एनभिए अध्यक्षमा डा. खतिवडा र उपाध्यक्षमा डा. भट्टराई विजयी
काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को अध्यक्षमा डा. रामकृष्ण खतिवडा विजयी बनेका छन् । आफ्ना प्रतिस्पर्धी डा.कृष्ण काफ्लेलाई पाखा लगाउँदै खतिवडा आगामी कार्यकालका लागि विजयी बनेका हुन् ।
डा. खतिवडा ३८० मतका साथ जित दर्ता गराउँदा डा. काफ्ले २६५ मतमा सीमित भए ।
एनभिएको नेतृत्वमा खतिवडाको यो दोस्रो इन्ट्री हो । यसअघि पनि उनले एक कार्यकाल पशु चिकित्सकहरूको छाता संगठन एनभिएको नेतृत्व गरेका थिए ।
वर्तमान अध्यक्ष डा. शीतलकाजी श्रेष्ठको स्थान लिँदै खतिवडाले आगामी २ वर्ष एनभिएको नेतृत्व गर्नेछन् ।
देशभर रहेका पशु चिकित्सकलाई संगठित गरी समग्र पशुपन्छी क्षेत्रको हक हितमा आफूलाई खरो उतार्नु उनको चुनौती हुनेछ ।
उपाध्यक्षमा डा. अशेष भट्टराईको पल्लाभारी भयो । आफूसँग प्रतिस्पर्धामा रहेका डा. अर्जुन अर्याललाई पछि पार्दै उनी विजयी भएका हुन् । उनीहरूको मत क्रमशः ३४५ ,२९७ छ ।
संगठनको अध्यक्षपछिको अर्को शक्तिशाली पद महासचिवमा डा. केदार सुवेदी विजयी भए । डा. सुवेदीले ४९० मतका साथ जित निकाल्दा डा. योगेन्द्रराज पन्तले मात्रै १४८ मत ल्याए ।
सचिवमा डा. हरि पन्तलाई परास्त गर्दै डा. शंकर न्यौपाने विजयी भए । डा. न्यौपानेले ३७६ मत पाउँदा पन्तले २६९ पाए ।
कोषाध्यक्षमा डा. शीकेष मानन्धरले डा. उमेश मण्डललाई पछि पार्दै जित सुनिश्चित गरे । निर्वाचन समितिका अनुसार, मानन्धरको मत ३४९ र मण्डलको मत २७४ छ ।
प्रधान सम्पादकमा यसअघि नै डा. नारायण पौडेल निर्विरोध निर्वाचित भइसकेका छन् ।
६ सदस्यका लागि भएको निर्वाचनमा डा.नवीन पन्थी, डा. सुमित शर्मा, डा. सत्रुघन शाह, डा.मलिशा श्रेष्ठ,डा.निकेष खनाल,डा.लोकेन्द्र न्यौपाने विजयी भए ।
प्रतिक्रिया