रोजगारी खोज्दै काठमाडौं पसे, संगतले पोल्ट्री व्यवसायी बने

काठमाडौं । ०७९ फागुनको एक दिन घडीले रातिको ९ बजाउनै लागेको थियो । काठमाडौं विस्तारै सुस्ताउने तरखरमा थियो । तर देवी फिडका सञ्चालक अम्बर कार्कीको व्यस्तता भने अझै उस्तै थियो । ‘अहिले व्यस्त छु । भोलि बिहान ९ः३० बजे फोन गर्नुस्, त्यसपछि कुरा गरौंला,’ व्यावसायिक यात्राबारे भलाकुसारी गर्न टेलिफोनमार्फत जोडिएको भेट टाइम्स प्रतिनिधिलाई उनले भने । उनको यो व्यस्तता स्वाभाविक पनि छ किनभने, पोल्ट्रीको महत्वपूर्ण तीन खम्बा मानिने ह्याचरी, फार्म र दाना उद्योग व्यवसायको स्टेरिङ उनकै हातमा छ ।
‘सबै काममा आफैं संलग्न भएर गर्ने हो भने नतिजा राम्रो हुन्छ । त्यसैले मेरो व्यस्तता अलि बढी नै हुन्छ,’ उनले व्यस्त हुनुको राज खोल्दै भने ।
भक्तपुरलाई मुकाम बनाएका कार्कीको कुखुरा फार्ममा अहिले हजारौं हजार कुखुरा हुर्किरहेका छन् । त्यसरी पालिएका कुखुरा उनको आफ्नै ह्याचरी उद्योगका उत्पादन हुन् । अन्य कुखुरापालक किसानलाई लक्ष्य गरेर पनि आफ्नो ह्याचरी उद्योगले मागअनुसार चल्ला उत्पादन गर्दै आइरहेको कार्की बताउँछन् । कुखुराका लागि आवश्यक पर्ने दानासमेत केही दशक अघिदेखि कार्कीको उद्योगले लगातार उत्पादन गर्दै आइरहेको छ ।

रोजगारी खोज्न काठमाडौं, संगतले पोल्ट्री व्यवसायी
नेपालीमा एउटा कहावत छ– संगत गुनाको फल । यसको अर्थ मानिसले जस्तो संगत ग¥यो त्यस्तै फल पाउँछ भन्ने हो । कार्कीको जीवनमा पनि यो भनाइ ठ्याक्कै चरितार्थ भयो । यदि हुँदैनथ्यो भने उनले यो सफलता पाउनु त परको कुरा, यो क्षेत्रमा पाइलोसमेत हाल्ने थिएनन् ।

यो क्षेत्रसँग सुरुमै सानिध्यता बढेकाले अन्य विकल्प छाडेर आफू यसमा प्रवेश गरेको कार्की बताउँछन् । यसको सन्दर्भ पनि निकै रोचक छ ।
राजधानी काठमाडौंबाट पूर्वतर्फ केही घण्टा सवारीसाधनमा यात्रा गरेपछि पुगिने दोलखाको विकास गति निकै धिमा छ । ०७२ को भूकम्पले थिलोथिलो यो जिल्लाको ग्रामीण जनताको जीवनस्तर त अझै कष्ठसाध्य छ । यही जिल्लाबाट आजभन्दा साढे तीन दशकअघि कार्की काठमाडौं पसेका थिए । यसरी काठमाडौं पस्नुको सपना मामुली थियो– एक थान जागिर । तर उनी अनायासै पोल्ट्री क्षेत्रमा जोडिन पुगे । जीवनको त्यही एउटा कदमले आफूलाई सफल पोल्ट्री व्यवसायमा सफलन बनाएको कार्की सुनाउँछन् ।
‘म केबल एक थान जागिरका लागि काठमाडौं आएको थिएँ । त्यतिबेला पोल्ट्रीमा प्रवेश गरेर यो किसिमको सफलता हासिल गर्छु भन्ने किंचित सोचेको थिइनँ । तर यो क्षेत्रसँगको संलग्नताले मलाई सफल गरायो,’ विगत र वर्तमानलाई फ्युजन गराउँदै कार्कीले अनपेक्षित सफलताको भेद खोले ।
बालाजुको नेपाल फिड पुरानो दाना उद्योगमध्ये एक हो । ०४४ सालमा यही दाना उद्योगमा जागिरेको रूपमा कार्कीको प्रवेश पोल्ट्रीसँगको पहिलो स्पर्श थियो ।
त्यहाँ उनले केही समय काम गरे । ०४६ को जनआन्दोलनपछि बालाजु औद्योगिक क्षेत्रमा दाना उद्योग सञ्चालन गर्न नपाइने भयो । सरकारले नै अंकुश लगाइदिएपछि यो क्षेत्रमा रहेका दाना उद्योग स्थानान्तरण गरेर अन्यत्र सारिए । बालाजुमै थियो अर्को दाना उद्योग, काठमाडौं फिड । उसले पनि त्यो ठाउँ छाड्नुपर्ने भएपछि लगनखेलमा स्थापना गरियो ।
यति बेलासम्म कार्कीले पोल्ट्रीमा केही ज्ञान र अनुभव हासिल गरिसकेका थिए । उनलाई यही उद्योगबाट प्रस्ताव आयो– हामीलाई तपाईंजस्तै जनशक्ति चाहिएको छ । आउनु हुन्छ ? अघिल्लोमा कार्कीले दुई वर्ष बिताइसकेका थिए । ज्ञान र सीपका भोका कार्कीलाई लाग्यो होला, एकै ठाउँमा बसिरहनुभन्दा फरक फरक स्थानमा काम गरेर अनुभवको क्षितिज किन फराकिलो नपार्ने ? उनले भनिदिए– हुन्छ, आउँला ।
अघिल्लोमा दुई वर्ष काम गरेका उनले त्यहाँ भने १३ वर्ष बिताइदिए । एउटा क्षेत्रमा लगातार १५ वर्षको आबद्धता, चानचुने थिएन । सिक्नेले यो अवधिमा महारथ नै प्राप्त गर्न सक्थ्यो । कार्कीजस्ता स्वप्नशील व्यक्तिले यतिका लामो समयसम्म सबै नछिचोल्ने कुरै थिएन, रौंचिरा सबै छुट्याइसकेका थिए ।
अरूको काम गर्दा एकातिर समय गुज्रिँदै थियो भने अर्कातिर बहुमूल्य अनुभव अर्काको लाभमा मात्र खर्चिनुपर्ने बाध्यता थियो । कार्कीले यो बिन्दुमा उभिएर सोचे, अनुभव पनि धेरै भयो । अब आफैं केही गरौं ।
मनभित्र कोरलेको यो सपनालाई मूर्तरूप दिन उनले ०५९ मा लेयर्स जातको कुखुरा पालेर व्यवसायको श्रीगणेश गरे । भक्तपुरको खरिपाटीमा जग्गा लिजमा लिएर सुरुमा आफूले ७०० लेयर्स कुखुरापालन गरेको कार्की सुनाउँछन् ।
कार्कीले लिएको निर्णय सही सावित भयो । खोरमा जति कुखुरा हुल्दै गए, उत्तिकै मात्रामा मुनाफा बढ्दै गयो ।
‘आफैंले गर्दा राम्रो भएपछि केही वर्षको बीचमा त्यसलाई बढाएर १० हजार पु¥याएँ,’ पोल्ट्रीको प्रारम्भिक खुड्किलो उक्लिँदाको सन्दर्भ रोमाञ्चित हुँदै कार्कीले सम्झिए । त्यही सफलताको जगमा टेकेर अहिले लियर्स, ब्रोइलरलगायत हजारौं कुखुरा फार्ममा पालिरहेको कार्की बताउँछन् ।

आवश्यकता र मागले जन्मियो दाना र ह्याचरी उद्योग
आवश्यकता र मागलाई तौलिन सक्ने ल्याकतलाई उद्यमीको ठूलो पुँजी मानिन्छ । हुन पनि, त्यस्ता मानिस मात्र व्यवसायमा सफल भएका छन्, जसले यी दुई कुराको नसा–नाडी समयमै पहिचान गर्न सके । कार्कीले कुखुरा फार्मपछि दाना र ह्याचरी उद्योग खोले, जुन यही क्षमताको उपज थियो ।

‘फार्ममा हुर्किएका कुखुरालाई अन्यत्रबाट दाना खरिद गरेर पाल्नुभन्दा आफैंले उत्पादन गर्न पाए राहत हुन्थ्यो कि भन्ने सोच आएपछि दाना उद्योग खोल्यौं,’ कार्की भन्छन् ।
०५९ मा अर्का एक व्यक्तिसँगको साझेदारीमा दाना उद्योग खोल्दा कार्कीले धेरैले रुचाउलान् भन्ने सोचेका थिएनन् । तर आफूले पालेका कुखुराका लागि भनेर खोलिएको दानाको माग एकपछि अर्को बढ्दै गयो । ‘तपाईंको दाना राम्रो छ, चाहियो’ भनेर माग आउन थाल्यो ।
माग त बढ्यो तर त्यसलाई परिपूर्ति गर्ने क्षमता उनको उद्योगमा थिएन । त्यसपछि भक्तपुरको शिव चोकमा थप जग्गा लिएर यसलाई व्यवस्थित पारिएको कार्की बताउँछन् । सुरुमा मास दाना उत्पादन गरेको उनको उद्योगले अहिले पेलेट दाना पनि उत्पादन गर्दै आइरहेको छ । ‘बजारको मागलाई हेरेर अहिले दाना उद्योगले आफ्नो उत्पादन गरिरहेको छ,’ दाना उद्योगबारे कार्कीले भने ।
कार्की कुखुरापालन र दाना उद्योगमा मात्र रोकिएनन् ।
ह्याचरीबाट चल्ला ल्याएर फार्ममा कैयौं लट कुखुरा बिक्री गरिसकेपछि कार्कीको दिमागमा अनायासै ह्याचरी उद्योग खोल्ने सोच पलायो । पोल्ट्रीका मुख्य दुई खम्बा कुखुरापालन र दाना उद्योग सञ्चालन गरिरहेका कार्की त्यसभन्दा पृथक ह्याचरीमा हेलिए । यो ०६२ सालको कुरा थियो ।
अघिल्ला दुई व्यवसायमा नै उनले सफलताको मिठो स्वाद चाखिसकेका थिए । आत्मविश्वाससँगै जोखिम बहन गर्न सक्ने क्षमता उनले राम्रैसँग विकास गरिसकेका थिए । सिलसिला टुट्ने कुरै थिएन, यसमा पनि उनले नसोचेको सफलता पाउँदै गए ।
कार्की आफ्नो ह्याचरी उद्योगबाट गुणस्तरका चल्ला उत्पादन भएपछि किसानले निकै रुचाएको सुनाउँछन् । ‘हाम्रो अघिल्लो उत्पादन दानालाई किसानले खुबै रुचाएकोमा ह्याचरी उद्योगबाट उत्पादित चल्लाको के होला भन्ने थियो । तर यो उद्योगको उत्पादनलाई पनि खुबै मन पराइयो,’ व्यवसायले सफल उडान भर्नुको कारणबारे कार्कीले भेट टाइम्स प्रतिनिधिलाई सुनाए ।
एकपछि अर्को सफलता हासिल गरेका कार्कीलाई हामीले बीचमा एउटा प्रश्न तेर्सायौं, जहाँ हात हाल्यो त्यही सफल हुनु भएको छ । राज के होला ?
कार्कीले कत्ति पनि विलम्ब नगरी एक शब्दमा जवाफ फर्काए– लगनशीलता । भेट टाइम्स प्रतिनिधिले उनीसँग जिज्ञासा राख्न खोज्दै थिए, अघिल्लो प्रश्नमा उनी फेरि बोले– अँ ग्राहकको हौसला र शुभेच्छाले पनि हामीलाई यो बाटोमा हिँड्न बल प्रदान ग¥यो ।’
कार्की आफ्ना उद्योगहरूको उत्पादनको गुणस्तरप्रति आफू निकै संवेदनशील हुने गरेको र त्यसमा कमी आउन नदिन बिहान, दिउँसो, बेलुका हरदम खट्ने गरेको बताउँछन् । ‘बिहान, दिउँसो र बेलुका हरपल आफ्ना उद्योगको उत्पादन कस्तो भइरहेको छ भनेर निगरानी गरिरहेका हुन्छौं । यो कारणले पनि उद्योगबाट गुणस्तरीय उत्पादन भएको होला,’ कार्की भन्छन् ।

तस्करी नियन्त्रण नहुँदा चिन्तित
अक्सर मानिसहरूसँग गुनासा नै गुनासाका चाङ हुन्छन् । ती आफ्ना कर्तव्य पूरा गर्दैनन् तर अरूतर्फ औंला तेर्साएर ‘यो भएन, त्यो भएन’ भनेर उपदेश बाँड्न कत्ति पनि अप्ठ्यारो मान्दैनन् ।

पोल्ट्री क्षेत्रमा समस्या नै समस्या छन् । यो व्यवसाय इतिहासमै चरम संकटबाट गुज्रिरहेको छ । यो पीडा मञ्च पाउनेबित्तिकै जताततै पोल्ट्री व्यवसायीले पोखेको सुनिन्छ । कार्की स्वयं पनि आफ्ना उत्पादन बिक्री नहुँदा बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था आएको सुनाउँछन् । समस्याले समग्र पोल्ट्री क्षेत्रमा ग्रहण लागे पनि कार्की निकै विनम्र र परिपक्व सुनिए ।
कसैलाई आक्षेप नलगाई उही शालीन लय समातेर यति भने, सरकार र राज्यले पोल्ट्री क्षेत्रमा देखिएका समस्या गम्भीरतापूर्वक हल गरेर व्यवसाय गर्ने वातावरण बनाइदिए हुन्थ्यो ।
‘सरकारले पोल्ट्री क्षेत्रमा देशलाई आत्मनिर्भर घोषणा गरेको छ । तर भारतबाट तस्करीमार्फत भित्रिएका कुखुरा निकै सस्तो हुँदा प्रतिस्पर्धा गर्न नसक्ने भएका छौं । सरकारले यसतर्फ गम्भीरतापूर्वक सोचेर कडाइ गरिदिए हामीलाई राहत हुने थियो,’ उनले विनम्र लयमा अनुरोध गरे ।

एउटा उदात्त सपना
खाडीलगायत विभिन्न देशका लागि उडान भरेका हरेक प्लेनले काठमाडौं उपत्यकाको आकाशलाई फन्को मारेर गन्तव्य सोझ्याउँछन् । यस्ता दृश्य देख्नुपर्नेले पनि देखिरहेका हुन्छन् तर गैंडाको छालाजस्तो कठोर हृदयका तिनलाई यसले छुँदैन । नभए यो सिलसिला उहिल्यै टुटेर युवाहरूले स्वदेशमै केही गरिरहेका हुन्थे ।

कार्कीलाई भने खाडीलगायत देशतर्फ नेपाली युवा बोकेर आफ्नो उद्योगमाथिको आकाश हुँदै एक फन्को मारेर गन्तव्य सोझ्याउने जहाज देखेर चसक्क हुन्छ । हुन त एक थान रोजगारीका लागि काठमाडौं पसेका कार्कीले १०० भन्दा बढीलाई रोजगारी दिएका छन् । तर उनलाई विदेशतिर लागेको ताँतीले तिनका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । यही कारण कार्कीले पोल्ट्री क्षेत्रले लय समातेको स्थितिमा तिनलाई देशभित्र रोजगारी दिन थप लगानी गर्ने सोच बनाएका छन् । तर परिस्थिति र समयले साथ दिएजस्तो लागेको छैन ।
‘विदेशिएका दाजुभाइलाई केही नयाँ काम गरेर स्वदेशमा नै रोजगारी दिन पाए हुन्थ्यो भन्ने लाग्छ’ उनले कुराकानीको बिट मार्दै भने, ‘ तर बैंकको ब्याज नै तिर्न सकेको छैन । नयाँ थाल्नेभन्दा भएकैलाई धान्न गाह्रो छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *