बस्तीमा वन्यजन्तु पसेपछि किसानलाई सास्ती
दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि महोत्तरीका किसान हैरान छन् । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्तीमा पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।
नीलगाई र बँदेल हुल (समूह) मै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमिटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् ।
बाँदर र दुम्सीले भने वन क्षेत्र नजिकका बस्तीमा आतङ्क मच्चाएका जिल्लाका सर्वसाधारणको भनाइ छ । अहिले हिउँदे तरकारी र केराका बोट बँदेल र नीलगाईले नोक्सान गर्ने गरेको भारतीय सीमावर्ती जलेश्वर नगरपालिका–५ चौडिया बस्तीका रहिमन मण्डलले बताए ।
दिनभरि झाडीमा लुकेर बस्ने नीलगाई र बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको मण्डलको भनाइ छ । नीलगाई जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका बस्तीमा पनि बाक्लै देखिएका छन् ।
नीलगाईचाहिँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेलले भने बस्तीभित्रै पसेर घरकरेसाका केराका थामसमेत लडाउने गरेको सम्सीगाउँका इम्तियाज अहमद बताउँछन् ।
नीलगाई मानिसको दचकले भाग्ने गरे पनि बँदेलचाहिँ झम्टन आउने गरेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताए । बँदेलले फुलगोभी, बन्दागोभी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ ।
राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलका डरले खेतबारी डुल्न, घाँसपातको काममा निस्कन डर लाग्ने गरेको रामगोपालपुर नगरपालिकाको सहसौला बस्तीका चैनकिशोर यादव बताउँछन् ।
जिल्लाको बर्दिवास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरिपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भूचक्रपुर, राजपुर र धतियाटोलतिर त पछिल्ला चार-पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ ।
बँदेलले त कैयन छिमल बच्चा पनि यतै हुर्काइसकेका रामनगर बस्तीका किसान नारायण दाहाल बताउनुहुन्छ । दुम्सी पनि आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेको दाहालले बताए ।
नीलगाई, बँदेल र दुम्सी जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वनक्षेत्र वरिपरिका बस्तीबाट तल नझरेकाे सर्वसाधारण बताउँछन् ।
उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनियाँ र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरूको भनाइ छ ।
वनक्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीहरूको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती-बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेकाहरूले बताए ।
प्रतिक्रिया