किसानलाई परिचयपत्र वितरण गर्ने नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालको पहिलो निर्णय
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले किसानको वर्गीकरण गरी उनीहरुलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेकी छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले उक्त निर्णय गरेकी हुन् । आउँदो फागुनभित्र परिचय पत्र वितरणको काम थाल्न पनि उनले सचिव लगायत मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् ।
यसअघिका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले गरेका नीतिगत सुधारका राम्रा कामलाई आफ्नो कार्यकालमा निरन्तरता दिने प्रतिवद्धतासमेत उनले जनाएकी छन् । विगतमा र आफू मन्त्री भएपछि कृषि तथा पशुपन्छी विकासका क्षेत्रमा सुधारको महसुस गर्ने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन समेत दिएकी छन् । साथै कृषि र पशुपन्छी क्षेत्रका ४–४ ओटा नतिजामुलक नयाँ कार्यक्रमको खाका तयार पारेर ल्याउन समेत उनले दुई सचिव डा. योगेन्द्र कुमार कार्की र पेम नारायण कँडेललाई निर्देशन दिइन् ।
‘सरलता नै मेरो पहिचान हो,’ पदभार ग्रहणपछि उनले भनिन्, ‘तपाईहरु कुनै पनि अप्ठ्यारो कुनै हिच्किचाहट नराखी मसँग भेटेरै बताउन सक्नुहुन्छ, आवश्यक परेका बेला म सबैलाई भेट्न समय मिलाउँछु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री थिइन् । त्यसअघि स्वास्थ्य राज्यमन्त्री भएर वर्तमान मन्त्रिपरिषद्मा उनी प्रवेश गरेकी थिइन् । नेकपा एमालेबाट राजनीति सुरु गरेकी उनी ३७ वर्षदेखि सक्रिय राजनीति गरिरहेकी छन् ।