संसद विघटनको विरोधमा कुकुरको प्रयोग, पशु अधिकारकर्मीको आपत्ति
काठमाडौंँ । संसद विघटनविरुद्ध विभिन्न पक्षधर नेता तथा कार्यकर्ताले देशभर विरोध गरिरहेका बेला शनिबार दोलाखाको चरिकोटमा भने केही फरक दृश्य देखियो । चरिकोट बजारमा शनिबार प्रदर्शनकारीले कुकुरको घाँटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो झुन्डाएर कुकुरलाई बाटोमा छोडेका थिए ।
जिल्ला प्रहरी कार्यालय चरिकोटका अनुसार, प्रर्दशनकारीले त्यसरी कुकुर छोडेको केही समयमा नै कुकुरलाई नियन्त्रणमा लिएर फोटो हटाइएको थियो । त्यसरी, कुकुरको घाँटीमा प्रधानमन्त्री ओलीको फोटो कसले राखेको हो भन्ने कुरा भने नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए ।
नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध देशभर विरोध कार्यक्रम जारी राखेका छन् । त्यसरी, कुकुरको गलामा प्रधानमन्त्रीको तस्बिर राखेर प्रदर्शन गरिएकोमा भने सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
पशु अधिकाकर्मीले कुकुरमाथि निर्दयी व्यवाहार भएको जनाउँदै उक्त प्रदर्शनविरुद्ध सामाजिक सञ्जाल मार्फत विरोध जनाएका छन् ।
लामो समयदेखि पशु अधिकारको विषयमा आवाज उठाउँदै आएकी स्नेहा श्रेष्ठले उक्त प्रदर्शनको विरोध जनाउँदै फेसबुकमा स्टाटस नै लेखेकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्–
‘आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने सन्दर्भमा अबोध प्राणीमाथि यस्तो निकृष्ठ अनि निर्दयी व्यवहार गर्नु निकै नै लज्जास्पद अनि दुःखद् कुरा हो । यस्ता मानिसले सडक तताएर मुढे बलले सत्ता त प्राप्त गर्न सक्लान् तर जनताको मन मुटुमा बास गर्न कदापि सक्दैनन् । यो अबोध प्राणीलाई देशको राजनीतिक खिचातानी र राज्यसत्ताको फोहोरी खेलबारे कुनै जानकारी छैन अनि मतलब पनि छैन । तर उसले किन यो तड्पन र यातना भोग्नु परेको छ त ? त्यो पनि हामी विवेकशील भनाउँदा मानिसबाट । आखिर कहिलेसम्म चल्छ यो अत्याचार ? यस्ता अबोध प्राणीको आवाज भनेको हामी विवेकशील मानव नै हौं । यस्ता अत्याचारविरुद्ध आवाज उठाउनु हामी सबैको दायित्व हो । अधिकारकर्मी श्रेष्ठले स्नेहाज केयर सेन्टर सञ्चालन गरेर छाडा पशुचौपाया व्यवस्थापन तथा उद्दार गर्ने काममा सक्रिय छिन् ।