बर्ड फ्लु पुष्टि भएको तारकेश्ववर फुटुङ क्षेत्रका २५ सय हाँस, कुखुरा, टर्की, अण्डा र दाना नष्ट

काठमाडौं । पशु सेवा विभागले बर्ड फ्लुको संक्रमण पुष्टि भएको काठमाडौंको तारकेश्वर नगरपालिका–७, साङलेखोला फुटुङ क्षेत्रका घरपालुवा पन्छी, अण्डा र दाना नष्ट गरेको जानकारी दिएको छ ।

सो क्षेत्रका स्थानीयले पालेका हाँस र टर्कीको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा माघ १६ गते बर्ड फ्लु (एच फाइभ एन एट) भाइरस पुष्टि भएको विभागले जनाएको छ ।विभागबाट खटिएको टोलीले सो क्षेत्रमा स्थानीयले पालेका १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की नष्ट गरेको जनाएको छ । त्यस्तै, ५ सय ४२ ओटा अण्डा र पन्छीलाई खुवाउन राखिएको ७५ केजी दाना समेत नष्ट गरेको जनाएको छ । रोगको संक्रमण देखिएको क्षेत्रलाई पूर्ण रुपमा निसंक्रमण गरिएको जनाएको छ ।

विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण प्रमाणपत्र लिनुपर्ने, पन्छीको फार्म परिसरमा जैविक सुरक्षाका विधि अपनाउन, सरसफाइमा ध्यान दिन र कुनै पन्छी अस्वभाविक रुपमा विरामी परे नजिकको पशु सेवा निकायमा तत्काल सम्पर्क गर्न पनि पन्छी पालक कृषकलाई आग्रह गरेको छ ।

यसअघि भारतका विभन्नि राज्यमा बर्ड फुलु देखिएपछि सरकारले भारतबाट पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसारमा बन्देज लगाएको छ । सो प्रतिबन्धलाई पूर्ण रुपमा पालना गर्न समेत विभागले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *