‘भेटेरिनरी औषधि उत्पादन गर्ने नेपालीउद्योगको अवस्था राम्रो छ’
नेपालका भेटेरिनरी औषधि उद्योगीमध्ये अधिकांशले आफूहरूको समस्याबारे सरकारले उपेक्षा गर्दै आइरहेको गुनासो गर्ने गरेका छन् । उनीहरूका अनुसार आयातलाई प्राथमिकता दिने नीति राज्यले बनाउँदा स्वदेशी उद्योगलाई धक्का लागिरहेको छ । सस्तोमा विदेशबाट भेटेरिनरी औषधि नेपाल भित्रिँदा स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकेको उनीहरू बताउँछन् । तर क्युमेड फर्मुलेसन प्रा.लिका सञ्चालक सोहन अधिकारी भने फरक मत राख्छन् । उनका अनुसार, भेटेरिनरी औषधि उत्पादन गर्ने नेपाली उद्योगलाई उपभोक्ताले रुचाएका छन् । उपभोक्ताको छनोटमा परेकाले भेटेरिनरी औषधि उत्पादन गर्ने सबै नेपाली उद्योगको अवस्था राम्रो छ । ‘नेपालमा रहेका भेटेरिनरी औषधि उत्पादन गर्ने सबै कम्पनीको अवस्था राम्रो छ,’ अधिकारी भन्छन् ।
झण्डै डेढ दशकदेखि क्युमेड फर्मुलेसन प्रालि नामक औषधि उद्योग सञ्चालन गर्दै आइरहेका अधिकारीसँग नेपालको भेटेरिनरी औषधि बजार, औषधि उद्योगको अवस्थालगायत विषयमा केन्द्रित रहेर भेट टाइम्स मासिकले गरेको कुराकानीको सम्पादित अंश :
नेपालको पशुपन्छी औषधि बजारको अवस्था कस्तो छ ?
गत वर्षसम्म नेपालको पशुपन्छी औषधि बजारको अवस्था ठीकै थियो । गत आर्थिक वर्षमा पोल्ट्री क्षेत्रमा समस्या आयो । परिणामतः पशुपन्छीको औषधि बजारमा पनि त्यसको प्रभाव देखियो । तथापि, समग्रमा नेपालमा पशुपन्छी औषधिको बजार ठीकै छ ।
यो त भयो बजारको अवस्था । स्वदेशी उद्योगको स्थितिचाहिँ कस्तो छ ?
नेपालमा जति पनि भेटेरिनरी औषधि उत्पादन गर्ने कम्पनी छन्, ती सबैको अवस्था राम्रो छ । फिड सप्लिमेन्टमा खासै नभए पनि ट्रिटमेन्ट प्रोडक्टमा नेपाली औषधि उद्योगकै उत्पादन बढी प्रयोग भएको हुनुपर्छ जस्तो मलाई लाग्छ ।
पशुपन्छी औषधिको नेपाली बजारमा रहेको मागलाई स्वदेशी उद्योगले धानेको छ कि विदेशी कम्पनीमा पनि भर पर्नु पर्ने अवस्था छ ?
भेटेरिनरी औषधि दुई किसिमका छन् । एउटा छ, ओरल । अर्को छ, इन्जेक्टेबल । यसमध्ये मुखबाट खाने ट्याबलेट, पाउडर, झोललगायत जति पनि औषधि छन्, तिनको उत्पादन स्वदेशी उद्योगले पर्याप्त मात्रामा गरिरहेका छन् । यसका लागि विदेशी उद्योगको त्यति भर पर्नुपर्दैन । यसबाहेक इन्जेक्टेबल, तुरुन्तै चाहिने पशुपन्छीका औषधि नेपाली उद्योगले उत्पादन गरेका छैनन् । भ्याक्सिनतर्फ त्रिपुरेश्वरमा सरकारको एउटा छ, अर्को एउटाको छ । त्यो कति पर्याप्त छ, मलाई थाहा छैन ।
नेपालमा इजेन्टेबल औषधि उत्पादन हुन किन नसकेको होला ?
नेपाली बजारको साइज एकदमै सानो छ तर इन्जेक्टेबलका लागि लगानी धेरै गर्नुपर्छ । अर्को कुरा, विदेशी उद्योगहरूको फोकस पनि यसैमा बढी छ । भारत, बंगलादेशलगायत मुलुकका कम्पनीले ठूलो भोलुममा यस्ता इन्जेक्टेबल उत्पादन गर्छन् र थोरै मात्रामा ती उत्पादान नेपाल पठाउँछन् । नेपालमै यसको उत्पादन गर्दा बजार साँघुरो छ । क्षमताअनुसार उत्पादन गर्दा नेपाली बजारलाई धेरै हुन्छ । यसले गर्दा इन्जेक्टेबल स्वदेशमा उत्पादन हुन सकेको छैन । अर्को पाटो के भने अहिले लगानी गर्ने वातावरण पनि छैन ।
इन्जेक्टेबलबाहेकका औषधिमा नेपाल आत्मनिर्भर छ भन्ने कुरा आयो । स्वदेशी औषधि उद्योग र तिनका उत्पादनलाई नेपाली उपभोक्ताले विश्वासचाहिँ कत्तिको गरेका छन् ?
नेपाली उपभोक्ताले स्वदेशी उद्योग र तिनको उत्पादनलाई मज्जाले विश्वास गरिरहनु भएको छ । जुका, नाम्लेको औषधि, क्याल्सियम, अहिले फैलिरहेको लम्पी स्किन कम गर्ने तथा दुःखाइ हटाउने एन्बिटायोटिक्सलगायत सबै औषधिको माग हामी स्वदेशी उद्योगले नै त धानिरहेका छौं नि । यी औषधि कहाँ बाहिरबाट आएको छ र ? हाम्रो औषधिले मजाले काम गरेको छ, किसानहरूले पनि उत्तिक विश्वास गर्नुभएको छ । यसमा कुनै दुई मत नै छैन ।
सरकारी निकायले यसअघि गरेका परीक्षणमा विदेशबाट आयातीत पशुपन्छीका औषधि गुणस्तरहीन पाइए पनि स्वदेशी उद्योग यसमा सचेत रहेको देखिएको थियो । तथापि, विदेशबाट पशुपन्छीको औषधि आयात हुने क्रम रोकिएको छैन । यो पक्षलाई चाहिँ हामीले बुझाउन नसकेका हौं ?
नेपालमा पशुपन्छीका दुई किसिमका औषधि आउँछन् । एउटा ट्रिटमेन्ट (उपचार) गर्ने छ भने अर्को खाद्य परिपूरक फिड सप्लिमेन्ट । फिड सप्लिमेन्टमा क्याल्सियम, भिटामिन, मिनरल पर्दछन् । ट्रिटमेन्ट प्रोडक्टका हकमा औषधि व्यवस्था विभागले बिक्री÷वितरण तथा आयातका लागि अनुमति दिनेदेखि नियमन गर्नेसम्मको काम गरेको हुन्छ । त्यसैले स्वदेशी तथा विदेशी कम्पनीले उत्पादन गर्ने यस्ता उत्पादनको गुणस्तर राम्रो हुन्छजस्तो लाग्छ मलाई ।
रह्यो कुरा, फिड सप्लिमेन्टको । यसमा चाहिँ ब्रह्मलुट छ हेर्नुस् । भारतको एउटै कम्पनीले ६÷७ वटा नाममा ६÷७ वटा डिस्ट्रिब्युटरहरूलाई फरक–फरक कम्पनीको नाममा फरक–फरक ब्राण्डमा फिड सप्लिमेन्ट दिइरहेको छ । यस्ता कम्पनीका उत्पादन यति धेरै आयात हुन्छन् कि बजार अनुगमन गर्ने हो भने क्याल्सियम, भिटामिन, मिनरलहरू नेपालाई पाँच वर्ष जतिलाई पुग्ने स्टक नै भेटिएला । अनावश्यक रूपमा भित्रिएका यस्ता फिड सप्लिमेन्टको बिक्री पनि अनावश्यक छ ।
यस्ता चिजको अनुगमन नहुने भएकाले बेला–बेलामा गुणस्तरको समस्या देखिने गरेको छ । सस्तोमा पठाइने यस्ता औषधिमा के हाल्छन्, कति हाल्छन्, कसैलाई थाहा हुँदैन । र पनि पशु सेवा विभागले आयातका लागि अनुमति दिइरहेको छ । पाँच प्रतिशत भन्सार तिरेपछि खालि लेबलको भरमा यस्ता फिड सप्लिमेन्ट नेपाल भित्रिरहेका छन् ।
तपाईंको उद्योगले चाहिँ अहिले के–के उत्पादन गरिरहेको छ ?
हाम्रो उद्योग सन् २००६ मै दर्ता भए पनि उत्पादन भने सन् २०१०÷११ बाट सुरु भएको थियो । नेपालको भेटेरिनरी औषधि उद्योगतर्फ हामी पहिलो डब्लुएचओ जिएपी सर्टिफाइड कम्पनी हौं । जिएमपी विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार औषधि उत्पादन गर्ने कम्पनीलाई दिइने प्रमाणपत्र हो । एक महिना अघिसम्म नेपाली भेटेरिनरी औषधि उत्पादन कम्पनीमा जिएपी प्रमाणपत्र प्राप्त गर्ने हामी मात्र थियौं । अहिले अरूले पनि पाएका छन् । ओरल भेटेरिनरी औषधि जति छन्, ती सबै लगभग हाम्रो उद्योगले उत्पादन गर्ने गरेको छ ।
प्रतिक्रिया