पदबहाली गर्दै महानिर्देशक दाहालले भने– टिमवर्कमा विश्वास गर्छु, मलाई सहयोग गर्नुस्

काठमाडौं । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले सबैको अनुभव लिएर टिकवर्कका आधारमा आफू अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । सोमबार विभागमा आयोजित पदबहाली कार्यक्रममा डा. दाहालले आफ्ना अनुभव सेयर (साझा) गर्न आफूमातहतका कर्मचारीहरूलाई आग्रह गरे ।

‘मेरो जागिर यही (पशु सेवा विभाग) बाट सुरु भएको हो । जागिर दौरान विभिन्न ठाउँमा पुगेको छु । केही अनुभव पनि छन् । तपाईंहरूसँग पनि अनुभव छन् । सबैको अनुभव लिएर सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाउँछु,’ डा. दाहालले भने ।

पशु सेवा विभागसँग पहिलेको जस्तो विशाल संरचना नभए पनि तनाव सिर्जना भएको स्मरण गर्दै उनले टिम वर्कमा काम गरेर अवस्था सुधार्ने प्रतिबद्धता जनाए ।

‘पशु सेवा विभागको संरचना पहिलजस्तो विशाल छैन । ३६ वटा कार्यालय मात्र छन् । यही पनि व्यवस्थित नभएर तनाव भएको अवस्था छ । यसलाई व्यवस्थित गर्ने प्रयास हुनेछ ,’ उनले भने ।

शून्य बजेटले पशु सेवा विभागअन्तर्गतका कार्यालयमा समस्या उत्पन्न भएकाले त्यसलाई समाधान गर्न आफ्नोतर्फबाट गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता उनले जनाए ।

बजेटमा अप्रत्यासित कुरा आएकाले पशु सेवा विभागको उपयुक्त संरचना निर्माणमा सामूहिक रूपमा अघि बढ्ने उनले कर्मचारीबीच बाचा गरे । मंसिरमा सक्ने गरी अघि बढेको उक्त कार्यका लागि सबैबाट सरसहयोगको अपेक्षा पनि उनले गरे ।

भेटेरिनरी सेवा कस्तो हुनुपर्छ भन्ने विषयमा बहसमा रहेको उल्लेख गर्दै उनले यसबारे टिममा रहेर छलफल गर्ने र सोही आधारमा विभागले भूमिका खेल्ने विश्वास दिलाए ।

लम्पी स्किनले किसान आक्रान्त भएकाले आगामी वर्ष यस्तो अवस्था आउन नदिन योजनाबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता उनको छ । त्यसका लागि मास भ्याक्सिन उपयुक्त विकल्प हुने उनको बुझाइ छ ।

‘ठूला किसान पनि लम्पी स्किनबाट पीडित हुनुहुन्छ तर साना किसान सबैभन्दा बढी आक्रान्त भएको पाइएको छ । गोरु मर्दा रोपाइँ हल्टा भएका उदाहरण छन् । अब त्यस्तो स्थिति आउन नदिन विभागले आफ्नो तर्फबाट प्रयास गर्नेछ,’ दाहालले प्रतिबद्धता जनाए ।

अफ्रिकन स्वाइन फिभरले बंगुरपालन ध्वस्त हुन पुगेको स्मरण गर्दै उनले यो व्यवसायलाई उकास्न पुनस्र्थापना कार्यक्रम आवश्यक भएको बताए । यसका लागि विभागले प्राविधिकलगायत सहयोग गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *