धनगढीको पशुपन्क्षी प्रयोगशालामा अब कोरोना परीक्षण

काठमाडौं । सामान्यतया पशुसँग सम्बन्धित कार्यालय र भेटेरिनरी चिकित्सक भन्नेबित्तिकै धेरैलाई पशु चौपायाको उपचार गर्ने निकाय र व्यक्ति हुन भन्ने पर्छ । यथार्थ पनि यही हो । तर कोरोना संक्रमण बढेसँगै पशुसम्बन्धी कार्यालय र पशुस्वास्थ्यकमीहरू महामारीविरुद्धको अभियानमा जोडिन थालेका छन् ।

धनगढीमा रहेको पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालाको काम खासमा पशुको विभिन्न रोगको परीक्षण गर्नु हो । तर यो प्रयोगशालाले अब कोरोना भाइरस परीक्षणसमेत गर्ने भएको छ । अहिलेको जटिल अवस्थालाई मध्यनजर गर्दै प्रयोगशालाले कोरोना परीक्षण गर्न लागेको हो ।कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले हालै कोभिड–१९ परीक्षण गर्न प्रयोगशालालाई निर्देशन दिएको छ ।

खासमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ०७८ वैशाख २१ मा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई पत्राचार गर्दै पीसीआर मेसिन नै उपलब्ध गराइदिन आग्रह गरेको थियो । तर मन्त्रालयले कुनै पनि बेला पशुपन्क्षीमा महामारीजन्य रोग फैलन सक्ने खतरा दर्शाउँदै त्यहीबाट नमुना परीक्षण गर्न सुझाव दिएको छ । मन्त्रालयको यस्तो निर्देशनपछि प्रयोगशालालाई कोभिड–१९ परीक्षणमा प्रयोग गर्ने तयारी गरिएको छ । तर प्रयोगशालाले आफैंले नमुना संकलन गर्ने नभएर सेती अञ्चल अस्पतालको अनुरोधपछि मात्रै परीक्षण गर्नेछ ।

पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला, धनगढीले सेती अञ्चल अस्पतालको अनुरोधबमोजिम कोभिड–१९ परीक्षण गर्न कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयबाट निर्देशन प्राप्त भएको जनाएको छ ।
प्रयोगशालाका प्रमुख डा. तपेन्द्रप्रसाद बोहोराले मानव र पशु स्वस्थ्य समान अर्थात् एक स्वास्थ्य (वान हेल्थ) भएकाले प्रयोगशालाको मेसिन नदिएर बरू नमुना पठाइदिए कोरोना भाइरसको परीक्षण गर्न सकिने जानकारी गराइएको बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *