पशु सेवा विभागको चरम लापरवाही, कोरोनाग्रष्त फ्रान्सबाट कालिजका २० हजार अण्डा आइपुगे एयरपोर्ट भन्सारमा (सिफारिस पत्रसहित)
काठमाडौं । कोरोना संक्रमित देश फ्रान्सबाट अनुमति नै नलिई नेपालमा कालिजको अण्डा भित्रिएको पाइएको छ । काठामाडौंको फार्म टु प्लेट प्रालिले पशु सेवा विभागको अुनमतिविना नै फ्रान्सबाट कालिजको अण्डा ल्याएको हो । उसले ३ चैतमा पशु सेवा विभागअन्तर्गतको भेटेरिनरी गुणस्तर तथा औषधी व्यवस्थापन कार्यालय बुढानीलकण्ठबाट अण्डा ल्याउने अनुमति पाएको थियो । अण्डा आयातका लागि अनुमति माग गर्दै १९ माघमा पशु सेवा विभागमा आवेदन दिएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २७ फागुनमा ‘कोभिड–१९ संक्रमित मुलुकहरुबाट आयात इजाजत पत्र नलिइकन आयात गरिएका पशु तथा पशुजन्य विरुवा तथा विरुवाजन्य तथा खाद्य वस्तुको कन्साइन्मेन्टहरुलाई नष्ट गर्ने प्रक्रिया अवलम्बन गर्ने’ सचिवस्तरीय निर्णय गरेको छ । मन्त्रायको उक्त निर्णयको उलंघन गर्दै पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले ५ चैतको बैठकबाट अनुमोदन गर्ने गरी ३ चैतमै फार्म टु प्लेट प्रालीलाई आयात सिफिरिस दिन भेटेरिनरी गुणस्तर तथा औषधी व्यवस्थापन कार्यालयलाई तोक आदेश दिएका थिए ।
फार्म नै दर्ता नभई आयात सिफारिस
व्यावसायिक पन्छी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका २०७१ अनुसार कम्पनी रजिष्ट्रार कार्यालयमा विधिवत दर्ता भएको फार्म सञ्चालनका लागि पशु सेवा विभागमा दर्ता गर्नुपर्छ । तर, फार्म टु प्लेट प्रालि पशु सेवा विभागमा दर्ता नै नभई अण्डा आयातको सिफारिसका लागि विभागमा निवेदन दिएको पाइएको छ । पशु सेवा विभागमा फार्म दर्ता गर्न विभागले ‘फिल्ड भेरिफिकेशन’ गर्नुपर्ने प्रावधान छ ।
यी व्यवस्थाको ठाडो उलंघन हुने गरी विभागले उक्त फार्म दर्ता नै नभई ३ चैतमै सिफारिस दिएको पाइएको पाइएको छ । विभागले आफ्नो गैर कानुनी कार्य लुकाउन फार्म दर्ताका लागि भौतिक संरचनाको अनुगमन गरेको तथा अनुको प्रतिवेदन बुझाएको ३ चैतकै कागजातसमेत तयार पारेको पाइएको छ । र, दर्ता प्रक्रिया नै पूरा नभएको फार्मलाई त्यही दिन अर्थात ३ चैतमै अण्डा आयातको सिफारिस पत्र दिएको पाइएको छ । यसरी फार्म दर्ताका लागि ‘फिल्ड भेरिफिकेशन’, फार्म दर्ता र आयात सिफारिस दिने कामसमेत एकै दिन अर्थात् ३ चैतमै महानिर्र्देशक डा. शर्माको दबाबमा भएको पाइएको छ ।
शनिबार कै दिन निवेदन दर्ता
यो भन्दा अर्को हास्यास्पद नक्कली कागजात त के छ भने फार्म टु प्लेटले २०७६ चैत १ गते शनिवार दिएको निवेदनअनुसार उक्त फार्म दर्ताका लागि सिफारिस दिएको पत्र ३ चैतको मिति राखेर बनाइएको छ । जबकी नेपालको वैधानिक क्यालेन्डर अनुसार शनिबार बिदाको दिन कुनै पनि सरकारी कार्यालयमा औपचारिक निवेदन दर्ता हुने प्रावधान नै छैन ।
सञ्चालक भन्छन्– काननु थाहा छैन
यससम्बन्धमा फार्म टु प्लेट प्रालिका सञ्चालक चिरिञ्जिवी ढकालसँग जिज्ञासा राख्दा ढकालले आफूलाई नेपालको कानुनबारे सम्पूर्ण रुपमा जानकारी नभएको प्रतिक्रिया दिए । ‘मैले १९ माघमा पशु सेवा विभागमा सिफारिसका लागि निवेदन दर्ता गरेको र विभागले ३ चैतमा फार्म दर्तासहित आयात अनुमति दिएको हो,’ सञ्चालक ढकालले भने, ‘म बेलायत बस्दै आएको छु, सेवाग्रहीको हिसाबले मैले आफ्नोतर्फबाट दिनुपर्ने आवेदन दिएको हुँ, विभागले कानुन अनुसार नै मलाई सिफारिस पत्र दिएको छ भन्ने मलाई लागेको छ ।’
राष्ट्र बैंकको परिपत्रअनुसार पनि गैरकानुनी आयात
यसबाहेक नेपाल राष्ट्र बैंकको ‘विदेशी विनिमय कारोवार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६’ अनुसार पनि यो आयात गैरकानुनी देखिएको छ । उक्त परिपत्र अनुसार ‘जैविक पदार्थ, चल्ला वा माछाका भूरा वा पशु दाना निकासी वा पैठारी गर्न चाहने कुनै पनि व्यक्ति वा फर्मले तोकिएको निकायबाट सिफारिस पत्र लिएको हुनुपर्ने गरेको छ । उक्त सिफारिस पत्र पेश गरेपछि मात्र विदेशबाट त्यस्ता पदार्थ ल्याउन राष्ट्र बैंकको स्वीकृति एलसी खोलिन्छ र रकम पठाउन पाइन्छ । तर, यस्तो व्यवस्थाको समेत उलंघन हुने गरी फार्म टु प्लेटले २१ फागुनमा अण्डा नेपाल भित्र्याएर ३ चैतमा मात्रै पशु भेटेरिनरी गुणस्तर तथा औषधी व्यवस्थापन कार्यालयबाट आगामी बैठकबाट अनुमोदन गर्ने गरी आयात सिफारिस लिएको छ ।
महानिर्देश शर्मा भन्छन्– विभागले सिफारिस नै नदिई एलसी कसरी खुल्यो ?
विभागका महानिर्देशक वंशी शर्माले भने पशु भेटेरिनरी गुणस्तर तथा औषधी व्यवस्थापन कार्यालयले सिफारिस दिनुअघि नै एलसी खोलेर नेपालमा अण्डा आउनुमा विभागको कुनै कमजोरी नभएको दाबी गर्छन् । ‘कार्यालयको सिफारिस पत्रका अधारमा बैंकले एलसी खोलेर पैसा पठाएपछि मात्रै विदेशबाट आयात हुनुपर्ने हो,’ उनले भने, ‘हामीले ३ चैतमा सिफारिस दिएका थियौं तर सिफारिस पाउनुभन्दा पहिल्यै काठमाडौंमा सामान आइसकेपछि हामीले ६ चैतमा उक्त रिसफारिस पत्र रद्ध ग¥यौं ।’
तर, डा. वंशीले २७ फागुनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवस्तरीय निर्णयको उलंघन गर्दै कोरोना अति प्रभावित मुलुक फ्रान्सबाट अण्डा आयात गर्ने सिफारिस दिन औषधि व्यवस्थाप कार्यालयलाई ३ चैतमा तोक आदेश दिनु नै गम्भीर कानुनको उलंघन भएको छ । यद्यपी, २७ फागुनको मन्त्रालयको निर्णयअनुसार आयात प्रतिबन्ध गर्ने मुलुकको सूचीमा फ्रान्स नरहेको र २८ गते थप भएका ३ मुलुकमा फ्रान्स पनि परेको तथा मन्त्रालयबाट उक्त निर्णयको जानकारी विभागमा आउने प्रक्रियाले ढिला मात्र प्राप्त भएकोले ३ चैतमा सिफारिस दिइएको उनले बताए । पछि यी सबै निर्णय र आयात भइसकेको पाएपछि सिफारिस रद्ध गरिएको महानिर्देशक डा. शर्माले बताए ।
यस विषयमा पशु सेवा विभागको क्यारेन्टाइन महाशाखा प्रमुख डा. टंकप्रसाद प्रसाईंसँग भेट खबरले जिज्ञासा राख्न खोज्दा उनी फोन सम्पर्कमै आउन चाहेनन् ।
महानिर्देशकको दबाब, दोषी बनाइँदै कार्यालय प्रमुख डा. राम नन्दन तिवारी
आयातकर्ताले पेश गरेको निवेदनमा विभागका महानिर्देशकले आवश्यक कार्यार्थ भनेर तोक लगाएको खण्डमा सोही अनुसार हुने र फार्म टु प्लेट प्रालिको हकमा आगामी बैठकबाट अनुमोदन गर्ने गरी आयात सिफारिस दिन लिखित तोक आदेश प्राप्त भएकोले आफूले सिफारिस दिएको बताए । ‘विभागीय प्रमुखले दिएको निर्देशनको पालना गर्नु शाखा प्रमुखको हिसाबले मेरो कतव्र्य र बाध्यता पनि भएकोले मैले सिफारिस गरेको हुँ,’ उनले भने, ‘पछि सिफारिस रद्ध पनि भएको छ ।’
मन्त्रीको सचिवालय भन्छ– कानुनभन्दा बाहिर जान कसैलाई दबाब दिइएको छैन
उक्त अवैध आयातबारे कृषि तथा पशुपन्छी मन्त्रीको सचिवालयका प्राविधिक सल्लाहकार डा. शिशिर भण्डारीसँग बुझ्दा उनले कानुन र मन्त्रालयकै निर्णयको उलंघन हुने गरी आयात अनुमति दिन मातहतका कुनै पनि निकायका प्रमुखलाई दबाब नदिइएको बताए ।
‘त्यस्तो अवैध काम गर्न मन्त्री ज्युको सचिवालयबाट वा मन्त्रालयबाट कुनै विभागीय प्रमुखलाई दबाब दिइएको छैन,’ उनले भने, ‘कसैले दबाब आएको भनेको छ भने त्यो सरासर झुट हो ।’ विभागलाई नेपालको प्रचलित ऐन कानुनको परिधिभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको र कानुनबाहिर गए कारवाही हुनेसमेत उनले बताए ।