‘पशु स्वास्थ्य क्षेत्रमा नेपालकाे प्रगति विश्वमञ्चमा प्रदर्शनयोग्य’– मन्त्री भुसाल

काठमाडौं । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको नवनिर्मित भवन र राष्ट्रिय खोप उत्पादन प्रयोगशालाको बायोसेफ्टी लेबल २+ प्रयोगशालाको उद्घाटन गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले शुक्रबार एक समारोहका बीच त्रिपुरेश्वरस्थित ती नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले पशु स्वास्थ्यको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि विश्वमै देखाउनयोग्य बन्दै गइरहेको बताए ।

‘पशु स्वास्थ्यका क्षेत्रमा हामी पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शनयोग्य बन्दै गएका छौं,’ उनले भने, ‘भाइरल टेष्टको लामो इतिहास छ । पिपिआर खोप आगामी ४ वर्षभित्रमा हामी निर्यात गर्न सक्ने अवस्थामा पुग्ने छौं । त्यस्तै अन्य खोप उत्पादनमा पनि हामी राम्ररी काम गरिरहेका छौं । मानिसले भर्खर थाहा पाएको पिसिआर टेष्ट हामीले पशु स्वास्थ्यको क्षेत्रमा विगतदेखि नै गर्दै आएका रहेछौं । कोभिड–१९ को संक्रमण पत्ता लगाउने पिसिआर टेष्टका लागि हामीले स्वास्थ्य मन्त्रालयलाई ५ ओटा प्रयोगशाला दिएका छौं ।’नेपालमा पशु स्वास्थ्यको क्षेत्रमा अग्रजहरुका मेहनत र सोचका कारण प्राप्त उपलब्धीहरु उत्साहजनक रहेको उनले बताए । साथै कतिपय विषयमा अझ सुधारको खाँचो रहेको बताए ।

‘हाम्रा वरिपरिका अरु(छिमेकी देशहरु) दौडिरहेका छन् तर केही क्षेत्रमा हाम्रो हिँडाइ पनि सुस्त छ, केही क्षेत्रमा भने हामी पनि दौडने कोसिस गरिरहेका छौं,’ उनले भने, ‘दौडने कोसिस भइरहेको क्षेत्र मध्ये एउटा पशु स्वास्थ्यको यो क्षेत्र पनि हो । अझै राम्ररी लाग्यौं भने ४ वर्ष मेहनत गर्दा राम्ररी दौडिन सक्छौं ।’

भारतमा २०२५ सम्ममा एफएमडी उन्मूलन गर्ने कार्यक्रम रहेको बताउँदै उनले नेपालमा सन् दीगो विकास लक्ष्यअनुसार २०३० सम्ममा यी रोग उन्मूलन गर्ने लक्ष्य रहे पनि त्यसभन्दा अगाडि नै उन्मुलन गर्न सकिने बताए ।

‘मैले त्योभन्दा अघि नै हामीले यी रोग उन्मूलन गर्नुपर्छ भनेर हामी लागेका छौं,’ उनले भने, ‘बालबालिकालाई पोलियो खुवाउने कार्यक्रम जस्तै अभियान सञ्चालन गरी पशुबाट ‘एफएमडी’ उन्मूलन गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ । यसमा हामी लाग्नुपर्छ । पिपिआर रोग उन्मूलनका लागि हामीले खोपको उत्पादन तथा आपूर्तिको व्यवस्था गर्नुपर्छ भनेर लागेका छौं ।’

नवनिर्मित भवन र प्रयोगशालाले नेपालको पशु स्वास्थ्य क्षेत्रलाई अझ विकसित र समृद्ध बनाउने अपेक्षा उनले व्यक्त गरे ।

‘कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनभन्दा अघि नै यो भवन उद्घाटन गर्न साथीहरुले मलाई भन्नुभएको थियो,’ मन्त्री भुसालले भने, ‘म भर्खर मन्त्रालयमा आएको थिएँ । आफैंले मन्त्रालय र यो क्षेत्रलाई नबुझी उद्घाटन गर्दै हिँड्नु हुँदैन भनेर १÷२ महिना पछि सार्न आग्रह गरेको थिएँ । लकडाउन लम्बिँदा यो उद्घाटन कार्यक्रम पनि पछि सरेको हो ।’

उनले नेपालले अपनाएको ‘एक स्वास्थ्य’ नीतिलाई समेत प्रभावकारी रुपमा अघि बढाउनु पर्ने बताए । ‘एक स्वास्थ्य’ नीति अन्तर्गत हामीले निरोगी मानिसको कल्पना गरिरहँदा निरोगी पशुपन्छीको पनि कल्पना गर्न सक्नुपर्छ,’ उनले भने, ‘पशु स्वास्थ्यका क्षेत्रमा अझ अघि बढ्न के गर्नुपर्छ सबैले छलफल गरेर निक्र्यौल गरौं । मैले गर्नुपर्ने कुनै काम बाँकी राख्दिन ।’

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले पशुपन्छी क्षेत्रलाई सरकारले अत्यावश्यक सेवाको सूचिमा रहेकोले लकडाउनका बेलासमेत पशु स्वास्थ्य सेवामा निरन्तर क्रियाशील हुन मातहतका कर्मचारी तथा प्राविधिकलाई निर्देशन दिए ।राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका प्रमुख डा. उमेश दाहालले कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै प्रयोगशालाले आर्थिक वर्ष २०७७/७८ मा पिपिआर, रानिखेत, व्याक्टेरियल, क्लासिकल स्वाइन फिवर, गम्बरो, रेबिज जस्ता रोग निवारणका लागि कुल ४ करोड ४५ लाख ५० हजार डोज खोप उत्पादनको लक्ष्य राखिएको जानकारी दिए । त्यस्तै, पशुपन्छीका विभिन्न रोग निवारणका लागि आवश्यक खोपमा आत्मनिर्भर हुने, खोपलाई सर्वसुलभ बनाउने निर्यात सुरु गर्ने भावि लक्ष्य रहेको बताए ।

डा. दाहालका अनुसार राष्ट्रिय खोप उत्पादन प्रयोगशालाअन्तर्गतको बायोसेफ्टी लेबल २ प्रयोगशालाको निर्माण हस्पिटेक इन्टरप्राइजेज प्रालिले गरेको हो । २०७४ असारबाट सुरु भएको प्रयोगशाला निर्माणको काम २०७५ पुसमा सकिएको थियो ।

पशुसेवा विभागकी उपमहानिर्देशक डा. सम्झनाकुमारी काफ्लेको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा केन्द्रीय रिफरल पशु चिकित्सालयका प्रमुख डा. टंकप्रसाद प्रसाईले वि.स. १९९६ मा भेटेरिनरी डिस्पेन्सरीको रुपमा स्थापनाभएको उक्त चिकित्सालय २०७६ भदौदेखि केन्द्रीय रिफरल पशु चिकित्सालयका रुपमा सञ्चालनमा आएको बताए । केन्द्रीय रिफरल पशु चिकित्सालयको सुविधासम्पन्न आधुनिक नवनिर्मित भवनबाट पशु स्वास्थ्य सेवामा अझ सुधार आउने समेत उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *