हेटौंडामा पाउडर दूध प्लान्ट निर्माण सुरु, दैनिक ६१ हजार लिटर खपत हुने
मकवानपुर । वागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्डमार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको हो । बिहीबार एक कार्यक्रमका बीच मुख्यमन्त्री डोरमणि पौडेलले कारखाना निर्माणको शिलान्यास गरे । कार्यक्रममा उनले उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको बताए ।
‘कारखाना सञ्चालनमा आएपछि सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुन्छ,’ उनले भने, ‘प्रदेश सरकारले किसानका पक्षमा काम गर्दै आएको छ ।’ कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
हेटौँडा उपमहानगरपालिका–१० शिसौघारीमा उक्त पाउडर दुग्ध प्लान्ट भवन निर्माणका लागि बोलपत्र आह्वान गरेर निर्माण व्यवसायीको छनोट समेत भइसकेको छ । प्रदेश सरकारको अनुदान रु ४१ करोड २२ लाख ७१ हजार ५१२ को लागतमा आगामी दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गरेर धुलो दूध प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध विकास बोर्डका सूचना अधिकारी डा शत्रुघनप्रसाद साहले बताए ।
उनका अनुसार प्रदेश नं. २ को बारा, रौतहट, पर्सा र बागमती प्रदेशको मकवानपुर र चितवनका गरी करिब पाँच हजार ६०० दूग्ध व्यवसायी तथा सहकारीले संकलन गर्ने दैनिक साढे ६१ हजार लिटर दूध प्रदेश विकास वोर्डले खरिद गर्ने तयारी छ । दुग्ध विकास बोर्डले कृषकबाट खरिद गरेको दूधलाई आधुनिक प्रविधिको माध्यमबाट पाउडर दूध प्याकिङ गरी स्वदेशका साथै विदेशी बजारमा खपतका लागि पठाइने भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले बताए ।
यसैगरी दुग्ध प्लान्टको परिसरभित्र १०० मेट्रिक टन क्षमताको नयाँ कोल्डस्टोर निर्माणका लागि बोलपत्र पनि आह्वान गरेर निर्माण व्यवसायीको छनोट गरिसकेको प्रवक्ता डा पाण्डेले जानकारी दिए । उक्त भवन निर्माणका लागि प्रदेश सरकारले रु ५७ लाख १२ हजार ४१७ रकम विनियोजित गरिसकेको र अब छिट्टै भवन निर्माणकार्य शुरु हुने उनले बताए ।
हेटौँडामा सञ्चालन हुने पाउडर दूध प्याकिङ उद्योगबाट प्रत्यक्ष अप्रत्यक्ष गरी करिब २४५ जनाले रोजगारीको अवसर प्राप्त गर्ने बोर्डले जनाएको छ । प्रदेश सरकारले हेटौँडाको सिसौघारीमा सो उद्योग स्थापना गर्न २ बिघा २ कट्ठा सरकारी जग्गा हालै उपलब्ध गराइएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।