चितवनको होटल शुभमद्वारा ‘केज–फ्री’ अण्डा प्रयोग गर्ने प्रतिबद्धता

चितवन । चितवनको भरतपुर–१० स्थित होटल शुभम एण्ड हस्पिटालिटीले पशुपन्छी कल्याणप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो होटलमा पूर्ण रूपमा ‘केज–फ्री’ (पिँजरामुक्त) अण्डा प्रयोग गर्ने औपचारिक प्रतिबद्धता व्यक्त गरेको छ ।

एनिमल नेपालद्वारा चितवनमा आयोजित ‘पशुपन्छी कल्याण अभिमुखीकरण’ कार्यक्रममा सहभागी भएपछि होटलले उक्त निर्णय लिएको हो । होटलले २०८२ साल फागुन ६ गते औपचारिक प्रतिबद्धता पत्र र प्रमाणपत्रमार्फत यो संकल्प सार्वजनिक गरेको हो ।

होटल शुभमले पिँजरामा थुनिएका कुखुराबाट उत्पादित अण्डाको सट्टा खुला रूपमा पालिएका कुखुराबाट उत्पादित केज–फ्री अण्डा मात्र प्रयोग गर्ने जनाएको छ । कुखुरालाई स्वतन्त्र रूपमा हिँडडुल गर्न, पखेटा फैलाउन, गुँड बनाउन तथा आफ्ना प्राकृतिक व्यवहार प्रदर्शन गर्न पाउनुपर्ने अधिकारको सम्मानस्वरूप यो कदम चालिएको होटल व्यवस्थापनको भनाइ छ ।

होटलले एनिमल नेपाल तथा ओपन विंग एलाइन्ससँगको सहकार्यमा आफ्नो आपूर्ति शृंखला थप मानवीय र जिम्मेवार बनाउने प्रतिबद्धता पनि जनाएको छ । साथै, केज–फ्री अण्डा प्रयोगको अवस्था र प्रगतिबारे वार्षिक रूपमा एनिमल नेपाललाई जानकारी गराउने प्रतिबद्धता लिइएको छ ।

होटल शुभमका अनुसार बजारको उपलब्धतालाई ध्यानमा राख्दै होटलमा प्रयोग हुने सबै अण्डा तथा अण्डाजन्य परिकारहरू क्रमिक रूपमा केज–फ्री फार्महरूबाट मात्र खरिद गरिनेछ ।

पछिल्लो समय नेपालका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू माझ स्वस्थ, सुरक्षित र नैतिक रूपमा उत्पादन गरिएका खाद्य सामग्रीको प्रयोगप्रति चासो बढ्दै गएको सन्दर्भमा होटल शुभमको यो निर्णयले चितवनको पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा पशुपन्छी कल्याणसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।

 

के हो केज-फ्री?

सामान्यतया व्यावसायिक रूपमा अण्डा उत्पादन गर्दा कुखुरालाई ‘ब्याट्री केज’ भनिने सानो पिँजरामा राखिन्छ, जहाँ उनीहरूले राम्ररी पखेटा फैलाउन समेत पाउँदैनन्। तर केज-फ्री प्रणालीमा कुखुराहरू पिँजरा बाहिर एउटा ठूलो हल वा खोरभित्र स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउँछन्।

      यसका मुख्य विशेषताहरू:

  • प्राकृतिक व्यवहार: कुखुराले आफ्नो स्वभाव अनुसार पखेटा फैलाउन, उफ्रिन, गुँड बनाउन र धुलोमा खेल्न पाउँछन्।

  • शारीरिक अवस्था: पिँजरामा नथुनिने भएकोले कुखुराको हड्डी बलियो हुन्छ र उनीहरू तनावमुक्त हुन्छन्।

  • मानवीय पक्ष: यो प्रणालीले पशुपन्छीमाथि हुने क्रूरतालाई कम गर्छ।

   उपभोक्ताका लागि फाइदा:

  • स्वस्थ अण्डा: तनावमुक्त र प्राकृतिक वातावरणमा हुर्किएका कुखुराका अण्डाहरू तुलनात्मक रूपमा स्वस्थ र गुणस्तरीय मानिन्छन्।

  • नैतिक छनोट: केज-फ्री अण्डा उपभोग गर्नु भनेको पशुपन्छी कल्याण (Animal Welfare) लाई समर्थन गर्नु हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *