भारतबाट हुने पोल्ट्रीजन्य आयातमा पूर्ण प्रतिबन्ध, पन्छीजन्य सामग्री आए बर्डफ्लु फैलिने चिन्ता
काठमाडौं । सरकारले भारतबाट आयात हुने पोल्ट्रीजन्य वस्तु प्रतिबन्ध लगाएको छ । भारतका विभिन्न प्रदेशमा केही दिनदेखि तिव्र रुपमा बर्डफ्लु संक्रमण फैलि रहेकाले नेपालमा भित्रीन नदिन प्रतिबन्ध लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेले भेट खबरलाई बताए । मन्त्रालयले बुधवारदेखि आयातमा रोक लगाएको हो ।
‘भारतमा बर्डफ्लु तीव्र रुपमा फैलिएकाले नेपालमा पोल्ट्रीजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइएको हो,’ घिमिरेले भने, ‘मन्त्रालयले पशु सेवा विभाग मार्फत नेपाल–भारत सीमाका क्वारेन्टाइन चेक पोष्टलाई समेत पत्राचार गर्न निर्देशन दिइसकेकाे छ ।’
भारतबाट हुने पोल्ट्रीजन्य आयातमा लगाइएकाे प्रतिबन्ध खुकुलाे भए नेपालमा संक्रमण फैलिने भन्दै यस नेपालका पोल्ट्री क्षेत्रका व्यवसायीहरुले भने चिन्ता व्यक्त गरिरहेका छन् ।
एकसाता अघिबाट भारतका केरला, हरियायाणा, राजस्थान, गुजरात, विहार जस्ता दर्जनभन्दा बढी राज्यमा बर्ड फ्लुको संक्रमण देखिएपछि नेपालमा यस्तो माग हुन थालेको हो । भारतबाट पोल्ट्रीजन्य सामग्री आयात गर्दा नेपालमा त्यसको संक्रमण फैलिने भन्दै व्यवसायी चिन्तित बनेका हुन् ।
कानुनले सम्बन्धीत क्वारेन्टाइन कार्यालयलाई नै संक्रमणयुक्त तथा अस्वस्थ पशुपन्छीजन्य उत्पादन आयातलाई सीमामै रोक्न सक्ने अधिकार छ । यही अधिकारीको प्रयोग गर्दै कुनै पनि हालतमा सीमा नाकाहरु कडा गरी नेपालमा भारतीय पोल्ट्रीजन्य उत्पादन भित्रिन व्यवसायीले माग गरेका छन् ।
नेपाल भेटेरिनरी एशोसिएशनले बिहीबार एक विज्ञप्ती जारी गर्दै भारतमा तीव्र रुपमा फैलिएको वर्डफ्लु संक्रमणको जोखिमबाट नेपाललाई जोगाउन आयातमा पूर्ण प्रतिबन्ध लगाउन नेपालका केन्द्र, प्रदेश र स्थानीय तीनै तहको सरकारसँग आग्रह गरेको छ ।
एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले जारी गरिएको विज्ञप्तीमा सम्पूर्ण भेटेरियनहरुले पनि भारतबाट पोल्ट्रीजन्य उत्पादन नेपाल भित्रिन नदिन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
कोभिड–१९ महामारीका कारण शिथिल बनेको पोल्ट्री क्षेत्रमा बर्डफ्लुले झनै असर गर्ने र त्यस्तो जोखिमबाट बच्न संक्रमण हुन नदिनु नै उत्तम उपाय हुने एशोसिएशनको धारणा छ ।
भारतका विभन्न राज्यमा लाखौंको संख्यामा कुखुरा, हाँस लगायतका पन्छी नष्ट गर्न थालिएको छ । अण्डालगायत अन्य पोल्ट्रीजन्य उत्पादनको बिक्री–वितरण र ओसारपसारमा रोक लगाइएको छ ।