नेल्टाले भन्यो– पशु स्वास्थ्यकर्मीलाई खोप देऊ,संक्रमितको उपचार निःशुल्क गर

काठमाडौं । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले पशु स्वास्थ्यकर्मीलाई शीर्घ खोप उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।

संघका अध्यक्ष जनकबहादुर रावलले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री पद्याकुमारी अर्याललाई एक ज्ञापनपत्र बुझाएर पशु स्वास्थ्यकर्मीलाई शीघ्र खोप उपलब्ध गराउन माग गरेका हुन् । ‘अत्यावश्यक सेवा प्रदान गर्ने पशु स्वास्थ्यकर्मीहरूले हालसम्म पनि कोरोना भाइरसविरुद्धको खोप प्राप्त गर्न नसकेकाले यथाशीघ्र व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं,’ अध्यक्ष रावलले सोमबार मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

त्यसैगरी संघले कोरोना भाइरसबाट संक्रमित पशु स्वास्थ्यकर्मीको निःशुल्क उपचार व्यवस्था मिलाउन पनि कृषिमन्त्रीलाई आग्रह गरेको छ । हालसम्म ४५ जना पशु स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

संक्रमित भएका पशुस्वास्थ्यकर्मीलाई सहज र सरल तरिकाबाट बीमा रकम उपलब्ध गराउन पनि संघले ध्यानाकर्षण गराएको छ । बीमा कम्पनीले कोरोना बीमा गरे पनि संक्रमितको बीमा भुक्तानीमा आनाकानी गर्दै आइरहेका छन् ।

संघले कोरोना संक्रमणका कारण ज्याद गुमाएका पशुस्वास्थ्यकर्मीका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि भनेको छ । ‘पशु स्वास्थ्यर्कीहरूलाई सहज र सरल तरिकाबाट कोरोना बीमा तथा निःशुल्क उपचार र मृत्यृ भएकाको परिवारजनलाई उचित क्षतिपुर्तिका लागि आग्रह गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा गरी कुल ८ पशुस्वास्थ्यकर्मीको ज्यान गएको छ । अत्यावश्यक सेवा प्रवाहका क्रममा उनीहरूको ज्यान गए पनि परिवारले क्षतिपूर्ति नपाएकाले उपलब्ध गराउनुपर्ने माग नेल्टाको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *