२५ रूपैयाँमा पनि बिकेन कुखुरा, देशभर ४१ लाख चल्ला, अण्डा र कुखुरा नष्ट, पाेल्ट्रीमा दैनिक २२ कराेडकाे घाटा

काठमाडाैं । लकडाउनका कारण पशुपन्छी पालक किसान उत्पादन गरिएका पशुपन्छी तथा पशुपन्छीजन्य उत्पादन बिक्रि हुन छाेडेपछि नष्ट गर्न थालेका छन् । २५ रुपैयाँ किलोमा पनि कुखुरा विक्री नभएपछि कञ्चनपुरका किसान कुखुरा नष्ट गर्न बाध्य भएका छन् । कतिपय किसानले एक सय रुपैयामा चार कुखुरा बिक्रि गर्न बाध्य भएका छन् । कतै २५ रुपैया किलो होलसेल दरमा बिक्रि गरिरहेका छन् । त्यति गर्दा पनि नबिकेपछि किसानले खाल्टो खनेर कुखुरा पुरिरहेका छन् । यो सम्भवत बोईलर कुखुरा पालनकाे इतिहासमै किसानले यस्तो दुर्दशा भोक्नु परेको छ । दाना नपाएर भीमदत्त नगरपालिका ९ ब्रम्हदेबका पदम नाथले ३ सय र लोक कार्कीले १२ सय चल्ला खाल्टोमा पुरिदिएका छन् । आहारा अभावका कारण खाल्टोमा पुरिदिएको उनीहरूले बताए ।

कुखुरा तथा अण्डा उत्पादक संघ कञ्चनपुरका अध्यक्ष बिक्रम नाथको दुई किसान कार्की र नाथले चल्ला नष्ट गरेको बताउँदै अरु किसानले समेत नष्ट गर्न तयार भएको बताए । आफ्नै फार्ममा कुखुराहरू ४५ दिन पार गर्दै मासुका लागि बिक्री गर्न लायक भएका भएपनि बेच्न नपाएको उनले बताए ।

चल्ला र अण्डा पुर्दै चितवनका व्यवसायी 

उता, चितवनमा चल्ला बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हालेर नष्ट गरेका छन् । ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार नेपालभरिबाट ३५ लाख ब्रोइलर, २ लाख लेयर्स, ४ लाख कलर ब्रोइलर गरी ४१ लाख अन्डा र चल्ला नष्ट गरिएको छ । नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २१ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको पोखरेलले बताए ।

दाना खान नपाएर कुखुरा मर्ने अवस्था भएपछि भरतपुर–१३ गंगानगरका लेयर्स कुखुरापालक किसानहरूले सित्तैमा स्थानीयलाई वितरण गर्न थालेका छन् । अन्डा बेचेर नाफा लिने वेला दाना अभाव भएपछि कुखुरा मर्न दिनुभन्दा सित्तैमा वितरण गर्न उचित ठानेको स्थानीय कुखुरापालक लक्ष्मी अधिकारी, रामचन्द्र ओझा र केशव रानाभाटले बताए ।

‘कुखुरा मर्न लाग्दासमेत दाना सप्लायर्स र उद्योगीहरूले दाना दिएनन् । त्यसपछि सित्तैमा वितरण गर्‍यौँ,’ ओझाले भने । त्यस क्षेत्रका ८ जना किसानहरूले करिब १० हजार कुखुरा त्यसरी नै खोरबाट हटाइसकेका छन् । लेयर्स कुखुराले ६ महिनापछि अन्डा दिन सुरु गर्छ । करिब १८ देखि २० महिनासम्म ती कुखुराहरूले अन्डा दिन्छन् । सप्लायर्सहरूले आफैंलाई अन्डा र कुखुरा बिक्री गनुपर्ने, नियमित रूपमा दाना, चल्ला आफूले व्यवस्थापन गरिदिने मौखिक सहमति पनि हुन्छन् । तर, लकडाउनको कारण देखाउँदै दाना सप्लायर्सहरूले नगद नदिएसम्म किसानलाई दाना नदिने भने बेइमानी गरेका छन् ।

१२ सय लेयर्स कुखुरा पालेकी किसान लक्ष्मी अधिकारी भन्छिन्, ‘कानको सुनको मुन्द्री लैजानुस्, अहिले नगद छैन भन्दा पनि सप्लायर्सले दाना ल्याएन । झन्डै ४ सय कुखुरा भोकले खुट्टा टेक्न नसक्ने भएपछि मरे । ५ लाखभन्दा बढी कुखुरापालन सुरु गर्दाको नै ऋण छ ।’

भरतपुर–१३ गंगानगरकै किसान चित्रबहादुर रानाभाटले ११ सय कुखुरालाई भकारीको धान पिनेर दानाका रूपमा खुवाइरहेका छन् । ६ वर्षदेखि कुखुरा पाल्दै आएका उनलाई यो संकट कसरी कटाउने भन्ने मात्र चिन्ता छ । गंगानगर क्षेत्रमा मात्र ३० भन्दा बढी कुखुरापालक किसान छन् । ५ सयदेखि ५ हजारसम्म उनीहरूका खोरमा कुखुरा छन् । लकडाउन केही समय अझै लम्बिए व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था रहेको अर्का किसान विष्णु लामिछाने बताउँछन् । उनका अनुसार त्यस क्षेत्रका ८ किसानका १० हजारभन्दा बढी कुखुरा नाफा लिने समयमा खोरबाट हटाइएको छ ।

पाल्पाका किसान बिक्री नभएपछि कुखुरा मार्दै

पाल्पामा कुखुरा बिक्री नभएपछि रैनादेवी छहरा गाउँपालिकाका २ किसानले ६ हजार कुखुरा मारेर खाल्टामा पुरेका छन् । बिक्री गर्न तयार भएका कुखुरा आधा सस्तोमा दिँदासमेत नबिकेपछि मार्न बाध्य भएको हाइलाइट मरासिनी कृषि तथा पशुपक्षी फर्म छहरा गाउँपालिका–३ भुवन पोखरीका सञ्चालक वेदप्रसाद मरासिनीले बताए । केही महिनाअघि घर धितो राखेर ज्योति विकास बैंकबाट कर्जा लिई कुखुरापालन सुरु गरेका मरासिनीले १५ लाख रुपैयाँबराबरको नोक्सान भएको बताए ।

अर्का किसान मोहन पौडेलले पनि दाना र बजारको अभाव हुँदा ५ सय कुखुरा मार्न बाध्य भएको उनले बताए । गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले क्षतिका आधारमा किसानलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।

कैलालीमा ११ हजार चल्ला नष्ट

धनगढीकाे गौरीगंगा नगरपालिका–६, को भैरव पोल्ट्रीले लकडाउनका कारण दाना अभाव भएपछि १ हजार चल्ला खाल्टोमा पुरेको छ । धनगढीको युनाइटेड पोल्टी फर्मले पनि साढे १५ सय चल्ला खाल्टोमा पुरेको छ । दाना अभावकै कारण कैलालीमा ११ हजार चल्ला नष्ट गर्नुपरेको पोल्ट्री व्यवसायी संघका अध्यक्ष भुवन पाण्डेयले बताए । अन्डा उत्पादनका लागि पालिएका कुखुरा पनि दाना नपाएर मर्न थालेको व्यवसायीहरूको गुनासो छ । घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी पोल्ट्री फर्मका सञ्चालक पहल देउवाले आफ्नो फर्ममा रहेका १७ हजार लेयर्स कुखुरामध्ये दाना नपाएर ३ हजार मरेको बताए । त्यस्तै, लकडाउन भएयता उत्पादन भएका १ लाख ४७ हजार अन्डा बजारमा पठाउन नपाएको उनले बताए । संघका अनुसार पोल्ट्री व्यवसायमा कैलालीमा मात्रै ५ अर्ब लगानी छ ।

पाल्ने कि मार्ने चिन्तामा प्युठानका किसान

प्युठानमा ब्रोइलर फर्म सञ्चालकहरू ब्रोइलर पाल्ने कि मार्ने भन्ने अवस्थामा पुगेका छन् । सामान्यतः ४० देखि ६० दिनभित्रमा कुखुरा बेचिसक्नुपर्ने भए पनि ८० दिनसम्म पनि खोरमा जसोतसो जिउँदै राख्न सफल भए पनि बेच्न कहाँ, कसरी लैजाने भन्नेबारे चिन्तामा रहेको जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष पण्डितले बताए । सर्वसाधारणले मासु नै नखाइदिँदा पनि बिक्री नभएको प्युठान नगरपालिका– २ दाखाक्वाडीका कुखुरा व्यवसायी मुक्ति पोखरेलले जानकारी दिए ।

१४ लाख कुखुरा नष्ट गरिदिन हेटाैंडाका व्यवसायीकाे आग्रह, ब्यवसायीको ५ अर्ब लगानी जोखिममा

हेटौडामा कुखुरा ब्यवसायीले जिल्लाभर उत्पादित १४ लाख कुखुरा नष्ट गरिदिन प्रशासनलाई आग्रह गरेको छ । लकडाउन लामो समयसम्म लम्बिने, वातावरण अनुकूल र सहज नभए कुखुरा खोरमै मर्ने परिस्थिति बन्ने भएकाले प्रशासनलाई नष्ट गर्न आग्रह गरिएको संघले जनाएको छ । कुखुराका लागि आवश्यक दाना किसानले नपाएको, उत्पादित कुखुरा, अन्डा, चल्ला बिक्री नहुँदा नष्ट गर्नुको विकल्प नभएकाले अभिलेख राखेर चल्ला नष्ट गर्ने वातावरढा बनाइदिन आग्रह गरेको संघका अध्यक्ष अध्यक्ष राजु अधिकारीले बताए ।

संघका अनुसार जिल्लाका १ हजार ५ सयजना कुखुरापालक किसानहरूको करिब ५ अर्ब बढी लगानी जोखिममा परेको छ । ‘देश ठप्प छ, व्यवसाय पनि ठप्प छ, आर्थिक जोह गर्न कठिनाइ परेको यस्तो संकटमा सबै किसानको लगानी जोखिममा परेको छ,’ उनले भने ।

बजार नखुल्दा झापामा करोडको लगानी डुब्दै

झापाकाे दमक–१० को दमक एग्रिकल्चर फार्ममा अन्डा पार्ने लेयर्स जातका २५ हजार कुखुरा छन् । फार्ममा ८ करोड लगानी भइसकेको सञ्चालक देवेन्द्र प्रसाईंले जानकारी दिए । तर, लकडाउनले दाना पाउन समस्या भएपछि लगानी डुब्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले भने, ‘१० दिनसम्म यस्तो भयो भने कुखुरा पुर्न डोजर खोज्न थाले हुन्छ ।’ दमककै अर्का कृषक भरत चम्लागाईंको मेघ एग्रिकल्चर फार्मको ७ करोड लगानी डुब्ने अवस्थामा पुगेको उनले बताए ।

दाना आपूर्ति गर्नसक्ने अवस्था छैनः दाना उद्योग संघ

नेपाल दाना उद्योग व्यवसायी संघ चितवनका अध्यक्ष बालचन्द्र खनालले अहिलेको अवस्थामा संघले दाना आपूर्ति गर्न नसक्ने बताए । सप्लायर्स र किसानबीच भद्र सहमति विगतमा भएका होलान्, तर अहिले अवस्था जटिल छ । दाना आपूर्ति कठीन छ । देशभर ३ हजारदेखि ३५ सय टन दाना प्रतिदिन आवश्यक पर्छ । चितवनको कुखुरालाई मात्रै अहिले दैनिक एक हजार टन दाना चाहिन्छ ।(नयाँ पत्रिकाबाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *