भेटेरिनरी कलेजलाई विद्यार्थीको ४८ घण्टे अल्टिमेटम
काठमाडौं । नेपाल भेटेरिनरी स्टुडेन्ट्स युनियनले भेटेरिनरी कलेज सञ्चालकहरूले स्वेच्छाचारी प्रवृत्ति देखाएको भन्दै त्यसलाई सच्याउन ४८ घण्टे अल्टिमेटम दिएको छ । एसोसिएनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न माग सम्बोधन गर्न अल्टिमेटम दिएको हो ।
‘४८ घण्टाभित्र आवश्यक तयारी साथै छलफल गरी विद्यार्थीका मागहरू सम्बोधन नभए थप संघर्षका कार्यक्रमहरू प्रस्तुत गरिने व्यहोरासमेत विद्यार्थी एवं कलेज सञ्चालकमाझ अवगत गराउन चाहन्छौं,’ एसोसिएसनले अल्टिमेटम दिँदै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
७ बुँदा उल्लेख गरेर जारी विज्ञप्तिमा अनलाइन परीक्षाको उत्तर पुस्तिका बुझाउने क्रममा कलेजको लापरबाहीले विद्यार्थीहरू अनुत्तीर्ण भएको आरोप लगाइएको छ । कलेज सञ्चालकको लापरबाहीले कति विद्यार्थीको नतिजा बिग्रियो भन्ने उल्लेख नगरी एसोसिएसनले तत्काल त्यस्ता विद्यार्थीको नतिजा सच्याउन अल्टिमेटम दिएको छ । साथै, पीडित विद्यार्थीलाई क्षतिपूर्ति दिनुपर्ने मागसमेत उसको छ ।
‘अनलानइन परीक्षाको उत्तरपुस्तिका बुझाउने क्रममा कलेजको लापरबाहीका कारण विभिन्न विषयमा अनुत्तीर्ण विद्यार्थीहरूको यथाशीघ्र रिजल्ट सच्याउनुपर्ने साथै उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने,’ विज्ञप्तिमा भनिएको छ ।
अनलाइन कक्षा सञ्चालन सत्रान्तको शुल्कमा छुट दिन पनि एसोसिएसनले माग गरेको छ । लकडाउनका कारण अभिभावक तथा विद्यार्थीको आर्थिक अवस्था बिग्रिएकाले शुल्कमा छुट दिन उपयुक्त हुने एसोसिएसनको जिकिर छ ।
त्यसैगरी, कोभिड–१९ र लकडाउनका कारण रद्द शैक्षिक भ्रमणभत्ता निःसर्त क्षतिपूर्तिस्वरूप फिर्ता गर्नुपर्ने, विद्यार्थीलाई स्वेच्छिक प्रयोगात्मक क्रियाकलाप गर्न सहजीकरण गर्नुपर्ने, हिकास्ट कलेजअन्तर्गत विभिन्न सत्रान्तका विद्यार्थीको भ्रमण मिति तोक्नुपर्नेलगायत माग पनि एसोसिएसनले राखेको छ ।
एसोसिएसन भेटेरिनरी संकाय, पेसा तथा पशु हकहितका लागि काम गर्दै आइरहेको संगठन हो ।