आज विश्व भेटेरिनरी दिवस, कुन संस्थाले कसरी मनाउँदैछन् ?

काठमाडौं । विश्व भेटेरिनरी दिवस शनिबार मनाइँदैछ । द वर्ल्ड भेटेरिनरी एसोसिएसनले अप्रिल २९ लाई सन् २००० देखि लगातार विश्व भेटेरिनरी दिवसका रूपमा मनाउँदै आइरहेको छ ।
यस वर्ष ‘प्रमोटिङ डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुसिभनेस इन द भेटेरिनरी प्रोफेसन’ मूल थिम रहेको दिवस विश्वभर नै विविध कार्यक्रमका साथ मनाइँदै छ । दिवसका अवसरमा नेपालमा पनि पशुपन्छीसँग सम्बन्धित संघ–संस्थाहरूले विविध कार्यक्रम आयोजना गरेका छन् ।
पशु चिकित्सकहरूको छाता संगठन नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) मातहतका शाखाहरूले दिवसका अवसरमा विविध कार्यक्रम गर्दै छन् । एनभिए वागमतीले  नेपाल पशु चिकित्सा परिषद्, वागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भरतपुर महानगरपालिकाको सहयोगमा बिहान र्याली र त्यसपछि प्यानल डिस्कसन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
एनभिए वागमतीका अनुसार, भेटेनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, भरतपुरबाट शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म र्याली आयोजना गरिएको छ ।
र्यालीपछि शनिबार नै धावन रिक्रियसन एण्ड पार्टी प्यालेस, भरतपुरमा प्यानल डिस्कसन कार्यक्रम आयोजना गरिएको छ । एनभिएका अनुसार कार्यक्रमको पहिलो सत्रमा वर्ष २०८० को नयाँ पात्रो सार्वजनिक र दोस्रो सत्रमा टेक्निकल सेसन सुरु हुनेछ ।
एनभिएका उपाध्यक्षसमेत रहेका प्रोफेसर डा. कृष्ण काफ्लेको मध्यस्तामा सञ्चालन हुने कार्यक्रममा पशु सेवा विभागकी महानिर्देशक डा. सम्झना कुमारी काफ्ले, एएफयूकी रजिस्ट्रार प्रोफेसर डा. शारदा थपलिया, एनभिसीका उपाध्यक्ष डा. सुविर सिंह र पोल्ट्री कन्सल्ट्यान्ट डा. दिनेश गौतमलाई प्यानलिस्टका रूपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।
एनभिएकै लुम्बिनी प्रदेश शाखाले आइएएएस पक्लिहवा क्याम्पसको सहकार्यमा शनिबार बिहान ७ बजे बुटवलमा प्रभातफेरिी तथा सडक नाटक कार्यक्रम आयोजना गरेको छ । शाखाका सचिव डा. भरत काफ्लेका अनुसार, सोही दिन दमकडा पाल्पामा एकदिने पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
नेपाल भेटेरिनरी एसोसिएसन, मधेस प्रदेशले पनि दिवसका अवसरमा एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर आयोजना गरेको छ । शाखाका अध्यक्ष डा. विनोदकुमार यादवले शनिबार बिहान १० बजेदेखि लक्ष्मीनिया गाउँपालिका ३, बनिगामा शिविर आयोजना गरिएको जानकारी दिए ।
नेभ्लाले पनि दिवसका अवसरमा देशव्यापी कार्यक्रम आयोजना गरेको छ । नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताले विश्व भेटेरिनरी दिवसका अवसरमा शनिबार र्याली, अन्तरक्रिया, शिविरलगायत कार्यक्रम गर्ने तय भएको जानकारी दिए ।
पशु प्राविधिकहरूकु अर्को संगठन नेल्टाले पनि विविध कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *