भूकम्पले पशुपन्छीमा पौने ४ करोडको क्षति
काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार गएको ६।४ रेक्टर स्केलको भूकम्पले पशुपन्छीमा पनि ठूलो क्षति भएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा पौने चार करोडबराबरको पशुपन्छीको क्षति भएको छ । रुकुम पश्चिमको तुलनामा जाजरकोटमा धेरै क्षति छ ।
रुकुम पश्चिमका ६ मध्ये पाँच र जाजरकोटका दशमध्ये चार स्थानीय तहमा गरी कुल तीन करोड ७२ लाख ९२ हजार एक सय ७२ रुपैयाँबराबरको क्षति पशुपन्छीमा पुगेको तथ्यांक छ । दुई जिल्लामा गरी एक हजार ६ सय ३५ पशुपक्षी र गोठमा क्षति पुगेको छ ।
भूकम्पबाट जिल्लााका एक सय दुईजना कृषकका पशुपन्छी मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जाजरकोटले जनाएको छ । जाजरकोटमा मात्र तीन करोड सात लाख ४६ हजार ६ सय ७२ रुपैयाँबराबरको क्षति भएको कार्यालय प्रमुख ज्ञानुकुमार शर्माले बताए ।
कार्यालय प्रमुख शर्माका अनुसार जिल्लाभरमा कुल नौ सय ५७ वटा पशुपक्षी गोठमा क्षति पुगेको छ । जिल्लाभरमा ११ वटा गाईगोरु मर्दा दुई लाख २० हजार, एक सय ८० वटा भेडाबाख्रा मर्दा ३६ लाख, १९ वटा भैँसी मर्दा २२ लाख ८० हजार, ६ सय २९ वटा कुखुरा मर्दा एक लाख ६० हजार तीन सय ९५ र २० वटा टर्की मर्दा ६० हजारको क्षति भएको कार्यालय प्रमुख शर्माको भनाइ छ ।
त्यस्तै, ९८ वटा गोठ र खोर पूर्ण रूपमा भत्किँदा दुई करोड ४४ लाख २६ हजार दुई सय ७७ रुपैयाँको क्षति भएको शर्माले जानकारी गराए । जाजरकोटमा गोरु १५, बाख्रा पाँच सय २१, भैँसी १४ र गाई १८ गरी पाँच सय ६८ पशुपक्षीलाई उपचार गरी बचाइएको छ ।
यता रुकुम पश्चिममा ६ सय ७८ वटा पशुपक्षी र गोठमा क्षति भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर खड्काले जानकारी दिए । यसबाट जिल्लामा ६५ लाख ४६ हजार पाँच सय रुपैयाँको क्षति भएको उनले बताए ।
जिल्लामा सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा २५ लाख ७३ हजार र सानीभेरीमा २४ लाख ६९ हजार रुपैयाँबराबरको क्षति भएको छ । आठबिसकोटमा पाँच गाइगोरु, १० भैँसी, ३४ बाख्रा, तीन भेँडा र तीन सय ४२ कुखुरा मरेका छन् । कार्यालयका अनुसार आठबिसकोटमा एउटा खोर भत्किएको छ ।
सानीभेरीमा सात गाईगोरु, पाँच भैँसी, ६५ बाख्रा, एक सय ६ कुखुरा मर्दा एउटा गोठ भत्किएको छ । त्रिवेणी गाउँपालिकामा एक भैँसी, एक बाख्रा, दश टर्की, ५० कुखुरा र एउटा खोर गरी ६ लाख १५ हजार, मुसीकोटमा दुई भेँडा, ३३ कुखुरा र दुई खोर गरी आठ लाख ६९ हजार पाँच सय र चौरजहारीमा एउटा बाख्रा मर्दा २० हजारको क्षति भएको खड्काले जानकारी दिए । जिल्लाको बाँफीकोट गाउँपालिकामा भने पशुपन्छीमाा भएको क्षतिको विवरण भने कार्यालयसँग छैन ।
समस्या नहुने गरी व्यवस्थापन गरेको दाबी
जाजरकोट र रुकुम पश्चिमका पशु अस्पताल तथा पशु सेवा कार्यालयले भूकम्पका कारण मरेका पशु चौपायको सुरक्षित व्यवस्थापन गरिएको दाबी गरेका छन् । मरेका पशु चौपायालाई दुर्गन्ध नफैलिने गरी व्यवस्थापन गरिएको दुवै कार्यालयको दाबी छ । पशु अस्पताल सेवा कार्यालय जाजरकोटका प्रमुख शर्माले पशु चिकित्सकसमेतको सहभागितामा मरेका पशुपक्षीको व्यवस्थापन गरिएको बताए ।
प्रदेश पशुपन्छी विकास निर्देशनालय सुर्खेतबाट डा. सोविना मल्लको नेतृत्वमा आएको टोली र कार्यालयबाट डा. सुशील ऐरीको नेतृत्वमा खटिएको पशु स्वास्थ्यकर्मीको टोलीले मरेका पशुपक्षीको व्यवस्थापन गरेको उनले स्पस्ट पारे । भोलिका दिनमा कुनै पनि समस्या नआओस भन्ने ध्यानमा राखेर पशुपक्षीको व्यवस्थापन गरिएको उनको दाबी छ ।
पशुपक्षीलाई तुरुन्तै कुहाउनका लागि केमिकलसमेत प्रयोग गरिएको उनको भनाइ छ । यसका लागि पशु सेवा विभाग, प्रदेश पशुपन्छी विकास निर्देशानालय र नेपाल पारा भेटेरेनरी एन्ड लाइभस्टक एसोसिएसनलगायत निकायले सघाएको कार्यालयले जनाएको छ ।
मरेका पशुपन्छीका कारण दुर्गन्ध नफैलियोस र मानवीय स्वास्थ्यमा कुनै असर नपरोस् भनेर गम्भीर रहेको बताइएको छ । अहिलेसम्म रेकर्डमा रहेका सबै मृत पशुपक्षीको व्यवस्थापन गरिसकेको पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख खड्काले बताए ।
केही दुर्गममा अझै पनि मरेका पशु हुने सक्ने आशंकामा टोली खटाउने काम भइरहेको उनको भनाइ छ । अहिलेसम्म मरेका पशु रहेको भनेर कतैबाट जानकारी नआएको उनले बताए । त्यस्तै, मरेका पशुका कारण दुर्गन्ध फैलियो भनेर कतैबाट गुनासो नआएको उनको भनाइ छ । जिल्लामा पनि चिकित्सकसहितकै टोलीले मरेका पशुको व्यवस्थापन गरिएको छ । जिल्लामा क्षेत्रीय प्रयोगशाला सुर्खेतबाट डाक्टर राकेश प्रजापतिको नेतृत्वमा डाक्टर रमेश ढकालसहित चारजनाको टोली, पशु सेवा विभागबाट डाक्टर आभाष पौडेलको नेतृत्वमा तीनजनाको टोली, जिल्लाबाट आठजनाको टोली र नेपाल पाराभेटेरेनरी एन्ड लाइभस्टक एसोसिएसनका अध्यक्ष रामप्रसाद मेहता नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो ।
प्रतिक्रिया