काभ्रे पूर्वशाखाको नेतृत्व पन्तको काँधमा
काठमाडौं । नेपाल पशुपंछी औषधि व्यवसायी संघ, काभ्रे पूर्वशाखाको अध्यक्षमा यज्ञप्रसाद पन्त चयन भएका छन् । बिहीबार सम्पन्न शाखाको तेस्रो अधिवेशनबाट पन्त अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षबाहेकका अन्य पदाधिकारी पनि निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा टुककुमार श्रेष्ठ चयन हुँदा सचिव र सहसचिवमा क्रमशः राजेश मानन्धर र बेलबहादुर राउत निर्वाचित भएका छन् ।
शाखाका अनुसार कोषाध्यक्षमा विजय अधिकारी चयन भएका छन् ।
अधिवेशनले कार्यसमितिका चार सदस्य पनि छनोट गरेको छ । जसमा हरिकृष्ण मानन्धर, सुनील सापकोटा, बासुकुमार थापा र माया श्रेष्ठ छन् ।
अधिवेशन पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै बाँस्कोटाले पशुपन्छी औषधिको गुणस्तर र व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए ।
डा. हरिप्रसाद मानन्धर, पूर्वअध्यक्ष हेमराज बराल, वर्तमान केन्द्रीय अध्यक्ष भूपेन्द्र गौतमलगायतले पशुपन्छी औषधिको गुणस्तर खस्किएकोप्रति चिन्ता व्यक्त गर्दै गुणस्तर कायम गर्न सबै लाग्नुपर्ने बताए ।