निर्दयी रूपमा कुकुर मारेका दुईजना नवलपरासीमा पक्राउ

काठमाडौं।निर्दयी तरिकाले कुकुर मार्ने दुई व्यक्ति नवलपरासीबाट पक्राउ परेका छन्। उनीहरूले ५ वटा कुकुरका बच्चा र एउटा माउ कुकुरलाई क्रुर तरिकाले मार्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको कारबाहीमा परेका हुन्।

पक्राउ पर्नेमा नवलपरासी सुस्ता गाउँपालिका–५, बेलवानीका ३३ वर्षीय राजकुमार सारु मगर र २८ वर्षीय अमनकुमार चिडी मगर रहेका छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले पुष्टि गरेका छन्।

पुस १३ गते, राजकुमारले नारायणी नदी किनारको ठांडीघाटस्थित ठोक्कर क्षेत्रमा कुकुर र त्यसका बच्चा मार्दै गरेको दृश्यलाई अमनले भिडियोमा खिची आफ्नो फेसबुकमा पोष्ट गरेका थिए। यो भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि कुकुर मारेका व्यक्तिहरूविरुद्ध तत्काल कारबाहीको माग उठेको थियो।

प्रहरीका अनुसार यस्तो काम मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुर अन्तर्गतको उल्लङ्घन हो। पक्राउ परेका दुबैजनालाई सोही कसुरमा कारबाहीका लागि नियन्त्रणमा लिइएको छ।

प्रहरीले उनीहरूलाई जिल्ला अदालत परासीबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलाटारीमा थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

प्रहरीले घटनाको कडा आलोचना गर्दै पशुपन्छीको अधिकार हननजस्तो अमानवीय क्रियाकलापविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *