पशु स्वास्थ्य परिषद् निर्वाचनः नेभ्ला सीमित व्यक्तिको स्वार्थमा परेकोमा चिन्ता

काठमाडौँ – आगामी माघ १८ गते हुने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को निर्वाचनलाई लिएर केही अनैतिक गतिविधि र विवादले निर्वाचनको माहोल गर्माएको छ। परिषद्को गरिमा र पेशागत मर्यादामा आँच पुर्‍याउने कार्यप्रति गम्भीर असन्तोष व्यक्त गर्दै परिषद्का खुला सदस्य पदका उम्मेदवार तथा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसियसनका कोषाध्यक्ष हरिलाल कंडेलले आपत्ति जनाएका छन्।

कंडेलले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार, निर्वाचन प्रक्रियामा अस्वस्थ, अप्राकृतिक, असान्दर्भिक, र अनैतिक गठबन्धनको निर्णय गरिएको छ। साथै, केही पक्षले सचिवालयको बैठक नगरी र सदस्य तथा पदाधिकारीलाई जानकारी नै नदिई संस्थाको लेटर प्याड, छाप, र लोगो दुरुपयोग गरेर सार्वजनिक रूपमा विज्ञप्ति जारी गरेकोमा कंडेलले कडा आपत्ति जनाएका छन्।

उनको भनाइमा, संस्थाको नियमित प्रक्रिया उल्लङ्घन गर्दै सीमित व्यक्तिहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न अर्को संस्थासँग गठबन्धन गरेका छन्। यस्ता कार्यहरूले संस्थाभित्रका इमानदार, निष्ठावान, र कर्तव्यनिष्ठ सदस्यहरूलाई उपेक्षा गर्दै व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको कंडेलको आरोप छ।

विशुद्ध पेशागत संस्थामा राजनीति हुनु भनेको पेशालाई नै मानमर्दन गर्नु हो,” कंडेलले भने। उनले थपे, “यस्ता गतिविधिले क्षणिक स्वार्थ त पूरा गर्न सक्ला, तर यसले संस्थाको दीर्घकालीन भविष्यमा गम्भीर क्षति पुर्‍याउने पक्का छ।”

कंडेलले पेशागत संस्थाहरूलाई राजनीति मुक्त राख्नुपर्नेमा जोड दिँदै संस्थामा भइरहेको राजनीतिकरण र व्यक्तिगत स्वार्थका विरुद्ध सधैँ आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “म संस्थाको गरिमा उच्च राख्न र यसलाई राजनीतिक अखडा बन्न नदिन निरन्तर प्रयासरत छु।”

कंडेलले आफ्नो उम्मेदवारीले संस्थाको गरिमा जोगाउन र पेशागत मर्यादा कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सबै नेभ्ला प्रेमी मित्रहरू र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरूसँग सहयोगका लागि हार्दिक अपिल गरेका छन्।

उनका अनुसार, संस्थालाई सीमित व्यक्तिहरूको पद लोलुपता र स्वार्थका कारण धराशायी हुन नदिन सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता छ। कंडेलले संस्थालाई पुनः स्थापित गर्न र राजनीतिकरण रोक्न आफू निर्वाचित भए पनि नभए पनि निरन्तर संघर्ष जारी राख्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *