अराजक र व्यक्तिवादी प्रवृत्तिको अन्त्य गर्न गठबन्धनः काजी बहादुर
काठमाडौं। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको आसन्न पहिलो निर्वाचनका लागि उपाध्यक्ष पदका उम्मेदवार काजी बहादुर श्रेष्ठले केही स्वघोषित नेताहरुको एकाङ्की, व्यक्तिवादी र अराजक प्रवृत्तिको अन्त्य गर्दै परिषदलाई नयाँ मार्गदर्शन दिन आफूले उम्मेदवारी दिएको घोषणा गरेका छन्। राजधानीमा गठबन्धनको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले परिषदलाई प्रभावकारी र सहभागितामूलक बनाउन विभिन्न संगठनसँगको सहकार्यमार्फत अघि बढ्ने बताएका छन्।
श्रेष्ठले नेभ्ला नेपालको नेतृत्वले सहमति र सहकार्य गर्न नसकेको अवस्थालाई समाधान गर्न गठबन्धनमार्फत साझा उम्मेदवारी अघि सारिएको बताए। उनले सहभागितामूलक पुस्तान्तरण र नेतृत्व विकासका लागि नयाँ नियमावलीको विकासमा पहल गर्ने उद्देश्य रहेको पनि प्रस्ट्याए।
श्रेष्ठले नेभ्ला नेपाललगायतका अन्य ६ संगठनबीच सहकार्य गरेर गठबन्धन निर्माण गरिएको जानकारी गराउँदै यो सहकार्यले परिषदलाई थप उचाइमा पुर्याउने र नयाँ कार्यदिशा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार सहमतिको सहकार्यबाट परिषदलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सकिन्छ।
गठबन्धनको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा नेभ्ला नेपालका उपाध्यक्ष काजी बहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष डबल बम ठकुरी, नेल्टा नेपालको केन्द्रीय वरिष्ठ उपाध्यक्ष एलबी शाही, र उपाध्यक्ष पुष्कर नेपालको सहभागिता रहेको थियो।
नेल्टा नेपालको तर्फबाट वरिष्ठ उपाध्यक्ष एलबी शाहीले आफ्नो संस्थाको तर्फबाट उपाध्यक्षका उम्मेदवार पुष्कर नेपालको उम्मेदवारी फिर्ता गरी काजी बहादुर श्रेष्ठलाई समर्थन गरिएको बताए। उनले सहमति र सहकार्यकै माध्यमबाट परिषदलाई थप प्रभावकारी बनाउन साझा उम्मेदवारको आवश्यकता रहेको धारणा राखे।
शाहीले परिषदमा नेल्टा नेपालका ४ हजार र नेभ्ला नेपालका ६ हजार सदस्य रहेको जनाउँदै गठबन्धनको पक्षमा ७० प्रतिशत मत आउने दाबी गरे। उनले गठबन्धनका सबै उम्मेदवार विजयी हुने विश्वास व्यक्त गर्दै यो निर्वाचनले परिषदलाई नयाँ ढाँचामा अघि बढाउने आधार तयार गर्ने बताए।
कार्यक्रममा खुला सदस्यका उम्मेदवार सुमन कुँवर, खुला महिला सदस्य चिनाकुमारी लामा, र बागमती प्रदेश सदस्य ईश्वरप्रसाद घिमिरे लगायतले गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी र गठबन्धनको आवश्यकता सम्बन्धी भनाइ राखेका थिए।