साढे दुई दशकदेखि कुखुरा पालनमा रमाएका राम खत्री
भक्तपुरको ताथलीमा स्थायी घर भएका ४४ वर्षीय राम खत्री लामो समयदेखि कुखुरा पालन व्यवसायमा सक्रिय छन् । एउटै कामलाई निरन्तरता दिइयो भने अवश्य सफल भइन्छ भन्ने एउटा गजबको उदाहरण पनि बनेका छन् उनी । वि.सं.२०४९ सालमा विद्यालय तहको पढाइ सकेपछि कुखुरा पालन सुरु गरेका खत्रीले जीवनको आधा समय कुखुरा पालनमै बिताएका छन् । सुरुमा घरको आर्थिक अवस्थालाई टेवा पुर्याउने सोचले थोरै कुखुरा पालेका खत्रीले २०५२ सालदेखि भने व्यवसायिक रुपमा नै कुखुरा पालन गरेको सुनाए ।
‘मेरो विवाह वि.सं. २०५२ सालमा भएको हो,’ उनी भन्छन्, ‘मेरो सुसुरा बुवा गोपाल बहादुर थापा पनि कुखुरा पालन पेशामा सक्रिय भएका कारण उहाँबाट नै प्रेरित भएर कुखुरा पाल्न सुरु गरेँ ।’ ससुराकै सल्लाहमा दुई लाख खर्च गरेर जडिबुटीमा कोल्ड स्टोर पनि खोलेँ । तर सोचे जति फाइदा नभएका कारण छोडेँ । ‘दश वर्ष कोल्ड स्टोर चलाउँदा नाफा जति सबै उधारोमा गयो,’ उनले संघर्षमय विगत सम्झिए ।
बजारबाट पैसा उठाउन मुस्किल भएपछि भाइलाई कोल्ड स्टोर जिम्मा लगाएर उनी पूर्ण रुपमा कुखुरा पालनमा फर्किए । केही वर्ष ब्रोइलर कुखरा पालन गरेका उनी पछिल्लो समय लेयर्स कखुरा पालनमा सक्रिय भएर लागिरहेका छन् । उनले अहिले दुई वटा खोरमा तीन हजारभन्दा बढी लेयर्स कुखुरा पालेका छन् । ‘लेयर्सबाट आम्दानी पनि राम्रै छ,’ उनले खुसी व्यक्त गरे ।
अण्डा बिक्री गरेर मात्रै दैनिक दुई हजारदेखि पच्चिस सय रुपैयाँसम्म कमाउने गरेको उनले सुनाए । कुखुराको दाना,
घरपरिवार चलाउन लाग्ने रकम लगायत सबै खर्च कटाएर वार्षिक २५ देखि ३० लाखसम्म फाइदा हुने उनले बताए । ‘कुखुरा पालेरै मैले ताथलीमा करिब एक रोपनी जग्गा जोडेको छु,’ भेट टाइम्स टिमसँग कुखुरा पालनबाट पाएको सफलता सेयर गर्दै उनले भने, ‘घर पनि कुखुरा पालेर नै बनाएको हुँ । कुखुरा पालेकै कारण अहिलेको अवस्थासम्म आइपुगेको हुँ । त्यसबेला कुखुरा नपालेको भए अहिले यो अवस्थामा हुँदैनथेँ होला ।’
अरु कुखुरा पालक व्यवसायी कुखुराबाट घाटा भयो भनेर धेरै गुनासो गर्छन् तर उनलाई यसमा कुनै गुनासो छैन । ‘मलाई फाइदा नै भएको छ,’ उनले भने । पहिला ब्रोइलर पाल्दा पनि फाइदा नै थियो । अहिले पनि उनलाई लेयर्स पाल्दा फाइदा नै छ । कुखुरा पाल्ने साना किसानलाई दाना व्यवसानीले भाउ बढाएरै घाटाको अवस्थामा पुर्याएको उनको अनुभव छ ।
मकै भटमासको भाउ बढ्यो भने दानको मूल्य ह्वात्तै बढाउँछन् । अहिले मकैको मूल्य घटेको छ । तर व्यवसायिहरुले दानाको मूल्य घटाएका छैनन् । यसमा उनलाई चित्त बुझेको छैन । ‘दाना व्यवसायिको यो कार्य कुखुरा पालक किसानलाई सक्ने नियत मात्रै हो,’ उनले भने, ‘कुखुरा पालक व्यवसायी बाँचे पो दाना उद्योगीले पनि आफ्नो व्यवसाय बचाइ राख्न सक्छन् ।’
उनले दाना व्यवसायीसँग मात्र नभएर नेपाल सरकारसँग समेत रहेको सुनाए । नेपाल सरकारले पछिल्लो समय बैंकबाट कृषि व्यवसायिक कर्जालाई केही सहज बनाए पनि अनुदानमा भने अनुगमन नगरेको बताए । ‘वर्षाैदेखि कृषि तथा पशुपन्छी पालन व्यवसायमा लागेका कृषकले अनुदानको नाममा एक रुपैयाँ पाएका छैनन्,’ उनले भने, ‘तर कृषकको खोल ओढेकाले भने करोडौँ अनुदान लिइरहेका छन् । दुई वटा गाई पालेर लाखौँ अनुदान लिने व्यक्तिहरु पनि
मैले देखेको छु ।’
सरकारले ल्याउने गरेको अनुदान कार्यक्रमबारे वास्तविक किसान बेखबर रहने गरेको उनले बताए । ‘झोलामा गोठ नै बोकेर हिँड्नेले अनुदान लिइरहेका छन्,’ उनले भने, ‘सरकारले यस विषयमा राम्रोसँग अनुगमन गरेर, बुझेर
मात्रै अनुदान वितरणको काम गर्याे भने वास्तविक किसानलाई राहत हुने थियो । ‘दाना व्यवसायीले घरी घरी मूल्य बढाएर दुःख दिन थालेपछि उनले आफू जस्तै कुखुरा पालन गर्ने कृषक साथीलाई समेटेर मैत्री किसान समूह नै गठन गरेका छन् । जसको अध्यक्षको जिम्मा पनि उनले नै पाएका छन् । समूहमा १३ जना किसान रहेको उनले सुनाए ।
‘समूहमा रहेका सबै साथीलाई पदाधिकारी बनाएर नै काम दिएको छु,’ उनी भन्छन्, ‘कुनै साथीलाई बजारको जिम्मा दिइएको छ भने भने कुनै साथीले औषधि, दानाको लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिद गर्ने जस्ता कामको जिम्मा पाउनु भएको छ । मलाई भने साथीले अध्यक्षको जिम्मेवारी दिनुभएको छ ।’
समूहमा भएका १३ जना किसानले प्रति किसान ५ लाखका दरले पैसा उठाएर दाना उत्पादन उद्योगमा लगानी गरेका छन् । आफैंले उत्पादन गर्दा उच्च गुणस्तरको दाना बजारको मूल्य न्दा धेरै सस्तोमा उत्पादन हुने रहेछ,’ उनले भने, ‘बजारमा २७ सयसम्म पर्ने दाना हामीले २१ सयमै उत्पादन गरिरहेका छौँ । दाना उत्पादन सुरु गरेको एक महिना
मात्र भयो ।’ आफैँले उत्पादन गरेको दाना खुवाउन थालेपछि कुखुराले अण्डामा राम्रो दिन थालेको उनको अनुभव छ । अण्डा कम दिन थालेपछि कुखुरा बेच्ने तरखरमा रहेका उनी अहिले आफैँले उत्पादन गरेको दाना खुवाउन थालेपछि कुखुराले अण्डाको संख्या बढाएको बताउँछन् । अझ तीन चार महिना पाल्ने सोचमा छन् । समूहमा भएका व्यवसायीलाई मात्रै नभएर अन्य किसान साथीको लागि पनि दाना उत्पादन गर्ने सोच बनाएका छन् ।
‘कोही किसान हामीकहाँ दाना लिन आउनुहुन्छ भने मिल भाडा मात्र तिरेर पनि दाना बनाएर लान सक्नुहुन्छ,’ उनले भने, ‘ मिल खर्च भनेर हामीले प्रतिटन जम्मा ८ सय रुपैयाँ लिने गरेका छौँ । मकै, भटमासमा पनि दुई रुपैयाँ मात्र मार्जिन राखेका छौँ । त्यसैले मिलभाडा तिरेर आफ्नो फर्मुला अनुसार दाना लिन सक्ने व्यवस्था हामीले अरु किसान साथीलाई मिलाएका छौँ ।’
उनले मिलको कुरा गर्दा पैसाको कुरा गर्न भने छुटाएनन् । भन्छन्– ‘उधारो भने हामी कसैलाई दिँदैनाैँ । हाम्रो समूहभित्र रहेका साथीलाई पनि पाँच हजार कुखुरा पाल्ने ठाँउमा तीन हजार पाल्नुहोस् तर उधारो भने पाउनुहुन्न भनेका छौँ ।’ दैनिक ८ हजार टनसम्म दाना उत्पादन गर्न सक्ने क्षमता भएको मिललाई भविष्यमा २ लाख कुखुरालाई पुग्ने दाना उत्पादन गर्ने आफूहरुको योजना रहेको उनले सुनाए ।
उनको समूहले अब चाँडै भक्तपुर, ललितपुर र काभ्रेमा अण्डाको होलसेल पसल खोलेर उपभोक्तालाई स्वच्छ र गुणस्तरीय अण्डा खुवाउने सोच बनाएको छ । परिवारको साथ र सहयोगले नै आफू यो व्यवसायमा सफल भएको उनी बताउँछन् । ‘मेरीश्रीमतीले मलाई धेरै साथ दिइरहेकी छन्,’ मुस्कुराउँदै उनले भने, ‘परिवारका अन्य सदस्यले पनि साथ
दिएका छन् तर श्रीमतीको भने अलि धेरै साथ छ ।’
उनका दुई छोरी र एक छोरा छन् । छोरा छोरीको पढाइ खर्चदेखि घर सञ्चालनसम्मको सबै खर्च कुखुराले नै धानेको छ । ‘म आमासँगै बस्छु, बुवा दमको रोगले हामीलाई चाँडै छाडेर जानु भयो,’ उनले भने, ‘दाई शिक्षक हुनुहन्छ । जेठी छोरी काठमाडौँ विश्वविद्याययमा पढ्दै छिन् । माइली छोरी ब्याचलर र सानो छोरा अहिले ७ कक्षामा पढिरहेका छन् ।’
पोल्ट्री व्यवसायमा नयाँ आउने किसानलाई उनको सुझाव छ– ‘अरुको देखेर, उसले भन्दा धेरै कुखुरा पाल्छु भन्ने सोचले भन्दा पनि बुझेर मात्र यो क्षेत्रमा आउनु होला ।’
कुखुरा पालन गर्दा हावा पानी र दाना मिलाउन सकिएन भने यो व्यवसायले घाटा लगाउने उनको अनुभव छ । लामो
समयदेखि कुखुरा पालन गरेका आफूभन्दा अग्रज किसान वा विज्ञसँग सल्लाह लिएर मात्र यो क्षेत्रमा प्रवेश गर्दा राम्रो हुने उनले बताए । कुखुरालाई रोग लागे के गर्ने, कुन रोग लागे कुन औषधि खुवाउने,कुखुरालाई कसरी चिसोबाट बचाउने लगायत सबै कुरामा ज्ञान कुखुरा पालन गर्नुअघि लिनु जरुरी रहेको उनले बताए । हाल नेपाल सरकारले कृषि तथा पशुपन्छी क्षेत्रमा विदेशी लगानीलाई खुला गरिदिएसँगै साना कृषक तथा व्यवसायी आक्रोशित बनेका छन् । नेपालको कृषि तथा पशुपन्छी पालन क्षेत्रमा विदेशी लगानी खुला गरेकोमा उनी पनि सन्तुष्ट छैनन् ।
‘नेपाल मासु, अण्डा र दूधमा आत्मनिर्भर भइसकेको छ,’ उनी भन्छन्, ‘यो बाहेक अन्य क्षेत्रमा सरकारले विदेशी लगानी
भिœयाएपनि यो क्षेत्रमा भने विदेशी लगानी खुला गर्न जरुरी छैन ।’ खास गरी पोल्ट्री क्षेत्रमा देश आत्मनिर्भर भएको र यो क्षेत्रमा विदेशी लगानी ल्याउनु नहुने उनको भनाइ छ ।