दाउन्ने एग्रो फार्म लिमिटेडले १० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने
![दाउन्ने एग्रो फार्म लिमिटेडले १० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने](https://www.vettimesnepal.com/wp-content/uploads/2025/01/IMG_2686.jpeg)
काठमाडौँ। दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने घोषणा गरेको छ। कम्पनीको पहिलो वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो।
नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) को विनयीत्रिवेणी गाउँपालिका–३, सर्दीमा ११ बिघा क्षेत्रफलमा फैलिएको यस फार्ममा हाल चार लाख कुखुरापालन भइरहेको छ। निकट भविष्यमै यो संख्या छ लाख पुर्याउने लक्ष्य कम्पनीले लिएको अध्यक्ष रघुनाथ भट्टले बताएका छन्।
नेपालको पहिलो कुखुरापालन फार्मले आइपिओ जारी गर्दै
दाउन्ने एग्रो फार्मले कुखुरापालन क्षेत्रमै पहिलोपटक आइपिओ ल्याउने योजना बनाएको छ। कम्पनीका अनुसार सञ्चालक समितिको अध्यक्षमा रघुनाथ भट्ट चयन भएका छन् भने अन्य सदस्यहरूमा विनोद पोखरेल, विपिन पोखरेल, हेमराज बडाल, र हिमालय पौडेल छन्।
बढ्दो उत्पादन र भविष्यको योजना
२०७४ सालमा स्थापना भएको यस फार्मले सुरुवाती अवस्थामा एक लाख कुखुरा पालन गरेको थियो। हाल फार्ममा दैनिक ३ लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ। केही अण्डा ‘दाउन्ने ह्याप्पी एग’ ब्रान्ड अन्तर्गत १५ र ३० को दरमा क्रेट बनाएर बजारमा पठाइन्छ। उत्पादित अण्डा देशभरका प्रमुख शहरदेखि ग्रामीण क्षेत्रसम्म वितरण गरिन्छ।
अत्याधुनिक प्रविधि र गुणस्तरमा ध्यान
कम्पनीले जर्मनी र मलेसियाबाट आयात गरिएका अत्याधुनिक उपकरण प्रयोग गरेर कुखुरापालन गर्दै आएको छ। यसले उत्पादनको गुणस्तर उच्च राख्न सहयोग गरेको छ। प्रबन्ध सञ्चालक विनोद पोखरेलका अनुसार उत्पादन र बजार व्यवस्थापनको कुनै समस्या छैन। कम्पनीले आफूलाई देशकै उत्कृष्ट व्यावसायिक एग्रो फार्मको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
अनुभवी लगानीकर्ता र प्रभावकारी सञ्चालन
कम्पनीमा लामो समयदेखि पोल्ट्री क्षेत्रमा अनुभव हासिल गरेका कृषक र व्यवसायीको लगानी रहेको छ। यसले उत्पादन लागत घटाउनुका साथै गुणस्तर कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ। शेयर निष्कासनको लागि कम्पनीले सिटिजन्स क्यापिटलसँग सहकार्य गरिसकेको जानकारी दिएको छ।
दाउन्ने एग्रो फार्मले कुखुरापालन क्षेत्रलाई औद्योगिकीकरणतर्फ लैजाने उद्देश्यका साथ यो कदम चालेको बताएको छ।