राइट टू प्रोटिन रन सम्पन्न: क–कसले जिते उपाधि ?
पोल्ट्री क्षेत्रको प्रशंसा गर्दै प्रचण्डले भने– पोषणमा आमनागरिकको पहुँच पुगेन
काठमाडौं ।राइट टू प्रोटिन रन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा शनिबार प्रतियोगिताको दोस्रो संस्करण पूरा भएको हो । दशरथ रंगशालाबाट शनिबार बिहान ७ बजे सुरु दौड प्रतियोगिताका विभिन्न विधाका विजयीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कृत गरे ।
हाफ म्याराथान पुरुषतर्फ दीपक अधिकारी र महिलातर्फ फूलमती राना प्रथम भए । विभागीय टोली त्रिभुवन आर्मी क्लबका अधिकारीले निर्धारित दूरी १ घण्टा ५ मिनेट ८ सेकेण्ड र एएफपीकी रानाले १ घण्टा २२ मिनेट १२ सेकेण्डमा पूरा गरे । प्रथम स्थान हासिल गर्ने दुवै खेलाडीलाई प्रधानमन्त्री दाहालले १÷१ लाख रूपैयाँले पुरस्कृत गरेका छन् ।
पुरुषतर्फ राजन रोकायाले दोस्रो, नरेन्द्र सिंह रावलले तेस्रो, तीर्थ पुनले चौथो र सुशीलकुमार शाहीले पाँचौं स्थान हासिल गरे ।
हाफ म्याराथानकै महिलातर्फ राममाया बुढा दोस्रो भइन् भने पूर्णलक्ष्मी न्यौपाने तेस्रो रहिन् । एनभिएका अनुसार, कल्पना खड्काले चौथो स्थान सुरक्षित गर्दा अञ्जु खड्का पाँचौंमा सीमित भइन् ।
१० किमी पुरुष दौडमा भने आर्मीको एकछत्र राज रह्यो । मुकेश पालले निर्धारित दूरी ३० मिनेट ५६.०१ सकेण्डमा पार गरेर प्रथम स्थान हत्याउँदा गजेन्द्र राई दोस्रो, सुवास कार्की तेस्रो, विकास राई चौथो र मोहन देव जोशी पाँचौं भए ।
महिला ५ किमी खुल्ला प्रतिस्पर्धामा गीता विक, निर्मला केसी,सीमा चौधरी , विर्सना कुमारी र आशा रावत क्रमशः प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ भए ।
५ किलोमिटर पुरुष स्कुलतर्फ सञ्जीव नेपाली उत्कृष्ट हुँदा श्याम मग्राती दोस्रो, हिमराज गुरुङ तेस्रो, विकेश घिमिरे चौथो र बादल कार्की पाँचौं भए ।
३ किलोमिटर महिला स्कुलतर्फको प्रतिस्पर्धामा कल्पना बुढा पहिलो र हिमाली शाही दोस्रो बने । सोही प्रतियोगिताको तृतीय, चौथो र पाँचौंमा क्रमशः दीपशिखा शाही, लक्ष्मी साउद, अमिसा राईले स्थान बनाए ।
पुरुष ह्विल चियर पुरुषतर्फ प्रेमबहादुर विकले पहिलो स्थान हासिल गर्दा रामकाजी मिजार दोस्रो, सोमनाथ राई तेस्रो, दीपक श्रेष्ठ चौथो र अर्जुन दोङ पाँचौ भए ।
महिला ह्विल चियरमा रजनी राई, यामी झाँक्री मगर, जोनिसा कठायत, प्रेमा गुरुङ र निर्मला भण्डारी क्रमशः प्रचथ, द्वितीय, तृतीय, चौथो र पाँचौ भए ।
आयोजकका अनुसार, प्रतियोगिताका सबै विधामा गरी कुल ५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए । शीर्ष पाँच स्थानमा पर्ने धावकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले नगद पुरस्कारसहित शिल्ड प्रदान गरे ।
कार्यक्रममा मन्तव्य राख्दै दाहालले आम नागरिकको पोषणमा अझै पहुँच नपुगेको बताए । यसका लागि गरिबीको दर घटाउने पर्ने उल्लेख गर्दै उनले यी काममा सरकार गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता जनाए ।
आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक नीतिगत र व्यावहारिक निर्णय गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
गर्भवती महिला र नवजात शिशुहरूलाई लक्षित गरी स्वास्थ्य प्रवद्र्धनका विभिन्न कार्यक्रम ल्याइएको उल्लेख गर्दै उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत र व्यावहारिक निर्णय गर्छौं ।’
प्रतिक्रिया