमा एक जना मात्र निर्वाचित हुने थाहा थियो । निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुको अर्थ मतदाताले गर्ने निर्णय स्वीकार्य छ भन्नु हो । मैलेचाहिँ यही बुझेर उम्मेदवारी दर्ता गराएको थिएँ । त्यसकारण अन्य साथीले पनि निर्वाचन परिणामलाई सहज ढंगले स्वीकार गर्नुभएको छ भन्ने मैले बुझेको छु ।
अब कुरा आयो, निर्वाचनले निम्त्याएको असन्तुष्टि, ग्याप र मनमुटावको । मैले माथि नै भनिसकेँ, निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रिया हो । हामीले निर्वाचनमा नगई सहमति गर्न सकेको भए राम्रो हुन्थ्यो । तर हामीले यसमा सहमति निर्माण गर्न सकेनौं र धेरैको उम्मेदवारी पर्ने अवस्था बन्यो । उम्मेदवार धेरै जना भएपछि स्वाभाविक रूपमा निर्णय गर्ने अधिकार मतदाताको हातमा जान्छ, यहाँ पनि गयो । लोकतान्त्रिक परिपाटीमा विश्वास गरेर निर्वाचनमा सहभागी व्यक्तिले त्यसको परिणामलाई आत्मसाथ गर्न सक्नुपर्छ र गर्नुभएको पनि छ ।
यो परिषद् व्यक्ति, समूहको नभएर, सबैको साझा संस्था हो । सबैका जायज विषयवस्तु यसले समेट्नु पर्छ । कुनै किसिमको सिण्डिकेट यसमा खडा गर्नु हुँदैन । व्यवसायी, उम्मेदवार साथीहरूलगायतको भावनालाई समेटेर, अपनत्व हुनेगरी काम अघि बढायौं भने अविश्वास हटेर विश्वास कायम हुनेछ । निर्वाचन भइसकेपछि म आफैंले परिषद् सबैको साझा संगठन भएकाले मिलेर हातेमालो गरेर काम गर्न, साथ सहयोग उपलब्ध गराउन आह्वान गरेको छु । व्यवसायी साथी र कृषकलाई गुणस्तरीय सेवा सुनिश्चितताको प्रतिबद्धता जाहेर गरेका छौं । त्यसले कृषकको जीवनस्तर र देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्नेछ । त्यसकारण निर्वाचन प्रक्रियालाई सहज रूपमा ग्रहण गरेर यो अभियानमा साथ दिन म सबै साथीहरूलाई फेरि पनि विनम्र अनुरोध गर्दछु । साथीहरूसँग विभिन्न आइडिया र अनुभव छन् । उपयुक्त विषयलाई हाम्रो टिमले समावेश गरेर एउटै डोरबाट छिराएर कुनै किसिमको ग्याप नराखी अघि बढ्नेछौं । यसरी अघि बढ्दा हाम्रो उद्देश्य प्राप्त हुने मेरो विश्वास छ ।
परिषद् स्थापना भएको छोटो समय मात्रै भएको छ । यसले झेलेका चुनौतीहरू के के छन् ?
परिषद् स्थापनापछि तदर्थ समिति गठन गरिएको थियो, एक वर्षको समय दिएर । त्यसले निर्धारित समयमा नियमावली ल्याउनेदेखि कार्यालय व्यवस्थापनसम्मका काम गर्यो । करिब १३ हजार व्यवसायीलाई दर्ता गरेर निर्वाचन प्रक्रिया अघि बढाइयो । अहिले परिषद्ले उपाध्यक्ष र सदस्य पाइसकेको अवस्था छ । मन्त्रालयबाट अध्यक्ष नियुक्त हुन बाँकी रहेकाले यसलाई छिटो गरिदिन आग्रह गरेका छौं । मन्त्रालयबाट पनि छिटै टुंगिने आश्वास पाइएको छ ।
परिषद्भित्र समेटिनुपर्ने धेरै साथीहरू अझै पनि दर्ता हुनुभएको छैन । यो क्षेत्रमा क्रियाशील सबैलाई हामीले पहिले त दर्ता प्रक्रियामा ल्याउनु पर्नेछ । पशु चिकित्सा परिषद्ले भेटेरिनरी डाक्टर र भेटेरिनरी साइन्समा स्नातक गरेकालाई नियमन गर्छ । त्यसभन्दा बाहेकका ग्रामीण पशु कार्यकर्तादेखि पशु विज्ञानमा स्नातकोत्तर, पिएचडी गरेका जनशक्तिलाई यसले दर्ता गर्छ । अब दर्ता नभएका जनशक्तिले पशु स्वास्थ्य र पशु स्वास्थ्यसम्बन्धी कुनै पनि काम गर्न पाउँदैनन् । गरिहाले त्यस्तामाथि कानूनी कारबाही हुने प्रावधान छ । त्यसैले परिषद्मा दर्ता हुन योग्य सबै जनशक्तिलाई प्रक्रियामा अघि बढाउँछौं ।
कुन जनशक्तिले के काम गर्ने भन्ने कार्यजिम्मेवारी तोक्नेदेखि आचारसंहिता जारी गर्नेसम्मका काम पनि थाती छन् । कुनै किसिमको दुर्घटना हुँदा कानूनी रूपमा प्राविधिक साथीलाई संरक्षण गर्नुपर्ने छ, तर उल्लिखित काम बाँकी रहेकाले अघि बढ्न सकेको छैन । त्यसकारण दर्ता प्रक्रिया खुला गर्ने, कार्यजिम्मेवारी किटान गरेर आचारसंहिता निर्माण गर्ने, कार्यालय भवन निर्माण गर्ने सम्मका सोच अघि सारेका छौं ।
चालु आर्थिक वर्षको ७ महिना सकिइसकेको छ । त्यसैले आगामी आर्थिक वर्षमा समेटिने गरी जनशक्तिको कन्टिन्यु एजुकेसन, सीप विकासलगायतका योजना अघि बढाउने सोच बनाएका छौं ।
प्राविधिक जनशक्ति किसानसँग जोडिन्छन् । त्यसैले यो जनशक्तिले कसरी गुणस्तरीय सेवा उपलब्ध गराउन सक्छ भन्नेमा पनि हाम्रो ध्यान केन्द्रित हुनेछ । किसान वर्गमा समृद्धि ल्याउन हाम्रो साइटबाट के योगदान दिन सकिन्छ, त्यसमा हामी लाग्नेछौं ।
अर्को महत्त्वपूर्ण कुरा, शैक्षिक संस्था र विश्वविद्यालयहरूको भर्नाको सर्त र मापदण्ड निर्धारण गर्नुपर्नेछ । यी काम सरोकारवालासँग समन्वय गरेर गर्ने सोच छ । दर्ता प्रक्रिया प्रदेशमा लैजानुपर्ने त छ नै प्रादेशिक परिषद् ऐन र कार्यालय पनि निर्माण गर्नुपर्नेछ । प्रारम्भिक चरणमा भएकाले धेरै कुरा गर्नुछ । सबै चुनौतीलाई अवसरमा परिणत गर्दै अघि बढ्नुको विकल्प हामीसँग छैन ।
तपाईंले माथि सुनाउनुभएका योजना अघि बढाउन सरकारको साथ र सहयोग आवश्यक पर्ने देखिन्छ । सरकारबाट कत्तिको सहयोग प्राप्त भइरहेको छ ?
परिषद् नियामक निकाय भए पनि यो राज्यकै एउटा युनिट हो । यसले पशु स्वास्थ्य र पशु सेवाको क्षेत्रमा काम गर्ने प्राविधिक जनशक्तिलाई दर्ता, नियमनलगायत काम गर्छ । यी जनशक्तिले कानूनविपरीतका कार्य गरेको अवस्थामा तिनलाई कारबाहीको दायरामा ल्याउने काम पनि परिषद्कै हो । त्यसैले यो गुणस्तरीय सेवा सुनिश्चिताको आधार भएकाले यसमा तीन तहकै सरकारसँग समन्वय र सहकार्य जरुरी छ । निर्वाचनपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री, सचिवज्यूसँग मेरो भेट भएको छ । अन्य सरोकारवालासँग पनि छलफल भएको छ । परिषद्लाई सशक्त र प्रभावकारी ढंगले अघि बढाउने कुरामा उहाँहरू सकारात्मक हुनुहुन्छ । परिषद्को अध्यक्षलगायत केही पदमा मन्त्रालयले नियुक्ति गर्ने प्रावधान भए पनि अझै हुन बाँकी छ । मन्त्रीज्यूलाई हामीले चाँडै बाँकी नियुक्ति गर्न आग्रह गरेका छौं । उहाँहरूले पनि गम्भीर रूपमा लिएर छिट्टै टुंग्याउने वचन दिनुभएको छ ।
सरकारी निकाय मात्र नभएर यसमा जोडिएका सबै सरोकारवालाबीच राम्रो समन्वय हुन जरुरी छ । त्यसले नै परिषद्लाई एउटा मोडलका रूपमा अघि बढाउन मद्दत गर्नेछ ।
सुखद् संयोग के भने पशुपन्छी चिकित्सक र पशु प्राविधिकलाई नियमन गर्ने दुवै नियामककारी निकायका उपाध्यक्ष र सदस्य पदको निर्वाचन हालै सम्पन्न भएको छ । पशुपन्छी क्षेत्र र किसानका लागि यसको महत्व कस्तो रहन्छ ? यसले पशुपन्छी क्षेत्रमा पार्ने सकारात्मक प्रभाव के–के हुनसक्छ ?
संयोग नै भन्नुपर्छ, पशु चिकित्सा परिषद्मा माघ ५ गते र हाम्रो परिषद्मा माघ १८ गते निर्वाचन सम्पन्न भएर पदाधिकारी चयन गरिएको छ । उहाँहरू र हाम्रोबीचमा केही मत मतान्तर हुन सक्छन् । तर हाम्रा धेरै विषयहरू साझा छन् । दुवै परिषद्का जनशक्तिले किसानको र देशको आर्थिक समृद्धिको पक्षमा काम गर्ने भएकाले समन्वय गरेर अघि बढ्छौं । कतिपय साझा विषयलाई साझा ढंगले अघि हल गर्नेछौं भने विमति रहेका विषयमा पनि अधिकतम सहमति गरेर जाने वातावरण निर्माण गर्नेछौं । दुवै परिषद्मा दर्ता हुने जनशक्तिले नै यो देशको पशु विकास र पशु स्वास्थ्य सेवा प्रवाह गर्ने भएकाले यी जनशक्तिबीच आपसी समन्वय हाम्रो प्राथमिकताको विषय हुनेछ । पशु चिकित्सा परिषद्का उपाध्यक्षसँग मेरो कुरा पनि भइरहेको छ । हामीले अब यो क्षेत्रका प्राविधिक जनशक्तिबीचका द्वन्द्व हटाएर जानेछौं । उहाँहरु र हामी मिलेर किसानले गुणस्तरीय सेवा लिन सक्ने अवस्था सिर्जना गर्नेछौं ।