‘समस्या पहिचान गरेर जरा उखेल्छु’
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको कोषाध्यक्षमा यहाँको उम्मेदवारी किन ?
देशैभरका मतदाता साथीहरू, शुभचिन्तकहरूको आग्रह र दबाब ममाथि छ । संघको कोषाध्यक्ष पदमा म निर्वाचित भएँ भने संघको कोष पारदर्शी हुने साथीहरूको विश्वास छ । उनीहरूको आग्रहलाई स्वीकार गरी मैले केही एजेण्डाहरूका साथ कोषाध्यक्ष पदमा उम्मेदवार बन्ने निधो गरेको हुँ । आफनो ३० वर्षको व्यावसायिक यात्रा र अनुभवको आधारमा उम्मेदवार हुने जमर्को गरेको हुँ । यसमा सबै साथीहरूको सहयोग र समर्थन रहने विश्वास छ ।
के–के छन् तपाईंका एजेण्डाहरू ?
मुख्यतः संघको आर्थिक पाटोलाई पारदर्शी, व्यवस्थित र आधुनिकीकरण गर्ने मेरो उद्देश्य हो । व्यवसायीको नवीकरण, सदस्यता वितरण आदिलाई अनलाइन प्रणालीमा लैजाने, सात वटै प्रदेश र संघको २२ वटा शाखाहरूलाई कोषसँग सिधा सम्पर्क बढाउने, संघको लेखा प्रणालीलाई डिजिटिलाइज्ड बनाउने आदि मेरो एजेण्डा हुन् ।
आयातकर्ता, थोक र खुद्रा गरी संघमा तीन तहको प्रणाली छ । यी तीनै तहबीच समन्यवकारी भूमिकाको विकास होस् भन्ने मेरो चाहना हो । यसलाई थप नयाँ शिराले मेरो सोच छ । महाधिवेशनपछि सात वटै प्रदेश र २२ वटा शाखाको भ्रमण गरी व्यवसायीहरूका समस्यालाई पहिचान गरेर जरै उखेल्ने मेरो प्रयास हुनेछ ।
वर्तमान कार्यसमितिको कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?
यो कार्यसमिति अत्यन्तै सफलतापूर्वक आफनो दुई वर्षको कार्यकाल पूरा गरेको छ । यसले व्यवसायीका हितलाई सम्बोधन गर्न सफल भएको छ । व्यवसायीका लागि महत्वपूर्ण मानिएको अभिमुखीकरण तालिम सफलताको अर्को सूचक हो । कार्यसमितिको नियमित बैठकमार्फत व्यावसायिक हितका विषयमा चिन्तन र छलफल भएको छ । यस्तै प्रदेश र जिल्लासँग पनि समन्वयका आधारमा छलफल भएको छ ।
संघको अब चयन हुने कार्यसमिति कस्तो हुनुपर्छ ?
संघको भावी कार्यसमिति व्यावसायिक कुरालाई अगाडि बढाउने खालको हुनुपर्छ । व्यवसायीको समस्यालाई सही तरिकाले पहिचान गरी तत्कालै सम्बोधन गरिनुपर्छ । अहिले औषधि व्यवसाय धरासायी हुँदै गइरहेको छ, यसको संरक्षणका लागि विशेष कार्ययोजना बनाउनुपर्छ । साथै आयातकर्ता, थोक र खुद्रा व्यवसायीबीच परस्पर समन्वय गरेर उनीहरूको हितमा काम गर्नुपर्छ ।
प्रतिक्रिया