उदाहरणीय सूर्यबहादुर र डल्फिनको सफलता

सामान्य कृषक परिवारमा जन्मिएर राष्ट्रिस्तरको उद्योगीमा दर्ज हुने विषय चानचुने होइन । तर निरन्तरको समर्पण, सोच र भिजन हुने हो भने सबै कुरा सफल हुने रहेछन् । डल्फिन ग्रुपका सञ्चालक सूर्यबहादुर थापा यस्तै कठिनाइ झेल्दै उदाएका एक सफलतम उद्योगी हुन् । बाख्रापालनबाट व्यवसायमा पाइला हालेका उनीसँग अहिले दानालगायत पाँच उद्योग सञ्चालनमा छन् । थप दुई उद्योग पनि उत्पादन गर्ने अन्तिम तयारीमा छन् । सफल व्यवसायी चन्द्र ढकालसँगको पार्टनरसिपमा केबलकारको महत्वकांक्षी योजना पनि उनले अघि बढाएका छन् । देश र जनताका लागि केही योगदान गर्नुपर्छ भन्ने मूलमन्त्र बोकेका थापाको कसैप्रति कुनै गुनासो छैन । २५० करोडबराबरका उद्योगका मालिक थापाले आफ्नो संघर्षका कुइँनेटा र सफलता सिढी उक्लिँदाका तीता, मिठा र रोचक अनुभूति भेट टाइम्स प्रतिनिधिलाई यसरी सुनाए :
मेरो परिवारको आर्थिकस्तर न्यून थियो । भनिराख्नु पर्दैन, यो आर्थिक अवस्थाको परिवारलाई जीविकोपार्जन सहज हुँदैन । हामीलाई पनि त्यस्तै थियो ।
खै किन हो, मेरो सोचचाहिँ आफैंले केही उद्यम गर्नुपर्छ भन्ने थियो । तर के गर्ने ? स्पष्ट खाका भने थिएन ।
यस्तैमा मेरो मस्तिष्कमा बाख्रापालन गर्ने सोच आयो । व्यावसायिक हिसाबले गर्दा ठीकै होला भन्ने अनुमानका आधारमा बाका भन्ने ठाउँमा फार्म खडा गरे । यो दौरान खोरमा ३००-४०० सम्म बाख्रा भए ।
बाख्रा पालनबाट राम्रै भइरहेको थियो । तर मन स्थिर भएन । अरू केही गरौं भन्ने सोच आयो । यसलाई बिट मारेर किराना पसल खोले । त्यसले पनि सन्तुष्टि मिलेन, ठेक्कापट्टा थालेँ ।
तर ठेक्कापट्टाले मलाई नसोचेको संकटको भासमा पुर्‍यायो । ठेक्कापट्टाबाट आर्थिक उन्नति गर्छु भनेर कस्सिएको मैले नराम्ररी धक्का खाए । नोक्सानी नै नोक्सानीमा परेँ । टाउकोभरि ऋणको बोझ आएर थुप्रियो ।
यो क्रममा धेरैतिरबाट ऋण लिएर व्यवहार चलाएको थिएँ । तर म यसरी संकटमा भासिए कि दौडिएर हिँडुनुपर्ने अवस्थामा चल्न चट्पटाउनसमेत सकिनँ । अरूको पैसा लिएर काम गरिसकेपछि नोक्सानी भयो भनेर दायित्वबाट पन्छिने ठाउँ थिएन । यो नैतिकताले दिने कुरा पनि भएन । त्यसैले उन्नति र प्रगति गरौं भनेर व्यवसाय थालेको म नसोचेको संकटमा फस्ट पुगेँ । तर मलाई निराश हुने र रोकिने सुविधा थिएन, किनभने मलाई देशमै उद्यम गरेर केही गर्नु थियो ।
बाख्रा पालन गरेर जोगिएको पैसा ठेक्कापट्टा गर्दाको नोक्सानी पुर्ताल गर्दागर्दा सिनित्त भइसकेको थियो । अब बाँकी थियो, उही अचल सम्पत्ति जग्गा, जमिन । भारी मन बनाएर त्यसलाई बेचेँ र ऋणबाट मुक्त भएँ ।
जीवनमा पहिलोपटक अनपेक्षित ढंगले असफलता हात परे पनि हतास र निराश भने थिइनँ । त्यसैले धान कुट्ने मिल भाडामा लिएर सञ्चालन गर्न थालेँ । यसबाट चामल बनाएर बिक्री गरेँ । यो श्रृंखला करिब पाँच वर्ष चल्यो । त्यसपछि आफ्नै राइस मिल स्थापना गरेँ, कैलालीको लम्कीमा ।
व्यावसायिक कुखुरा पालनतर्फ किसान आकर्षित भएकाले यो क्षेत्रमा केही गर्ने सोच टुसाइरहेको थियो । अन्ततः कुखुराको दाना उत्पादन गर्ने उद्योग खोल्ने सोचमा पुगेँ । ७-८ वर्ष दाना उद्योग चलेपछि लाग्यो, अब उत्पादनदेखि उपभोक्तासम्म जानुपर्छ । त्यसपछि यसलाई स्तरोन्नति गर्न नेपालगञ्जमा सुरु गरेँ ।
औद्योगिक क्षेत्र खडा गर्न भनेर १० वर्ष लागेँ । यो अभियान थाल्नुको मक्सद सबैलाई उद्योगी र हजारौंलाई रोजगारी सिर्जना गर्ने थियो । आफूले थप उद्योग पनि खडा गरेँ, योबीचमा । तर तुरुन्तै सफल हुन सकेन । त्यसपछि विकल्पका रूपमा नेपालगञ्ज छनोट गरेँ । त्यहाँ तीन वर्षदेखि पाँच उद्योग सञ्चालनमा छन् । बाँकी दुई उद्योग पनि निर्माणाधीन छन् । त्यसलाई जति सक्दो चाँडो सञ्चालन गर्ने सोच छ ।
देशभर मेरा पाँच उद्योग छन् । यसमध्ये दाना र ह्याचरी उद्योग लम्कीमा छन् । यसबाहेक थप दुई उद्योग छिट्टै सञ्चालन गर्ने मेरो तयारी छ । जति पनि उद्योग अहिले सञ्चालनमा छन्, तिनमा गरिएको कुल लगानी २५० करोड छ ।
नेपालगञ्जमा सुरु गरेको दाना उद्योगको उत्पादन क्षमता प्रतिघण्टा १५ टन छ । ज्ञात होस्, यो नेपालकै सबैभन्दा आधुनिक उद्योग हो ।
चामल मिलचाहिँ भारतबाट आउने चामल विस्थापन गरोस् भनेर सञ्चालन गरेको हुँ । अर्को आटा उद्योग पनि छ । यसले प्रतिघण्टा तीन टन उत्पादन गर्छ । मसौरा र १०० टन मासु अट्ने कोल्ड स्टोर बाँकेमा छ । देशभरि बिक्री वितरण गर्ने गरी भुजा र चिउराको प्लान्ट पनि पार्वतीपुरमा स्थापना गरिँदैछ । यसबाहेक मकै मिसन अभियान सात वर्ष सञ्चालन गरेको थिएँ । अहिले नगरपालिका र गाउँपालिकालाई यो हस्तान्तरण गरेको छु ।
यो मेरो फ्यामिली बिजनेस हो । यहाँ परिवारको बाहेक दोस्रो कसैको लगानी छैन । सञ्चालित उद्योगमा अहिले भाइ, छोरा-बुहारी गरी ८ जना संलग्न छौं । हामी पूणर्कालीन हौं, २४ सै घण्टा उद्योगको विकास र प्रगतिमा क्रियाशील छौं ।
मेरा पारिवारिक सदस्यले अहिले प्राविधिक विषय अध्ययन गरिरहेका छन् । कोही भेटेरिनरी डाक्टर बन्दैछन् त कोही सिए । यस्ता विषय अध्ययन गरेकाको सपना विदेश हुनेगर्छ । तर म तिनलाई विदेश होइन, यही जिम्मेवारी दिने तयारीमा छु । अबको पाँच वर्षमा मेरा उद्योगमा परिवारभित्रबाटै काम गर्नेको संख्या २० पुग्ने छन् । थपिन लागेका जनशक्तिमा भेटेरिनरी, सिएलगायत विषय अध्ययन गरेका छन् ।
मैले अहिले सञ्चालन गरेको उद्योगबाट ३५० देखि ४०० ले रोजगारी प्रत्यक्ष रोजगारी पाइरहेका छन् । निकट भविष्यमा थप दुई उद्योग सञ्चालनमा आउनेछन् । त्यसपछि थप १०० जनाले पनि रोजगारी पाउनेछन्

आफ्नोभन्दा पराइपनलाई ज्यादा रुचाउने प्रवृत्ति झाँगिएर गएको छ । फलतः अहिले नेपालीको रोजाइमा अमेरिका, जापान, अस्ट्रेलिया, बेलायतलगायत विकसित देश पर्न थालेका छन् । म यसको सख्त विरोधी हुँ । मैले यसरी उद्योग सञ्चालन गर्नुको एउटा कारण आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नु नि हो ।
देशको राजनीति बिग्रियो, त्यसले समग्र अंगप्रत्यंग खिया लागे भनेर गुनासो गरेको सुनिन्छ । तर केही गरौं भन्ने सोच र इच्छा शक्ति भएकाले गर्नसक्ने धेरै काम छन् । खाने मुखलाई जुँगाले छेक्दैन । दृढ आत्मविश्वासका साथ इमान्दारितापूर्वक लक्ष्यमा अघि बढे सफल भइन्छ । मात्रै सपना देख्ने, योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति आवश्यक छ ।
देश र जनताका लागि थप केही प्रोजेक्टमा काम गर्दैछु । त्यसमध्येको एक हो केबलकार निर्माण । चन्द्रागिरि केबल कारसँग मिलेर गर्नेगरी जालपादेवी केलबकार कम्पनी स्थापना गरेका छौं । पार्टनरसिपमा अघि बढेको यो प्रोजेक्टको प्रक्रिया पूरा भएर क्याबिनेटमा पुगेको अवस्था छ । त्यहाँबाट अनुमति पाएपछि यो काम सुरु हुनेछ ।
यो केबलकार कणर्ाली चिसापानीदेखि एउटा मन्दिरसम्म पुग्नेछ । सुदूरपश्चिमको पर्यटकीय विकासका लागि मूल मेरुदण्डका रूपमा यो स्थापित होस् भन्ने मेरो चाहना छ । पर्यटक आकर्षित गर्न अघि बढाइएको यो प्रोजेटमा चन्द्र ढकालको ६० र स्थानीयको ४० प्रतिशत लगानी रहनेछ । स्थानीयको लगानी भने मेरो नेतृत्वमा हुनेछ ।
मेरो चिन्ता र चिन्तना देशमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ ? के गर्दा उत्पादन बढ्छ भन्नेमा छ । यसमा म निरन्तर लागिरहने छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *