सिन्धुली र रामेछाप बाख्रा उत्पादनमा आत्मनिर्भर छ
भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले सिन्धुलीको कार्यक्षेत्र बनाएर रामेछाप र सिन्धुली जिल्लामा काम गरिरहेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द, सिन्धुली र रामेछापका कार्यालय प्रमुख डा.प्रभात न्यौपानेसंग कार्यालयको क्षेत्राधिकार, कार्यक्षेत्रभित्र प्राविधिक सेवा, पशुको नस्ल सुधार, विभिन्न अनुदानको कार्यमा, पशुपन्छीहरूमा देखिने रोगहरू विरुद्ध खोपकार्य, पशुहरूको नियमित उपचार आदि विषयमा भेट टाइम्सले गरेको कुराकानी :
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अहिले के कस्ता काम गरिरहेको छ ?
भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले सिन्धुलीको कार्यक्षेत्र बनाएर रामेछाप र सिन्धुली जिल्लामा काम गरिरहेको छ । यस कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र प्राविधिक सेवा, पशुको नस्ल सुधार, विभिन्न अनुदानको कार्यमा, पशुपन्छीहरूमा देखिने रोगहरू विरुद्ध खोपकार्य, पशुहरूको नियमित उपचार आदि कार्यहरू गर्दै आइरहेको छ ।
केन्द्रले सिन्धुली र रामेछाप गरी २ जिल्लामा काम गरिरहेको छ । दुई जिल्लामा एकसाथ काम गर्दा कति अप्ठ्यारो भएको छ ?
हाम्रो मूल कार्यालय सिन्धुलीमा छ । रामेछाप जिल्लामा रहेको सम्पर्क कार्यालयमार्फत् पशु कृषकहरूलाई विभिन्न सेवाहरू प्रदान गरिरहेका छौं । यस कार्यालयले सिन्धुली र रामेछाप जिल्लाका विभिन्न स्थानीय तहमा रहेका पशु सेवा शाखासँग सहकार्यमा पनि विभिन्न सेवाहरू प्रदान गरिरहेको छ ।
अहिले पशुहरूमा देखिने मुख्य रोगहरु के के हो ?
अहिलेको मौसम परिवर्तन हुने अवस्थामा विभिन्न रोगहरू प्रकोपका रूपमा देखिएका छन् । हाल रामेछाप जिल्लाको मन्थली नगरपालिका, लीखु तामाकोशी गाउँपालिका र विभिन्न स्थानीय तहहरूमा खोरेत रोग फैलिएको छ भने बेलाबेलामा फाट्टफुट्ट रुपमा रेबिज रोगको संक्रमण पनि भेटिन्छ । पिपिआर रोगले पनि बेला बेलामा बाख्रामा क्षति गरेको छ । गत वर्ष फैलिएको लम्पी स्किन रोग तथा अफ्रिकन स्वाइन फिभरको जोखिम पनि यस वर्ष पनि उच्च रहेको छ ।
पशुमा देखिएका रोग निदानका लागि केन्द्रले के गरिरहेको छ ?
पशुहरूमा देखिने रोग निदानका लागि ¥यापिड टेस्ट किटमार्फत नमुनाहरूको परीक्षण गर्ने र शंकास्पद नमुनाहरू केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइने गरिएको छ ।
आम मानिसलाई पशुपालन व्यवसायमा अभिप्रेरित गर्न केन्द्रसँग के कस्ता कार्यक्रम छ ?
पशुपालन गर्दै आइरहेका पशु कृषकहरूका लागि यस कार्यालयको आव ०८०÷८१ अन्तर्गत विभिन्न अनुदान तथा प्रोत्साहनका कार्यक्रमहरू जस्तै पशुपालनमा असल अभ्यास कार्यक्रम, बीउ पुँजी कोष परिचालन कार्यक्रम, ग्रीन टु ह्वाइट, दूध जोन कार्यक्रम, खाद्य प्रणाली रूपान्तरणका लागि जीविकोपार्जन कार्यक्रम, कृषि यान्त्रीकरण कार्यक्रम, मस्यपालन क्षेत्र विस्तार, बाख्रा प्रवद्र्धन कार्यक्रम, बङ्गुर प्रवद्र्धन कार्यक्रमहरू रहेका छन् । यी विभिन्न कार्यक्रमहरूको सूचना प्रकाशन गरी प्राप्त आवेदनहरूको छनोट गर्ने क्रममा रहेका छौँ । यी कार्यक्रमहरू सफल कार्यान्वयन गर्न सके कृषकहरुले पशुपालन गर्ने पद्दति परिवर्तन गरी आयस्तरमा वृद्धि ल्याउन सकिन्छ ।
पशुपालक किसानलाई यस पेशामा टिकाउन केन्द्रले के गरिरहेको छ ?
कृषि पेशाको विभिन्न चुनौतीहरूमध्ये दिगोपना पनि एक प्रमुख चुनौतीको रुपमा रहेको छ । यस क्षेत्रको दिगोपनाको लागि नै युवा पुस्तालाई नविनतम प्रविधिका साथ पशुपालन गर्न प्रेरणा दिने गरिएको छ ।
सिन्धुली र रामेछापमा पशुपालनजन्य वस्तुको उत्पादनको अवस्था के छ ?
दुवै जिल्लामा पशुजन्य वस्तुको उत्पादनको अवस्था राम्रो छ । गत आर्थिक वर्ष ०७९÷८० मा सिन्धुलीमा २० हजार ४०५ मेट्रिक टन दूध उत्पादन भएको थियो । यस्तै १ हजार ७३८ मेट्रिक टन खसी, बोका र भेंडाको मासु, ३३८ मेट्रिक टन बंगुर र सुँगुरको मासु, ८७१ मेट्रिक टन कुखुरा र हाँसको मासु र २६ मेट्रिक टन माछा उत्पादन भएको थियो । यस्तै क्रमशः १ हजार १३५ र ६० हजार गोटा कुखुरा र हाँसको अण्डा उत्पादन भएको थियो ।
यसैगरी रामेछाप जिल्लामा गत आर्थिक वर्ष ०७९÷८० मा १८ हजार ४१३ मेट्रिक टन दूध उत्पादन भयो भने २ हजार २५७ मेट्रिक टन भैंसी र राँगाको मासु उत्पादन भएको छ । यस्तै, ९०५ मेट्रिक टन खसी, बोका र भेंडाको मासु, ११६ मेट्रिक टन बंगुर र सुुँगुरको मासु तथा ५०१ मेट्रिक टन कुखुरा र हाँसको मासु उत्पादन भएको छ । गत आर्थिक वर्षमा यस जिल्लामा १३.४ मेट्रिक टन माछा उत्पादन भएको छ । यस्तै कुखुरा र हाँसको अण्डा क्रमशः २८०० र १२ हजार गोटा उत्पादन भएको छ ।
कुन कुन पशुपन्छीका उत्पादनमा यी दुवै जिल्ला आत्मनिर्भर छ ?
सिन्धुली र रामेछाप जिल्ला बाख्रा उत्पादनको लागि आत्मनिर्भर मान्न सकिन्छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका दुध उत्पादनको लागि आत्मनिर्भर छ । अन्य क्षेत्रहरूमा क्रमिक रूपमा उत्पादनहरू वृद्धि भइरहेको छ ।
पशुपालक किसानलाई सरकारले दिने अनुदान कसरी पाइरहेका छन् ?
बागमती प्रदेश सरकारद्वारा प्रदान गरिने विभिन्न अनुदान कार्यक्रमहरूमा कृषकहरूको उत्साहजनक आकर्षण रहेको छ । यस प्रकारका कार्यक्रमहरूमा माग र आवश्यकताका आधारमा विभिन्न निकायहरूसँग दोहोरोपना नपर्ने गरी र स्थायी निकायहरूको सिफारिसमा प्रदान गरिन्छ । यस प्रकारका अनुदानका कार्यक्रमहरू नवीनतम प्रविधिहरू अवलम्बन गर्न, गुणस्तरीय उत्पादन गर्न, उत्पादनको लागत घटाउन र उत्पादन एवं उत्पादकत्व बढाउन केन्द्रित हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया