सही नेतृत्व आएमा म जग्गा दान गर्न तयार छु, नवराज शर्माको नियतमा समस्या छ :धनकुमारी

काठमाडौं – नेपाल पशुपन्छी औषधि व्यवसायी संघको भवन निर्माणका लागि संघकी केन्द्रीय उपाध्यक्ष तथा कान्तिपुर भेटकी सञ्चालिका सुना सुवेदी बडालले करिब ५ आना जग्गा दान गर्ने घोषणा गरेकी छिन्। उक्त घोषणालाई संघका विभिन्न जिल्ला तथा प्रदेश शाखा, पदाधिकारी, र सदस्यहरूले स्वागत गरेका छन्।
संघका पूर्व अध्यक्ष नवराज शर्मा तिमिल्सेनाले बडालको योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै फेसबुकमार्फत धन्यवाद दिएका छन्। उनले उपाध्यक्ष बडालका श्रीमान् तथा संघका पूर्व अध्यक्ष हेमराज बडाललाई समेत निःस्वार्थ सहयोगका लागि कृतज्ञता प्रकट गरेका छन्।
तर, संघकी पूर्व केन्द्रीय उपाध्यक्ष तथा गत महाधिवेशनमा अध्यक्ष पदकी उम्मेदवार धनकुमारी पाण्डेको विषयलाई लिएर सामाजिक सञ्जालमा विवादसमेत उत्पन्न भएको छ। तिमिल्सेनाले धनकुमारी पाण्डेले ५५० व्यवसायीहरूको अगाडि जग्गा दान गर्ने प्रतिबद्धता जनाए पनि एक वर्ष बितिसक्दा समेत सो वाचा पूरा नगरेको आरोप लगाएका छन्। उनले संघका प्रतिनिधिहरूले पटक-पटक सोध्दा पनि पाण्डेले आफ्नो कार्यकालमा मात्र जग्गा दिने भनेर आलटाल गरेको दाबी गरेका छन्।
यसै सन्दर्भमा, तिमिल्सेनाले धनकुमारी पाण्डे र संघका पूर्व अध्यक्ष भरत पाण्डेको व्यवहारले पदाधिकारीहरूलाई निराश बनाएको टिप्पणी गरेका छन्। उनका अनुसार गत माघ ११ गते सम्पन्न साधारण सभामा धनकुमारी पाण्डेसँग यस विषयमा प्रश्नोत्तर गर्ने योजना भए पनि उनी कार्यक्रममै अनुपस्थित रहिन्।
यस प्रकरणमा धनकुमारी पाण्डेले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै संघको चुनाव धाँधलीपूर्ण भएको, फर्जी मत हालिएको, र संघभित्र गलत तत्वहरू प्रवेश गरेको दाबी गरेकी छिन्। उनले आफू प्रतिबद्धताबाट पछि नहटेकी र सही नेतृत्व चयन भएमा जग्गा दान गर्न तयार रहेको बताएकी छिन्। साथै, उनले पूर्व अध्यक्ष भरत पाण्डेको योगदान महत्वपूर्ण रहेको बताउँदै नवराज शर्माको भाषा र अभिव्यक्तिप्रति असन्तुष्टि प्रकट गरेकी छिन्।
धनकुमारी पाण्डेले नवराज शर्मालाई प्रत्यक्ष भेटेर कुरा गर्न चुनौती दिएकी छिन्। उनले आत्मसाक्षी राखेर आफू कुनै पक्षपोषण नगरेको दाबी गर्दै, शर्माको नियतप्रति प्रश्न उठाएकी छिन्। उनले तिमिल्सेनालाई ‘छद्मभेषी, गलत मानसिकता भएको व्यक्ति’ भन्दै आरोपसमेत लगाएकी छिन्।
के लेखेका थिए तिमिलसेनाले
हार्दिक आभार प्रकट गर्दछौं !!!
नेपाल पशु औषधि व्यवसायी संघलाई निःस्वार्थ रूपमा करिब ५ आना जग्गा दान गर्नु हुने उपाध्यक्ष सुना सुवेदी बडाल र पूर्व अध्यक्ष हेमराज बडाल लाई हार्दिक धन्यवाद प्रकट गर्दछु!!
यसअघिका जग्गा दाता धनकुमारी पाण्डे ले “जग्गा दान गर्छु” भनी करिब ५५० व्यवसायीका बीचमा गरेको प्रतिबद्धता निरर्थक र गैर-जिम्मेवार साबित भएको प्रमाणित भएको छ!
जग्गा दान गर्छु भनेको एक वर्षसम्म पनि जग्गा नदिनु, र संस्था का प्रतिनिधि जाँदा समेत “मेरो कार्यकालमा दिन्छु” भनेको विषय प्रतिबेदनमा सुन्दा धनकुमारी र २ ओटा कार्यकालसम्म संस्थाको अध्यक्ष सम्हालेका नेता भरत पाण्डे को बोली र व्यवहारमा देखिएको भिन्नताले उहाँहरू प्रति के शब्द बोलूँ? के भाषा प्रयोग गरूँ? राम्रो शब्द प्रयोग गर्ने कुनै स्थान नै भेटिएन!
जुन दिन महाधिवेशन सकिएको थियो, त्यस दिनदेखि करिब एक वर्षमा मेरो कुनै भेटघाट र संवाद समेत भएको छैन, र मैले सोध्न आवश्यक पनि ठानिनँ— “जग्गा किन नदिनु भयो?”
जग्गा दाता जो सुकै होस्, उसले महान दान गरेको र संस्थाप्रति माया-ममता ले दान दिन लाग्नु भएको होला भनेर तपाईं-हामी सबैले बुझेका थियौँ, तर यो मिथ्या साबित भयो!
चुनाव एक रणमैदान हो, त्यहाँ होमिएपछि कसले जित्छ र कसले हार्छ?त्यहाँ बहुसंख्यकले गर्ने मतदानको परिणाम ले नै निर्धारण गर्ने विषय हो!
यो विषय गत माघ ११ गते सम्पन्न साधारणसभामा सम्बन्धित “जग्गा दान गर्छु” भनी दान नदिने दाता सँग प्रश्न-उत्तर गर्ने विचारमा थिएँ, तर सम्बन्धित दुबै जना उक्त कार्यक्रममा उपस्थित हुन नैतिकताले नदिएको हो कि के हो? आउनुभएन!!
आफ्नै बोली पूरा गर्न सकिन्न भने, बोल्नुको के तुक होला र?
जे होस्, संस्था ले जग्गा पाउने विषय प्रस्ट भयो!छिट्टै संस्थाको भवन बनोस्,आउने महाधिवेशनसम्म करिब एक वर्षको यो समयले संस्थाको इतिहास कोरोस्!
सबैलाई हार्दिक शुभेक्षा!!!
के भनिन् पाण्डेले
पूर्व अध्यक्ष मिस्टर नवराजजी,तपाईंले बहुसङ्ख्यक साथीहरूलाई ट्याग गरी लेख्नु भएको लेख पढ्ने मौका पाएँ। त्यस लेखले तपाईं कुन स्तरको मान्छे रहेछ भन्ने चिन्ने मौका पाएँ। तपाईंको छद्मभेषी रूप मैले चिन्नै सकेको रहेनछु।
चुनावमा भएको धाँधली र फर्जी मत हालिएको सबैलाई अवगत नै छ। यसबारे कतिपय फर्जी मत र कस्तो धाँधली भएको थियो भन्ने बारे पत्रिकामा नै आएको थियो। तपाईंको बौद्धिकताले त्यो कुरा बुझेनछ कि?
यस्तो कुरा बुझ्दा बुझ्दै पनि सङ्गठनको सुरक्षाको लागि र संघमा कुनै विग्रह आउन नदिनको लागि त्यसको विपरीत मैले कुनै कदम नचाल्ने निर्णय गरेँ। यसलाई त्यो बौद्धिक व्यक्तित्वले मेरो कमजोरी बुझेछ क्यारे? बौद्धिक भन्नु के रे? हिजो उसैको आडमा बस्यो, उसैलाई सहयोग गर्छु भन्यो, तर आज यस्तो भन्छ भने हिजो उसले के गर्यो होला?
तर, तपाईंले मनमा यति धेरै हामीप्रति कुटिलता पालेर बस्नुभएको रहेछ भन्ने मैले बुझ्न सकिनँ। हुनत, गलत कुरालाई प्रोत्साहन गर्ने तपाईं जस्ताबाट के आशा गर्नु!
जहाँसम्म भेटघाटको कुरा छ,मैले तपाईंलाई भेट्न आवश्यक नै थिएन। न तपाईं मेरो कामको विषयमा पर्नुहुन्छ, न म तपाईंको। तपाईंले कुन हैसियतले “मैले भेटिन” भन्नुभयो?
जहाँसम्म जग्गाको कुरा छ, भन्नुस्! त्यस्तो धाँधलीबाट आएको नेतृत्वलाई कसरी मैले जग्गा दिन सकूँ?
अर्को कुरा, मैले हिजो गरेको प्रतिबद्धताबाट म पछि हटेको पनि छैन र हट्ने सोच राखेको पनि छैन।मैले सबै साथीहरूलाई भन्नै पर्छ, सही चुनावबाट चुनिएको नेतृत्व आएमा मात्र म जग्गा दिन तयार छु।
जहाँसम्म, पूर्व अध्यक्ष भरत पाण्डेको सम्बन्धमा लेख्नु भएको छ,तपाईंले हामीलाई सम्बोधन गर्न राम्रो शब्द पाउनु भएनछ। यसमा मेरो पूर्ण मञ्जुरी छ तपाईंलाई। तपाईंले खुला रूपमा, तपाईंले धित मर्ने शब्दले सम्बोधन गरे हुन्छ। किनकि, तपाईं आफैं कुन धरातलमा उभिएर भन्दै हुनुहुन्छ?
भरत पाण्डेयज्यूबाट यस संघको स्थायित्वमा योगदान नभएको भए के तपाईंले आफूलाई पूर्व अध्यक्ष हुँ भन्न सक्नुहुन्थ्यो?
तथापि, न तपाईंले उमेरको मान राख्नुभयो, न तपाईंले hierarchy को मान राख्नुभयो। तपाईं जस्तो आफूलाई बौद्धिक हुँ भन्दै हिँड्ने मान्छेबाट मैले यो अपेक्षा राखेको थिइनँ। तर, यसबाट पनि तपाईंलाई चिन्ने मौका पाएँ।
यदि धनवान र शक्तिको भक्ति गर्नबाट फुर्सद पाउनु भयो भने, भेटेर कुरा गर्नुहोला।
अन्त्यमा, आत्मासाक्षी राखेर भन्नुस्— तपाईं कस्को पक्षपोषण गर्दै हुनुहुन्छ?