नक्कली प्रमाणपत्र बनाएर गाईगोरु तस्करी, क्वारेन्टाइन समाउने, प्रहरी छाड्ने

काठमाडौं । प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा बुझाइएको १३३ गाईगोरु बिना कारबाही छाडिएको छ ।

रूपन्देहीबाट हेटौंडा ट्रान्जिट बनाएर चार ट्रकमा राखी झापातर्फ लैजान लागिएका १३३ गाई–गोरु व्यापारीमाथि कारबाहीबिनै रातोमाटा प्रहरीले छाडिदिएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाको प्रमुख डा.वृज किशोर ठाकुरले भेटेरिनरी प्रमाणपत्रमा ११७ उल्लेख गरेर ६४ गोरु र ६९ गाई गरी १३३ वटा भेटिएको बताए । यीमध्ये तीन गाई गम्भीर बिरामी थिए ।

पशुपन्छी ढुवानी मापदण्ड–२०६४ मा ठूला ट्रकमा १८–२४ मात्र पशु ढुवानी गर्न पाइने उल्लेख छ । पशु कल्याणका विषयलाई मध्यनजर गरेर ढुवानी मापदण्डमा यस्तो प्रावधान राखिएको हो ।ढुवानी मापदण्डविपरीत गाई–गोरु ओसारपसार भएकाले प्रहरीले अनुसन्धान गर्नुपर्ने थियो ।

अझै मकवानपुर ट्रान्जिट बनाएर दोस्रो देशतर्फ गाईगोरु तस्करी हुने गरेको दाबी आइरहेकाले यसमा प्रहरी थप चनाखो हुनुपथ्र्यो । तर प्रहरीले यसमाथि अनुसन्धान नै नगरी रहस्मय ढंगले ती गाईगोरु छाडिदिएको छ ।

ती गाईगोरु ढुवानीका लागि डा. विशाल बास्तोलाको नामबाट जारी भेटेरिनरी प्रमाणपत्रसमेत नक्कली रहेको खुलेको छ । भेट टाइम्सको सम्पर्कमा आएका डा. बास्तोलाले आफ्नो नाममा गत वैशाख ३१ मा जारी उक्त भेटेरिनरी प्रमाणपत्रबारे आफू अनभिज्ञ रहेको बताए । उनले भने, ‘३१ गते मेरो नाममा रूपन्देहीबाट जारी भेटेरिनरी प्रमाणपत्र नक्कली हो । त्यो दिन म रूपन्देहीमा नभएर चितवनमा थिएँ ।’ आफ्नो नाममा नक्कली प्रमाणपत्र र छाप बनाएर तक्करहरूले गाईगोरु तस्करी गरिरहेको भन्दै उनले कानूनी उपचार खोज्ने चेतावनी दिए । ‘मेरो नाममा नक्कली प्रमाणपत्र बनाएर पटकपटक पशुपन्छी ढुवानीका लागि जारी भइरहेको छ । अब म यसविरुद्ध कानूनी उपचार खोज्छु,’ उनले भने । आफ्नो नाममा नक्कली प्रमाणपत्र बनाएर गाईगोरु ढुवानी गरिरहेको प्रमाणपत्रमा नाम रहेका चिकित्सक स्वयंले बताइरहँदा प्रहरीले भने अनुसन्धानबेगर ती गाईगोरु छाडिदिएको छ ।

यद्यपी डा.बास्तोलाको दाबी गरेझै सत्यता नभएको पाईएको छ । आर्थिक प्रलोभनमा परेर आचरण विपरित हस्ताक्षर नगरेको खाली प्रमाणपत्र बास्तोलालेनै उपलब्ध गराएको जानकारी भेट खबरलाई प्राप्त भएको छ । यस सम्बन्धी थप विवरणहरु भेट खबरले दिदै जानेछ् ।

यसले प्रहरीको नियतमाथि पनि गम्भीर प्रश्न उठाएको छ । विज्ञ केन्द्र हेटौंडाका प्रमुख ठाकुरले मापदण्डविपरीत नक्कली प्रमाणपत्र जारी गरेर ल्याइएका गाईगोरु प्रहरीले नियन्त्रणमा राखेको स्थानमा नभेटिएको भेट टाइम्सलाई बताए । ‘हामीले प्रमुख जिल्ला अधिकारीदेखि जिल्लाको प्रहरी नेतृत्वसँग यसबारे सोधीखोजी गरेका थियौं । तर एकाएक त्यहाँबाट गाईगोरु गायब भए ।’ मकवानपुरमा विगतदेखि नै यस्तो समस्या रहेकाले यसको दीर्घकालीन समाधान खोज्नुको विकल्प नभएको उनले बताए । ठाकुरका अनुसार हेटौंडालाई ट्रान्जिट प्वाइन्टको रूपमा लिएर वर्षौदेखि गाईहरु तस्कार हुने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *