व्यवसायीका समस्या समाधानमा संघ प्रतिबद्ध छ: अध्यक्ष रितेश रिमाल
काठमाडौं। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ केन्द्रीय कार्यसमितिले आफ्ना व्यवसायीहरूमाझ रहेका समस्याहरूको समाधानका लागि सातै प्रदेशमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ। शनिबार सुदूरपश्चिम प्रदेशबाट प्रारम्भ गरिएको यो कार्यक्रम क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन गरिनेछ।
पुस ६ गते सुदूरपश्चिम, पुस ७ गते कर्णाली, पुस ८ गते लुम्बिनी, पुस ९ गते बागमती, पुस १० गते गण्डकी, पुस १५ गते मधेश, र पुस १४ गते कोशी प्रदेशमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश शाखाको ११औं वार्षिक साधारणसभाको अवसर पारेर आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष रितेश रिमालले बजार व्यवस्थापनका विषयमा उठेका समस्याहरू समाधानका लागि आफूले पहल गरिरहेको बताए। उनले विगतमा संघका कोषाध्यक्ष रहेका बेला बजार व्यवस्थापनका लागि समिति गठन भएको स्मरण गराउँदै अहिले केन्द्रीय अध्यक्षको भूमिकामा रहेकाले समस्याहरू समाधानका लागि थप प्रभावकारी ढंगले काम गर्न सक्ने अवसर पाएको उल्लेख गरे।
कार्यक्रममा उनले संघको बनाइएको कार्यविधि लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसले व्यवसायीहरूलाई राहत दिने विश्वास दिलाए। यद्यपि, व्यवसायीहरूको न्यून उपस्थिति प्रती उनले असन्तोष व्यक्त गरे। साधारणसभा मात्र नभई संघका छलफलमा उल्लेखनीय उपस्थिति हुनुपर्ने अपेक्षा राखे। उनले संघका समस्या पुरानै रहेको र संघले ती समाधान गर्न सक्ने क्षमता राखेको समेत बताए। संघ १२६ वटा संघहरूको महासंघमा समाहित भइसकेको उल्लेख गर्दै उनले महासंघसँगको सहकार्यकै कारण औषधि व्यवस्था विभागले सञ्चालन गरेको परीक्षा फेल भएका व्यवसायीहरूको पक्षमा उद्योग वाणिज्य महासंघमार्फत पहल गरिएको पनि जनाए।
पशुपन्छी औषधि व्यवसायीमा आयातकर्ताले आयात मात्र, थोक व्यवसायीले थोक मात्र, र खुद्रा व्यवसायीले खुद्रा मात्र गर्न पाउनुपर्ने विषयमा व्यवसायीहरूले माग गरिरहेका छन्। साथै, बिना दर्ताका औषधिहरूको अवैध आयातले व्यवसायमा चुनौती उत्पन्न गरिरहेको र अत्यावश्यक औषधिको अभाव समाधान गर्न संघले पहल गर्नुपर्ने व्यवसायीहरूले माग गरेका छन्। संघका सदस्यहरूको अद्यावधिक गर्नुपर्ने आवश्यकता पनि संघमा देखिएको छ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, महासचिव, र केन्द्रीय सदस्यलगायत संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो। यो पहलले व्यवसायीहरूको दीर्घकालीन समस्या समाधानका लागि मार्गचित्र तय गर्ने विश्वास लिइएको छ।