तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न, संयुक्त वक्तव्य जारी

काठमाडौंं।तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ। मन्त्रीस्तरीय बैठकमा ३ देशका मन्त्रीहरूको सहभागिता रहेको थियो। बाँकी ४ सदस्य राष्ट्रका मन्त्री तथा प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी हुनुभयो।

बैठकको अध्यक्षता गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बैठकमा सहभागीहरूलाई स्वागत गर्दै कृषि क्षेत्रको विकासका लागि विमस्टेक सदस्य राष्ट्रहरूको सहकार्यमा जोड दिनुभयो। जलवायु परिवर्तन, विषादीको बढ्दो प्रयोगले विमस्टेकअन्तर्गतका राष्ट्रहरूमा चुनौती थपिएको उल्लेख गर्दै मन्त्री अधिकारीले यसको सामना गर्न सदस्य राष्ट्रबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो।

भारतका कृषिमन्त्री शिवराज चौहानले विमस्टेक राष्ट्रहरूमा कृषि, पशुपन्छी तथा मत्स्यपालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिनुभयो।

यसअघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो। आज बसेको मन्त्रीस्तरीय बैठकले यसलाई अनुमोदन गरेको हो।

आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री शिवराज चौहानबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिनुभयो। भेटवार्तामा भारतीय कृषिमन्त्री चौहानले दुई देशको आयात–निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरी सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सोसँग पनि द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा कृषिमन्त्री अधिकारीले भुटान र नेपालबीच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै नेपाल र भुटानबीच याकको विकासमा सहकार्य गर्न सकिने बताउनुभयो।

भुटानका मन्त्रीले दुई देशका प्रयासहरू समान र साझा रहेकाले नेपाल र भुटानबीच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको उल्लेख गर्नुभयो। भेटवार्तामा दुबै देशको कृषि मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *