बेमौसमी तरकारी खेतीमा आकर्षण हुदैँ जुम्लाका स्थानीयवासी
जुम्लाका स्थानीयवासी बेमौसमी तरकारी खेतीप्रति पछिल्लो समयमा आकर्षण भएका छन् । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि यहाँका आठवटै स्थानीय तहका स्थानीयावासीका घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् ।
हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन गर्न थालेका तिला गाउँपालिका–१ का स्थानीयवासी भीमबहादुर बुढाले बताए ।
उनले भने,जिल्लामा हिउँदको समयमा तरकारी अभाव हुने गरेको छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ ।
तराईबाट आएको तरकारी महँगो हुने भएपछि घरमै आफैँ उत्पादन गरेको तरकारीले घरमा खानेदेखि बजारमा बिक्री हुने भएकाले यस समयमा यहाँका किसान तरकारी खेतीमा आकर्षित भएको उनले बताए ।
विदेशी मुलुकबाट घर फर्केका युवामा यस पेशमा आकर्षण भई बेमौसमी तरकारी खेतीमा लागेको स्थानीयवासी सरोज केसीले जानकारी दिए ।
प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि यस समयमा बेमौसमी तरकारी उत्पादनमा यहाँका स्थानीयवासी लागिपरेका स्थानीयावासी उनले बताए ।
सिंजा गाउँपालिका स्थानीयवासी गगन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन गर्न गाउँका स्थानीयवासीको प्रतिस्पर्धा हुनेगरेको बताए ।
उनका अनुसार, “तरकारी खेती गर्न थालेपछि किसानको आम्दानीको स्रोतदेखि ग्रामीण भेगका महिलाको व्यक्तिगत विकासदेखि जीविकापार्जनमा मद्दत पुगेको छ ।
बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको यहाँका बेमौसमी तरकारी खेतीमा लागेकका स्थानीयवासी बताउँछन् ।
प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा १५ देखि २० मा बिक्री हुने गरेको छ । स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गर्ने गर्छन् ।
सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा यहाँका स्थानीयवासीमा आकर्षण बढेको हाे ।
मङ्सिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको छ । बारीमा आएर साग, धनियाँ, टमाटर र गाँजर किन्न आउने गरेका किसान रामप्रसाद धितालले बताए ।