परिषद्का रजिष्ट्रारको उमेर हदविरुद्ध दायर रिट ३ वर्षपछि खारेज

काठमाडौं । पशु चिकित्सा परिषद्का रजिष्ट्रारको उमेर हदसम्बन्धी व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट तीन वर्षपछि खारेज भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार उक्त रिट निवेदन खारेज गर्ने अन्तिम फैसला सुनाएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु चिकित्सा परिषदका विभिन्न पदमा नियुक्ति गर्न मापदण्ड जारी गरेपछि ०७८ माघ २ गते नेपाल भेटेरिनरी एसोसिएसनका तर्फबाट तत्कालीन अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले रजिष्ट्रारको उमेर हदसम्बन्धी प्रावधानविरुद्ध रिट निवेदन दायर गरेका थिए । सुरुमा मापदण्डमा उल्लेख रजिष्ट्रारको उमेरसम्बन्धी प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्चले त्यसको तीन वर्षपछि रिट नै खारेज गरिदिएको हो ।
योसँगै अब कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आफूले जारी गरेको मापदण्डबमोजिम परिषद्को रजिष्ट्रार नियुक्त गर्ने बाटो खुलेको छ । नेपाल भेटेरिनरी एसोसिएसनको तर्फबाट डा. श्रेष्ठले सर्वोच्चमा दायर गरेको रिटमा अन्तरिम आदेश जारी भएपछि परिषदमा निमित्त रजिष्ट्रार मात्र नियुक्त हुँदै आएका थिए ।