अविरल वर्षाले देशभर ठूलो क्षति, बाढी प्रभावित किसानलाई पशु सेवा विभागको राहत

काठमाडौं – देशभरका विभिन्न स्थानमा निरन्तर भएको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ भने पशुवस्तु र खेतीपातीमा पनि व्यापक नोक्सान भएको छ। बाढीको कारणले कृषकहरू आफ्नो सम्पत्ति गुमाएर ठूलो संकटमा परेका छन्। विशेषगरी, विभिन्न स्थानमा पशुवस्तु मरेका र बाली नष्ट भएका खबरहरू प्राप्त भइरहेका छन्।

यसै सन्दर्भमा, बाढी प्रभावित कृषकहरूको राहत र पुनर्स्थापनाका लागि पशु सेवा विभागको पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा राहत वितरण सुरु गरेको छ। पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालयबाट ललितपुरका नख्खुस्थित बाढी प्रभावित कृषकहरूलाई दाना, भिटामिन, औषधि, र अन्य आवश्यक सामग्री वितरण गरिएको छ। यस राहत कार्यक्रमले संकटग्रस्त किसानलाई राहत दिन सहयोग पुर्‍याएको छ।

पशु सेवा विभाग पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय र ललितपुर महानगरपालिका पशु सेवा शाखाको संयुक्त निरीक्षण टोलीले प्रभावित क्षेत्रमा पुगेको थियो। टोलीले बाढीबाट गम्भीर रूपमा प्रभावित भएका किसान र उनीहरूका पशुवस्तुको अवस्था अवलोकन गरी आवश्यक कदम चाल्न थालेको छ। पशु सेवा विभाग पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालयका डा. आवाश पौडेलको नेतृत्वमा गएको निरीक्षण टोलीले १७ वटा गाई, ४२ बाख्रा, ४५० कुखुरा, १७७ बंगुर र २२० वटा हासको मृत्यु भएको पुष्टि गरेको छ।

टोलीमा पशु सेवा विभागका डा. नवराज श्रेष्ठ र ललितपुर महानगरपालिकाको पशु सेवा शाखाका प्रमुख राजेन्द्र विष्टसहित सहभागी थिए।

बाढी प्रभावित कृषकहरूलाई तत्काल राहत प्रदान गर्नका लागि गरिएको यो पहललाई निकै सकारात्मक रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *