डडेलधुराको जंगलमा आधा दर्जन गाईको पासो लगाएर कसले गर्याे हत्या ?

काठमाडौं । डडेलधुराको एक जंगलमा आधादर्जन गाईको पासो लगाई हत्या गरिएको अवस्थामा कंकाल फेला परेको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ स्थित देउपाल सामुदायिक वनको भिरालोमा तटबन्ध गर्ने ग्याविन तारले सल्लाको रुखमा पासो लगाई झुण्ड्याएर हत्या गरेको अवस्थामा कंकाल फेला परेको भदगाउँ बजारस्थित प्रहरी चौकीका सब इन्सपेक्टर करवीर सिंह ऐरले भेट खबर अनलाइनसँग बताए । बुधबार साँझ ६ बजे गाईको सामुहिक कंकाल फेला परेको जानकारी पाएपछि आफ्नो नेतृत्वमा टोली घटनास्थल पुगरेर अनुसन्धान सुरु गरेको उनले बताए ।

‘तारले पासो लगाइ भिरालो ठाउँका सल्लाको रुखमा झुन्डिएको अवस्थामा ५ ओटा गाईको कंकाल फेला परेका छन्,’ उनले भने, ‘एउटा गाई भने झुण्ड्याएको तारबाट फुत्तिएको अवस्थामा मृत फेला परेको छ भने एउटा रुखमा भने तारको पासो मात्रै फेला परेकाे छ ।’

उनका अनुसार ७ ओटा सल्लाको रुपमा तारको पासो भएकोले ७ ओटा गाईलाई पासो लगाइएको हुन सक्छ । जंगलबाट तल्लो भागमा पर्ने गाउँबाट माथि पर्ने साे जंगलमा गार्इ लैजान सक्ने सम्भावना नरहेकोले जंगलभन्दा माथि पर्ने बजार इलाकाबाट गाईलाई ल्याएर रुखमा झुण्ड्याइएकाे हुन सक्ने देखिएको छ ।

करिब ७ दिनभन्दा अघि नै गाई मरिसकेको जस्तो देखिएकोले भोक, जंगली जनाबरको आक्रमण र ग्याबिन तारले रुखमा बाँधेर छोडिएका गाई भिरालोमा झुण्डिएर मरेको आशंका प्रहरीले गरेको छ । ‘घटना स्थलमा हामी पुग्दा पनि स्याल, चिल, कागलगायत जंगली जनावर तथा पन्छीले गार्इकाे सिनाे लुछिरहेकाे पाएका थियाैं,’ उनले भने ।

घटनास्थलमा हाल डडेलधुराका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दधिराम न्यौपानेसहित स्थानीय पत्रकारको टोली हाल घटनास्थलमा पुगेको छ । घटनामा संलग्नमाथि कडा कारवाही गरिने प्रहरीले जनाएको छ ।

यसअघि गत भदौमा सुर्खेतको जंगलमा ३ दर्जन गाईको हत्या गरिएको थियो । गाई नेपालको राष्ट्रिय जनावर भएकोले गौहत्यालाई कानुनले निषेध गरेको छ । हत्या गर्ने तथा संलग्नमाथि कानुनी कारवाहीकाे व्यवस्थासमेत गरेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *