५० लाख लगानीमा बाख्रा फार्म : मासिक २ लाख आम्दानी, ४ जनालाई राेजगारी
केशव चापागाईं ।
बिर्तामोड । झापा अर्जुनधारा नगरपालिका ९ शनिश्चरेका युवा कमल कडरिया बाख्रा पालन गरेर मासिक दुई लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । उनी विगत ४ वर्षदेखि उन्नत जातको बाख्रापालन गरी पाठापाठी बिक्री गर्दै आएका छन् । १० वटा ५० प्रतिशतका बोयर जातका बाख्रा र एउटा एक सय प्रतिशतको बोयर बोकाबाट उन्नत बाख्रा पालन सुरू गरेका कडरियाले व्यवसाय बढाउँदै ५० लाख रूपैयाँ बढीको उन्नत बाख्रा फार्म निर्माण गरेका हुन् ।
उनका उमेरका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् तर कडरियाले भने फार्ममा ४ जना युवालाई रोजगारीसमेत दिएका छन् । सुरुमा आफूले यो व्यावसाय सुरु गर्दा आफन्त तथा साथीभाइले समेत उभो नलाग्ने व्यवसाय भनेर निरुत्साहित गर्ने गरेको बताउने कडरिया अहिले भने सबैले आफ्नो तारिफ गर्ने गरेको अनुभव सुनाउँछन् ।
लगनशील र मेहनतका साथ काम गरे जेमा पनि सफलता मिल्ने उनले बताए । ‘आफ्नै देशमा बसेर मासिक दुई लाख रुपैयाँ कमाई हुन्छ भने किन विदेश जाने,’ उले भने, ‘रोजगारी खोज्दै विदेशिनुभन्दा स्वदेशमै केही गर्न युवाहरुलाई सुझाव दिन चाहान्छु ।’
आर.के एग्रीकल्चर नाम दिएर स्वरोजगार बनिरहेका कमल परम्परागत शैलीभन्दा केही भिन्न विधि अपनाएर उन्नत बाख्रा पालन गरिरहेका छन् । उनले घाँस र दाना दुवैमा आधारित बाख्रा पालन गरेका हुन् । हाल उनकाे फार्ममा ६५ प्रतिशत, ७५ प्रतिशत, ८७ प्रतिशत र शत प्रतिशत गरी ४ किसिमका उन्नत बोयर जातका ६० वटा बाख्रा छन् ।
उनको फार्मको बाख्रा एक वर्ष पहिलेदेखि नै खरिदका लागि बुक हुने गरेको छ । झापाका तथा छिमेकी जिल्लाका स्थानीय सरकार र संघ संथाबाट पाठापाठीको अर्डर आउने गरेको कडरिया बताउँछन् । खर्च कटाएर हाल मासिक २ लाखसम्म कमाइ हुने गरेको बताउने कडरिया हाल पाठापाठी मात्रै बिक्री गर्दै अाएका छन् । अब उत्पादन बढाएर बोयर जातको खसीको मासुसमेत बिक्री गर्ने योजनामा रहेका छन् ।
हाल राज्यबाट अनुदान र सहुलियत पहुँचवालाले मात्रै लिँदै आइरहेको तितो अनुभव सुनाउँदै उनी भन्छन्– ‘कृषक नेता हैन सच्चा कृषकले अनुदान पाउने हो भने हामी अबको केही महिनामै मासुमा आत्मनिर्भर बन्ने छौँ ।’
कोरोनाबाट व्यापार व्यावसाय र नोकरीबाट समेत मानिस टाट पल्टिरहेको बेला बोयर जातको बाख्रा पालनबाट जिल्लामै नाम र दाम दुबै कमाउन सफल भएका छन् । उत्तम कृषि, मध्यम व्यापार र तुच्छ नोकरी भन्ने पुरानो कथनलाई यहाँस्थित युवाले सत्य सावित गरिदिएका छन् ।
प्रतिक्रिया