कच्चा पदार्थका कारण गुणस्तरीय दाना उत्पादन गर्न सकिएन

काठमाडौं । नेपाल कुखुराको मासुमा आत्मनिर्भर भएको छ । पोल्ट्री क्षेत्र जबरजस्त उद्योगको रूपमा उदाय पनि जति व्यवस्थित हुनुपर्ने हो त्यो भएको छैन ।
कुखुराको मुख्य आहार दानाको गुणस्तरमा सबैभन्दा ठूलो प्रश्न उठ्ने गरेको छ । देशभर १०० को हाराहारीमा दाना उद्योग सञ्चालनमा रहेकोमा ६०–७० उद्योगको उत्पादन गुणस्तरहीन प्रमाणित हुनु चानचुने चिन्ताको विषय होइन ।
अझै उदेकको कुरा त के छ भने दाना उद्योगीहरूको छाता संगठन नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीलगायत जिम्मेवार पदाधिकारीको उद्योगले उत्पादन गरेको दाना नै सरकारी प्रयोगशालाबाट गुणस्तरहीन प्रमाणित भएर कानुनी कारवाहीको लागी अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर भएका छन् ।
नेपाल दाना उद्योग संघका अध्यक्ष पुरी स्वयं पनि नेपाली दाना उद्योगले उत्पादन गरेको दानाको गुणस्तरमा समस्या रहेको स्वीकार गर्छन् । तर उनी यो उद्योगीको नियतले भन्दा कच्चा पदार्थको कारणले भएको दाबी गर्छन् । ‘नेपालमा उत्पादित मकैले नेपाली दाना उद्योगलाई पुग्दैन । त्यसैले भारतलगायत मुलुकबाट ल्याउनुपर्ने बाध्यता छ । तर यसरी ल्याइएको मकै लोड गर्दा सही सलामत भए पनि यहाँ ल्याइपु¥याउँदा बाफिएर बिग्रिसकेका हुन्छन् ।
जसलाई दाना उद्योगले कच्चा पदार्थका रूपमा प्रयोग गर्दा दाना गुणस्तरहीन उत्पादन हुन पुग्छन् ।’ भण्डारणलगायत समस्याले नेपालमा उत्पादित मकैको गुणस्तर पनि भारतबाट ल्याएको जस्तै हुने पुरी बताउँछन् । नेपालका दाना उद्योगका उत्पादनको गुणस्तर दयनीय बन्दै जानुको कारणबारे संघका अध्यक्ष पुरीसँग भेट टाइम्स म्यागजिनले गरेको सवाल :
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दर्जन बढी र पशु सेवा विभागअन्तर्गतको प्रयोगशालाले ३७९ प्रकारका दाना गुणस्तरहीन भएको दूषित भनेर रिपोर्ट सार्वजनिक गरेको छ । खाद्यले त जिल्ला प्रशासन र अदालतमा मुद्दा नै दायर गरेको छ । यसमध्ये केहीलाई दोषी ठहर गरेर कारबाही गर्न फैसला गरेको छ । नेपाली दाना उद्योगको गुणस्तर खस्किँदै गएकोबारे जानकारी छ कि छैन ?
यसबारे मलाई जानकारी छ । तर यसमा प्रयोग भएको ‘गुणस्तरहीन’ र ‘दूषित’ शब्दप्रति मेरो गुनासो छ । यसबारे असहमति दर्ज गरेपछि यो संशोधन पनि भयो । दानाको गुणस्तर परीक्षण गर्ने प्यारामिटर २–४ वटा मात्र नभएर १७–१८ वटा हुन्छन् । यसमा एउटा प्यारामिटर खस्किनेबित्तिकै दाना गुणस्तरहीन भयो भनिन्छ ।
सरकारले दानाको गुणस्तर परीक्षण गर्न जानेन भन्ने तपाईंको आशय हो ?
दाना बनाउन मकै, भट्मासलगायतका कच्चा पदार्थ आवश्यक पर्छ । यसमध्ये मकैको नै कुरा गरौं । यसमा हामी आत्मनिर्भर हुन सकेका छैनौं । देशभित्र पर्याप्त उत्पादन नभएकाले हामीले दाना बनाउन मकै आयात गर्नुपर्ने बाध्यता छ । स्वदेशमा वर्षायाममा मकै उत्पादन हुने भएकाले राम्रोसँग सुकाएर बिक्री गर्ने वातावरण हुँदैन । यसरी ल्याइएका मकै हालेर बनाइएका दाना परीक्षण गर्दा स्वाभाविक रूपमा मोइस्चर बढी हुन्छ र परीक्षण गर्दा गुणस्तर मापदण्ड पूरा भएको हुँदैन । ६–७ महिनाअघि गरिएको परीक्षणमा समस्या देखिएको भए पनि अहिले सुधार भइसकेको छ ।
कारण जे भए पनि तपाईंहरूले गुणस्तरहीन दाना उत्पादन गरेर किसानलाई बिक्री गरेको त सत्य रहेछ नि होइन ?
अघि नै भनेँ नि दाना उत्पादनका लागि हामीले देशभित्र गुणस्तरीय कच्चा पदार्थ पाउँदैनौं । भारतलगायत मुलुकबाट ल्याउनुपर्ने बाध्यता छ । यसरी ल्याइएका कच्चा पदार्थको गुणस्तर नाकामा परीक्षण गर्ने सक्षमता पनि हामीसँग छैन । मकैको नै कुरा गरौं । भारतबाट लोड गर्दा सबै ठीकठाक हुन्छ । तर लामो समय गाडीमा राखेर ल्याउनुपर्दा तातेर बाटोमा गुम्सिने, बिग्रिने हुन्छ । तथापि हामी त्यसलाई फर्काउन सक्दैनौं । किसानद्वारा उत्पादित अनाज राम्रोसँग भण्डारण गर्ने ज्ञान किसानलाई नबाँड्दा गुणस्तर खस्किरहेका छन् ।
यो त एउटा कारण भयो । यसैलाई लिएर गुणस्तरहीन दाना किसानलाई बिक्री गर्नु न्यायोचित हुन्छ ?
गुणस्तरीय दाना उत्पादन गर्न नसक्नुको कारण मैले तपाईंलाई सेयर गरेको हुँ । यसको मतलब गुणस्तरहीन दाना बिक्री गर्नु जायज हो भन्न खोजेको होइन । मात्र हाम्रो बाध्यता र परीक्षणको विधिबारे बताउन खोजेको हुँ । हाम्रो चाहना दाना उद्योगले गुणस्तरहीन दाना उत्पादन गरुन् भन्ने कदाचित होइन । कच्चा पदार्थले दानाको गुणस्तरमा समस्या आएकाले अनुगमन तथा निगरानीमार्फत गुणस्तरीय दाना प्राप्त गर्ने वातावरण बनाइयोस् भन्ने हाम्रो चाहना हो । गुणस्तरमा सम्झौता गर्नुपर्छ भन्ने पक्षमा म छैन । जसले गुणस्तरहीन दाना उत्पादन गरेको पुष्टि हुन्छ, उसलाई कारबाहीको दायरामा ल्याउनै पर्छ । म तपाईंलाई अझै प्रष्ट पार्न चाहन्छु कि हामी गुणस्तरहीन दाना उत्पादन गर्ने उद्योगीको पक्षमा छैनौं ।
तपाईं आफैं आबद्ध सिद्धार्थ पेलेट फिड, हेटौंडाको दुई किसिमका दाना दूषित पुष्टि भएका छन् । कारबाही त तपाईंमाथि नै पो गर्नुपर्ने रहेछ नि ?
मेरो उत्पादन गुणस्तरहीन पुष्टि भयो भने कारबाही हुनुपर्छ । यदि मेरो उद्योगको उत्पादन कमसल छ भने यो वा त्यो बहानामा छुट पाउनु हुँदैन । ११८ दाना उद्योगमध्ये १८ वटा कोरोनाभाइरस महामारीलगायतले बन्द भइसकेका छन् । सञ्चालनमा रहेका १०० दाना उद्योगमा ५०–७० कै हाराहारीमा दाना गुणस्तरहीन पुष्टि भई कारबाहीमा परेका छन् ।
अन्य खाद्य पदार्थमा २–४ वटा प्यारामिटर हुन्छन् भने हाम्रोमा १८ देखि २२ सम्म हुन्छन् । कच्चा पदार्थ पनि गुणस्तरीय हुँदैनन् । परीक्षण गर्ने तरिका नमिल्दा अर्थात् धेरै मापदण्ड पालना गर्नुपर्ने थिति बसालिँदा गुणस्तर मिट नगरेजस्तो देखिएको छ । कच्चा पदार्थका कारण पनि समस्या आइरहेको छ । यसमा हामी कारबाहीको भागिदार हुन्छौं । सरकारले नियम कानूनअनुसार कारबाही गरिरहेको पनि छ ।
कार्यसमितिका तपाईंसँगै उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको उद्योगबाट उत्पादित दाना नै गुणस्तरहीन हुनु लज्जास्पद भयो भनेर चर्चा परिचर्चा भइरहेका छन् नि ?
नेपालमा हाल १०० दाना उद्योग सञ्चालनमा छन् । यसमध्ये ७०–८० उद्योग मापदण्ड पालना नगरेको भन्दै कारबाहीमा परेका छन् । त्यसैले संघका पदाधिकारीको उद्योगले गुणस्तरीय दाना उत्पादन गर्दा मात्रै लज्जास्पद भन्ने हुँदैन ।
विदेश र स्वदेशमा उत्पादित कच्चा पदार्थ गुणस्तरहीन हुँदा दानाको गुणस्तर खस्कियो रे । एन्टिबायोटिक्सचाहिँ दानामा नहालिदिए हुँदैन ?
सन् २०१६ देखि एन्टिबायोटिक्स नै बन्द छ । अब ल्याउनै पाइँदैन भने मिसावटको कुरा कहाँबाट आयो ।
तर सरकारी परीक्षण र अनुगमनले त कुखुराको दानामा एन्टिबायोटिक्सको मिश्रण रहेको औंल्याइरहेको छ नि त ?
सन् २०१६ देखि दाना उद्योगीलाई एन्टिबायोटिक्स ल्याउन प्रतिबन्ध लगाइएको छ । अब कसैले सरकारले बर्जित गरेको काम लुकिछिपी गर्छ भने त ऊ कानूनी कारबाहीको स्वाभाविक भागिदार हुन्छ । यसमा मलाई थप अरू केही भन्नु छैन ।
दानाको गुणस्तर दिन प्रतिदिन खस्किँदो छ । यसतर्फ संघ र तपाईंजस्ता जिम्मेवार पदाधिकारी गम्भीर हुनु पर्दैन ?
अहिलेको मूल जड भारतलगायत मुलुकबाट आयात हुने गुणस्तरहीय कच्चा पदार्थ भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने खाँचो छ । नाकामा नै कच्चा पदार्थ परीक्षण गरेर गुणस्तरीय भएको अवस्थामा मात्र प्रवेश अनुमति दिने नभए फिर्ता गर्न सकिन्छ ।
कच्चा पदार्थ गुणस्तरयुक्त हुनेबित्तिकै दाना गुणस्तरहीन भयो भनेर गुनासो गर्नुपर्ने अवस्था रहन्न । त्यसैले गुणस्तरीय कच्चा पदार्थ दिनुस्, दाना पनि गुणस्तरयुक्त उत्पादन गर्छौं भनेर हामी भनिरहेका छौं । गुणस्तरीय कच्चा पदार्थबाट बनेका दाना किसानकोमा नपुगोस् भनेर तालुक मन्त्रालय र सरोकारवाला निकायलाई झक्झकाइरहेका छौं ।
यो पनि पढ्नुहोस
दानामा छैन गुणस्तर ,नेतृत्वकर्ताकै दाना दूषित

https://vetkhabar.com/2023/01/3651/


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *