कुखुराजन्य वस्तुको तस्करी रोक्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले भारतीय सीमा नाकाबाट भइरहेको कुखुराजन्य वस्तुको तस्करी रोक्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले बिहीबार प्रहरी प्रधान कार्यालय, नक्साल र सशस्त्र प्रहरी बल, प्रधान कार्यालयलाई एक पत्र लेख्दै सीमा नाकाबाट हुने कुखुराजन्य वस्तुको अवैध ओसारपसार नियन्त्रण गर्न निर्देशन दिएको हो ।
यही फागुन २ गते नेपाल ह्याचरी उद्योग संघले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भारतीय सीमा नाकाबाट चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरूको अवैध आयात तथा ओसारपसार भइरहेको र त्यसले आफूहरू मर्कामा परेको अवगत गराएका थिए । संघले सोही व्यहोराको पत्रसमेत गृह मन्त्रालयमा दर्ता गरेका थिए । व्यवसायीबाट मौखिक तथा लिखित रूपमा गुनासो प्राप्त भएपछि प्रधानमन्त्रीको निर्देशनमा गृहले सुरक्षा निकायलाई कडाइ गर्न निर्देशन दिएको हो ।
‘भारतीय सीमा नाकाहरूबाट हुने चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरूको अवैध आयात तथा ओसारपसार कडाइका साथ नियन्त्रण गर्न तहाँ मातहतका कार्यालय एवं एकाइहरूलाई स्पष्ट निर्देशन हुन आदेशानुसार अनुरोध छ,’ गृहका शाखा अधिकृत विष्णुहरि तिमिल्सेनाले सुरक्षा निकायलाई प्रेषित गरेको पत्रमा भनिएको छ ।
गृहको पत्र नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्राप्त गरेपछि अब सीमा नाकामा भइरहेका तस्करी रोक्न मातहतका निकायलाई निर्देशन दिनेछन् ।
सरकारले पोल्ट्रीमा देशलाई आत्मनिर्भर घोषणा गर्दै कुखुराजन्य वस्तुको आयातमा रोक लगाएको छ । तर खुला सीमाका कारण नाकाबाट अवैध ढंगले चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरूको अवैध आयात तथा ओसारपसार हुँदै आएको छ । भारतमा उत्पादित यस्ता कुखुराजन्य वस्तु सस्तो मूल्यमा नेपाली बजारमा भित्रिँदा नेपाली किसान तथा व्यवसायी लामो समयदेखि मर्कामा पर्दै आएका छन् ।
हेर्नूहोस पत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *