परीक्षामा व्यवसायी कुन पदमा कसको पल्लाभारी

राजन प्रसाईं

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारणसभा यही पुस २४ र २५ गते पशुपन्छीपालनको अग्रणी जिल्ला चितवनमा हुँदैछ । पशुपन्छी औषधि व्यवसायीको छाता संस्थाका रूपमा रहेको संघको महाधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक÷एक महासचिव, सचिव, कोषाध्यक्ष र ५ सदस्य चयन गर्नेछ ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै १४औं महाधिवेशन तथा ३३औं साभारणसभा संघलाई नयाँ दिशामा डोहो¥याउन कोशेढुंगा हुने बताए । व्यावसायिक संगठन भएकाले सहमतिमा संघको नयाँ कार्यसमिति चयन गर्नुपर्ने मत महाधिवेशन मिति नजिकिँदै गर्दा पूर्वअध्यक्षलगायतले राखेका छन् । तर आकांक्षीहरू पछि हट्ने मनस्थितिमा नदेखिएकाले निर्वाचन प्रक्रियाबाटै छिनोफानो हुने करिब निश्चितजस्तै देखिएको छ । अध्यक्ष सापकोटा सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरूको जोड भए पनि सम्भव नभएको खण्डमा निर्वाचन विकल्प नभएको बताउँछन् ।

अध्यक्षमा रिमाल र पाण्डे आमनेसामने
संघको सबैभन्दा शक्तिशाली कार्यकारी पद अध्यक्षमा यस पटक दुई उम्मेदवार आमनेसामने भएका छन् । पशुपन्छी औषधि व्यवसायमा लामो समयसम्म भिजेर खारिएका तथा संघको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका रितेश रिमाल र धनाकुमारी अधिकारी पाण्डे अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका हुन् । पशुपन्छी औषधि व्यवसायीको हकहितमा विगत वर्षदेखि पु¥याउँदै आएको योगदान र समर्पण स्मरण गराउँदै दुवै उम्मेदवार यतिबेला आफूलाई जिताउन व्यवसायीसमक्ष पुगिरहेका छन् । देशभर आफ्नो पक्षमा माहोल देखिएकाले जित सुनिश्चित भएको समान दाबी रिमाल र पाण्डेको छ । चुनावी मैदानमा उत्रिएका उम्मेदवारले जित सुनिश्चित भएको जिकिर गर्नु स्वाभाविक भए पनि यी दुवै उम्मेदवारका आ–आफ्ना सबल र दुर्बल पाटा रहेको व्यवसायी बताउँछन् ।

काठमाडौंकेन्द्रित व्यवसाय गर्दै आएका पाथीभरा भेट डिस्ट्रिब्युटर्सका सञ्चालक रिमालको यो क्षेत्रसँगको आबद्धता दुई दशक लामो छ । बजार प्रतिनिधिका रूपमा यो क्षेत्रमा प्रवेश गरेका रिमाल पछिल्लो १५ वर्षदेखि आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । पशुपन्छी औषधि व्यवसायमा तीन तह छन्, आयात, थोक र खुद्रा । रिमाल दोस्रो लेयर थोकसँग सम्बन्धित व्यवसायी हुन् । पशुपन्छी औषधि व्यवसायी संघको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका रिमाल वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष हुन् ।
संघको उच्च पद अध्यक्षमा जित निकालेर उनी यो यात्रालाई बिट मार्ने दाउमा छन् । उनको यो योजनामा संघका केही पूर्वपदाधिकारी र व्यवसायीले साथ दिइरहेको व्यवसायीमाझ चर्चा छ । व्यवसायीमाझ चलेको चर्चाअनुसार पूर्वअध्यक्ष रेवतीरमण निरौला, प्रजापति बास्तोला, चित्रबहादुर गुरुङलगायतका पूर्वपदाधिकारी उनको दाहिना छन् । आफ्नो पक्षमा माहोल बनाउन दौडधूपमा रहेका रिमालले वर्तमान उपाध्यक्षसमेत रहेका व्यवसायी लक्ष्मण घिमिरेलाई सोही पदमा उम्मेदवार बनाउने तयारी गरेका छन् । आफ्नो प्यानल मिलाउन रिमालले दोहो¥याएर घिमिरेलाई अघि सार्ने रणनीति बनाएको पशुपन्छी औषधि व्यवसायीमाझ चर्चा छ ।

उता धनाकुममारी अधिकारी पाण्डे संघको पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने ध्याउन्नमा छिन् । पूर्वअध्यक्षहरू नवराज शर्मा तिमिल्सेना, कम्पोज बडाललगायत व्यवसायीको साथ छ । यी दुवै पूर्वअध्यक्षले खुलेर धनालाई आफ्नो उम्मेदवारका रूपमा प्रचार गरिरहेका छन् । धनालाई संघको अध्यक्ष बनाउन अर्का पूर्वअध्यक्ष भरतबहादुर पाण्डे तनमनका साथ सक्रिय बनेका छन् । पाण्डे धनाकी श्रीमान् हुन् । उता, व्यवसायी यज्ञराज ढकाल ‘भाउजूलाई विजय गराउने’ भन्दै खुलेरै धनाको लबिङमा लागेका छन् ।

उपाध्यक्षमा हुँदैछ रोचक प्रतिस्पर्धा
आयात, थोक र खुद्रातर्फको तीन उपाध्यक्षमा पनि निर्वाचन हुँदैछ । यी पदमा विभिन्न व्यवसायीले आकांक्षा मात्र देखाएका छैनन्, पक्षमा माहोल बनाउन चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।
थोकतर्फको उपाध्यक्षमा काभ्रेकेन्द्रित व्यवसायी विकास शर्मा तिमिल्सिना एकनारायण पौडेल र कविराज भट्ट प्रतिस्पर्धामा उत्रिएका छन् । पौडेल दाङ र भट्ट कैलालीका व्यवसायी हुन् ।

त्यसैगरी, थोकतर्फकै उपाध्यक्षमा वर्तमान महासचिव नारायणबहादुर भुजेलले पनि आकांक्षा देखाएका छन् ।जानकारहरूका अनुसार, उपाध्यक्षमा परिस्थिति अनुकूल नभएको खण्डमा अध्यक्षमा प्रतिष्पर्धा गर्ने वा महासचिवमै पुनः एक कार्यकाल दोहोरिने भित्री चाहना भुजेलले पालेका छन् । महासचिवमा भुजेलले निरन्तरता दिन चाहेको खण्डमा हुमाकान्त काफ्लेलाई उपाध्यक्षमा सेटल गर्ने डिजाइन पनि भित्रभित्रै बनिरहेको छ । व्यावसायी एकनारायण पौडेल ऋषि बडाल र कविराज भट्ट नवराज तिमिल्सिना निकट मानिन्छन् । उता विकास भने तिमिल्सिनाका सहोदर भतिजा हुन् । भतिजालाई उम्मेदवार बनाउन तिमिल्सिनाले आफूनिकटका भट्टलाई उम्मेदवारी फिर्ता गर्न लगाउने र पौडेललाई बडालमार्फत फिर्ता गर्न लगाउने अर्को गुप्त गेम प्लान पनि पशुपन्छी औषधि व्यवसायका दुई हस्तीबीच बन्द कोठामा चल्दैछ । अध्यक्षमा दुई ध्रुवमा विभक्त बडाल र तिमिल्सिना उपाध्यक्षमा कसरी एउटै कित्तामा उभिन आइपुगे ? व्यवसायी चुरो नबुझेर रनभुल्लमा परेका छन् । श्रीमती र भतिजलाई जिताउन बडाल र तिमिल्सिनाले भद्र सहमति गरेको र त्यहीअनुसार गोटी चालेको अर्को चर्चा पनि व्यवसायीबीच छ ।

आयाततर्फको उपाध्यक्षमा हालसम्म सुना सुवेदी बडाल र दिनेश कट्टेलको उम्मेदवारी परेको छ । सुना पूर्वअध्यक्ष ऋषिकी पत्नी हुन् । श्रीमतीको उम्मेदवारीलाई ऋषिले प्रतिष्ठाको विषय बनाएर लबिङ थाल्नु र सुना आफैं लामो समयदेखि यो क्षेत्रमा सक्रिय हुनुलाई उनको प्लस प्वाइन्टका रूपमा हेरिएको छ । भेट टाइम्ससँगको कुराकानीमा सुनाले दिनेश आफ्नो देबर भएकाले अन्त्यमा उम्मेदवारी फिर्ता लिएर सहयोग गर्ने विश्वास व्यक्त गरिन् । तर दिनेश भने सुनाले दाबी गरेजस्तो उम्मेदवारी फिर्ता लिने पक्षमा छैनन् । भेट टाइम्ससँगको यसै अंकको कुराकानीमा उनले आफ्नो पक्षमा माहोल बनेकाले उम्मेदवारी फिर्ता नलिने बताए । ‘मेरो पक्षमा माहोल छ । उम्मेदवारी फिर्ता लिन्नँ,’ उनले भने ।

पशुपन्छी औषधि व्यवसायको तेस्रो लेयर खुद्रातर्फको उपाध्यक्षमा तीन जनाले उम्मेदवारी घोषणा गर्दै जिताउन लबिङ थालेका छन् । खुद्रातर्फको उपाध्यक्षमा उम्मेदवारी दर्ज गर्नेमा लक्ष्मण घिमिरे, अर्जुन नेपाल र अबोधराज दवाडी छन् । घिमिरे संघको उपाध्यक्षमा दोहोरिएर प्रतिस्पर्धामा उत्रिएका हुन् भने नेपाल र अबोधराज यो पदका लागि नयाँ अनुहार हुन् । यी तीन प्रतिस्पर्धीमा घिमिरे बलियो भए पनि आयोजक शाखालाई उपाध्यक्ष दिने भद्र सहमति बनेको खण्डमा अबोधराज लाई छाडेर उनी ब्याक हुनसक्ने आकलन गरिएको छ ।

महासचिवमा ढकाल र काफ्ले भिड्दै
महासचिवमा सादुराम ढकाल (आशिष) र हुमाकान्त काफ्ले आमनेसामने भएका छन् । संघको अध्यक्षपछिको शक्तिशाली यो पदमा दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । ढकाललाई पूर्वअध्यक्ष रेवतीरमण निरौला, प्रजापति बास्तोला र व्यवसायी नरेश कर्माचार्यको साथ छ । काफ्लेलाई भने ऋषि बडाल र बुटवलकेन्द्रित व्यवसायीको साथ छ । संघको चुनावमा गेमचेञ्जर बन्ने जमर्कोमा देखिएका बडाल बुटवलको भोट आफ्नो श्रीमतीको पक्षमा पार्न खुलेरै हुमाकान्त काफ्लेको पक्षमा उभिएको चर्चा छ ।

सहयोगको आग्रह गर्दै आइपुगेका ढकाललाई बडालले महासचिव पद छाडेर अन्य जुनसुकै पदमा लडे पनि आफ्नो साथ रहने आश्वासन दिएको बताइन्छ । बागमती शाखा पूर्वअध्यक्षसमेत रहेका ढकाल चुनावमा साथ माग्दै नवराज शर्मा, कम्पोज बडाल र यज्ञराज ढकालसमक्ष पनि पुगेका थिए । नवराज र कम्पोजले भित्री रूपमा साथ रहने वचन दिए पनि ढकालले यस पटक महासचिवमा हुमाकान्तलाई नै साथ दिने निधो सुनाएर बिदा गरेका थिए । काठमाडौंकेन्द्रित व्यवसायीलाई परेको बेला दिलोज्यान दिएर साथ दिएकाले आफ्नो मूल्यांकन यो महाधिवेशनमा हुने सादुरामको विशवास छ ।

सचिवमा शर्मा पक्का
सचिवमा केशव शर्माको मात्र उम्मेदवारी परेको छ । व्यवसायीमाझ भिजेका, समदूरीको सम्बन्ध राख्दै आएका शर्मासँग प्रतिस्पर्धा गर्न अन्तिममा कसैले साहस गरिहाले पनि उनी भारी मतले विजयी हुने व्यवसायीहरूको हिसाब छ ।

कोषाध्यक्षमा थापा बलियो
कोषाध्यक्षमा हालसम्म राजेन्द्र थापा मगर र कृष्णप्रसाद लम्सालले रुचि देखाएका छन् । थापा र लम्साल दुवै संघको वर्तमान कार्यसमितिका सदस्य हुन् । लुम्बिनी विकास कोषका पूर्वसदस्य–सचिवसमेत भइसकेका थापालाई पशुपन्छी औषधि क्षेत्रमा अध्ययनशील, अनुभवी र धैर्यवान् व्यवसायीका रूपमा चिनिन्छ । थापाका प्रतिस्पर्धी लम्साल भने पूर्वअध्यक्ष ऋषि बडालका व्यावसायिक साझेदार हुन् । यो पदमा सकेसम्म निर्विरोध हुने सम्भावना छ । कदाचित निर्वाचन भइहालेको खण्डमा थापाको पल्लाभारी हुने आकलन गरिएको छ ।

संघको केन्द्रीय समितिको प्रस्थानबिन्दु मानिने केन्द्रीय सदस्यमा हालसम्म रत्नकुमार बडाल र शंकर सुवेदीको मात्र उम्मेदवारी परेको छ । व्यवसायीबीच लोकप्रिय रहेकाले यी दुवै निर्वाचित हुने करिब निश्चितजस्तै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *