व्यावसायिक गाईपालन, कस्तो चाहिन्छ खोर र आहारा ?

नेपालमा गाई मुख्यतया दूध उत्पादनको लागि पालिन्छ । जात र स्याहारसुसार जस्तैः आहार, स्वास्थ्य स्थिति आदिले यसको दूध उत्पादन क्षमतामा असर पार्दछ । उपयुक्त घाँस, दाना र पानीको व्यवस्था गरेमा उन्नत जातका पशुबाट राम्रो उत्पादनको आशा गर्न सकिन्छ । स्थानीय जातका पशुमा पनि स्याहारसम्भार एवं अन्य व्यवस्थापन राम्ररी गरिएमा राम्रो उत्पादन लिन सकिन्छ । यद्यपि, स्थानीय जातका पशुहरूमा वंशाणुगत रूपमै तिनको उत्पादन क्षमताको सीमा कम रहने गर्दछ । उन्नत जातका गाईले स्थानीय जातको तुलनामा धेरै गुणा बढी दूध दिन्छन् र बाच्छाबाच्छी पनि चाँडै हुर्कन्छन् ।

फलस्वरूप कम उमेरमा नै बाली खोज्ने हुनाले छिट्टै ब्याएर चाँडै दूध दिन थाल्छन् । उन्नत जातका गाईको २ बेतबीचको अवधि कम हुने हुनाले छिटो–छिटो व्याउँछन् । तसर्थ, उन्नत जातको गाई पालेमा बढी फाइदा लिन सकिन्छ ।

नेपालमा पालन गरिएका गाईभैंसीमा अधिकांश स्थानीय जातका छन् । उन्नत जातका गाईभैंसीको तुलनामा यस्ता गाईभैंसीबाट निकै कम दूध उत्पादन हुन्छ । त्यसकारण दूध उत्पादन बढाउन उन्नत नश्लको पशु, उपयुक्त आहारा र स्वास्थ्य व्यवस्थापन तथा बजारीकरणमा ध्यान दिनुपर्छ । हरियो घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत घटाउने हो भने गाईपालनबाट उचित फाइदा लिन सकिन्छ ।

घरपालुवा पशुहरूमध्ये गाई सर्वाधिक प्रचलित जनावर हो । गाई पाल्ने प्रचलन नेपालमा मात्र नभएर विश्वभरि नै छ । नेपालमा पनि परापूर्वकालदेखि नै गाई पालन हुँदै आएको देखिन्छ । हामीकहाँ खासगरी दूधका लागि गाई पालिन्छ । नेपालमा प्रचलनमा रहेका गाईपालन गर्ने तरिकाहरू निम्नानुसार छन् ।

क. चराएर पाल्ने
जमिन धेरै भएको ठाउँमा पशु वस्तुहरू चराएर पाल्ने तरिका प्रचलित छ । यस तरिकामा पशुवस्तुहरू चराउने प्रयोजनका लागि चरन खर्कहरू छुट्टयाइ व्यवस्थित तरिकाले चराइन्छ । यस्ता चरन खर्कहरूमा उन्नत घाँसहरू लगाएर वा आफैं उम्रेका घाँस र वनस्पतिहरूलाई जोगाएर राखिन्छ र वर्षको निश्चित महिनामा तोकेको खर्कमा चराइन्छ । यस्ता चरन खर्कहरू व्यक्तिगत वा समुदायविशेषको सामूहिक पनि हुन सक्दछन् । यस तरिकाको पशुपालन हाम्रो देशको उच्च पहाडी भागहरूमा बढी मात्रामा प्रचलित छ । खासगरी चौरीपालनमा यो अभ्यास बढी पाइन्छ । त्यसैगरी मध्य पहाडी भागमा पनि पशु चराउने गरिन्छ । यस प्रकारको पशुपालन व्यवयायमा पशुहरू पूर्ण रूपमा चरनमा नै निर्भर रहने गर्दछन् । कृषकको तर्फबाट नियमित रूपमा नुन दिने चलन छ ।

ख. चराउनुका साथै थप आहारा पनि दिएर पाल्ने

यो तरिकाको पशुपालनमा पशुहरूलाई चराउनुका साथै थप केही कृषिजन्य उप पदार्थहरू मिसाएर तयार गरेको दाना र डालेघाँसहरू पनि दिइन्छ । यो तरिकाको व्यवसाय हाम्रो देशको मध्य पहाडी भाग र तराई क्षेत्रमा बढी प्रचलित छ । यसअन्तर्गत पशुलाई बिहान र बेलुका दूध दुहुने समयमा गोठमा बाँधिन्छ र दिउँसो चरनमा पठाइन्छ । पशुलाई प्रायःजसो खुला चौर तथा वन जंगलको छेउछाउमा चराइन्छ।

ग. बँधुवा गरी पाल्ने
व्यावसायिक रूपले पशुपालन गर्दा यो तरिका अपनाइन्छ । यसमा पशुहरूलाई गोठमा बाँधेर राखिन्छ र तिनलाई चाहिने आवश्यक घाँस, दानापानीलगायत सबै सेवा बाँधेकै स्थानमा दिइन्छ । यसरी पशुपालन गर्न थोरै जमिन भए पनि हुन्छ । तर कृषकमा पशुपालन व्यवस्थापनसम्बन्धी प्राविधिक ज्ञानको राम्रो जानकारी हुन आवश्यक छ ।

खोरको व्यवस्थापन
गाईपालनबाट पूर्ण रूपमा उत्पादन लिन हर मौसममा आराम हुने किसिमको वासस्थान (गोठ) हुनुर्पछ । राम्रो तरिकाले बनाएको गोठमा गाई पाल्दा सन्तोषजनक उत्पादन लिन सकिने र रोग लाग्ने सम्भावना कम हुन्छ । लागिहाले पनि सहजै नियन्त्रण गर्न सकिन्छ । पशुका उमेरअनुसारका छुट्टाछुट्टै गोठहरू हुनु अति आवश्यक छ । गोठ पानी नजम्ने, निकासको राम्रो व्यवस्था भएको, चिसो सोस्ने किसिमको माटो भएको, जमिन केही उचो र मानव बस्तीभन्दा अलि पर हुनु उपयुक्त हुन्छ । गोठ रेखदेख गर्न पनि सजिलो हुने र बस्तीमा प्रदूषणको समस्या पनि नहुने किसिमको स्थान छनोट गर्नुपर्दछ । गोठको भुइँ सकभर सिमेन्ट र कंक्रिटबाट बनाइ हल्का किसिमले स्लोप (भिरालो) राखिएमा सफा गर्न सजिलो हुन्छ । गोठ बनाउँदा सकभर सस्तो स्थानीय सामग्रीको प्रयोग हुने गरी र मर्मत खर्च पनि सस्तो पर्ने तथा गोठ स्वस्थकर हुनुको साथै हिंस्रक जनावरहरू पस्न नसक्ने किसिमको हुनुपर्छ । गोठ निर्माण गर्दा यी कुरामा ध्यान दिनुपर्छ ।

गाईलाई दूध दुहुने र उपचार गर्ने समयमा बाहेक अन्य समयमा नबाँधीकन खुल्ला रूपमा राखिन्छ । खुल्ला क्षेत्रमा जाडो, गर्मी वा वर्षादको पानीबाट जोगाउन टहरो बनाएको हुन्छ । पशुलाई पानी पिउन र घाँस खान क्रमशः नाली र डुँडको व्यवस्था गर्नुपर्छ । पशुलाई दूध दुहुने घरमा लगेर दूध दुहिन्छ र त्यस बेलामा दाना दिइन्छ । यसरी पशुलाई नबाँधीकन राख्दा तिनीहरू स्वतन्त्र हुन्छन् र आराम महसुस गर्दछन।

फाइदा

  • यो तरिकाले पशु पाल्दा निर्माण खर्च कम लाग्छ ।

  • पशुले हिँड्डुल गर्दा प्रशस्त कसरत गर्न पाउँछन् र आराम महसुस गर्दछन् ।

  • पशुलाई सफा राख्न सकिन्छ ।

  • अलग घरमा दूध दुहुने भएकाले सफा दूध उत्पादन हन्छ ।

  • भविष्यमा फार्मको आकार बढाउन सकिन्छ ।

  • ज्यामी खर्च कम लाग्छ ।

बेफाइदा

  • बढी जमिनको आवश्यकता पर्छ ।

  • आहारा खाने बेलामा प्रतिस्पर्धा हुन्छ ।

  • चिसो र बढी पानी पर्ने यो तरिका सुहाउँदैन ।

  • हरेक गाई लाई हेरविचार पु¥याउन सकिदैन ।

  • दूध दुनको लागि अलग घर चाहिन्छ ।

  • बथानमा पशुहरूमा रोग फैलने सम्भावना बढी हुन्छ ।

गोठको निर्माण

१. गोठको जग र दिवाल
नरम माटो भएको स्थानमा अलि गहिरो र कडा माटो भएको स्थानमा अलि कम गहिराइ भए हुन्छ । जमिनमाथि ४ फिट माथिसम्म पानीले पखाल्न सहज हुने गरी चिल्लो पार्नुपर्छ । गोठको कुनाको भागलाई पुरेर गोलो पार्नु पर्छ । यसो गर्दा कुनामा धुलो जम्मा हुन पाउँदैन । साथै दिवालमा कोण परेको धारिलो भागलाई गोलो पारेमा चोटपटक लाग्न पाउँदैन ।

२. गाईको गोठको भुइँ क्षेत्र निर्माण
कडा, पानी नसोस्ने र सफा गर्न सजिलो हुने ढंगबाट निर्माण गर्नुपर्दछ । त्यसका लागि सिमेन्ट, कंक्रिट ढलान गरेर वा इँटा छपाएर वा ढुंगा छापेर गोठको भुइँ निर्माण गर्न सकिन्छ । सकेसम्म खुला क्षेत्र, नसके पनि बन्द क्षेत्र अनिवार्य सिमेन्टेड हुनु पर्दछ । यसरी भुइँ क्षेत्रको निर्माण गर्दा भुइँ नचिप्लिने र खस्रो खालको बनाउनु पर्दछ । गोठको भुइँ सामान्यतया जमिनदेखि ४० से.मि. जति उचो हुनु पर्दछ । भुइँ क्षेत्रको निकासका लागि सतह हल्का भिरालो बनाउनु पर्दछ । जसले गर्दा सफा गरेको पानी र पिसाब बगेर जान्छ ।

३. पर्खाल क्षेत्र
गोठको बन्द तथा खुला क्षेत्रको पर्खाल एकदमै मजबुत अर्थात् बलियो हुनु पर्दछ । पर्खाल बनाउँदा इँटा–ढुंगाबाट वा १०–१२ से.मि. बाक्लो रेनेफोर्स सिमेन्ट कंक्रिट पर्खाल पनि बनाउन सकिन्छ । यो नै सर्वोत्तम पर्खाल हुन्छ ।

भिरालो छाना भएको गोठमा बन्द क्षेत्रको पर्खालको उचाइ २.२५ मिटर र खुला क्षेत्रलाई १.५ मिटर अग्लो पर्खाल वा (galvanized corrugated Iron) ले घेरेको हुन पर्दछ ।

४. गोठको चौडाइ

  • एकोहोरो लाइनमा राख्दा ३.८० देखि ४.२५ मिटर

  • दोहोरो लाइनमा राख्दा ७.९ देखि ८.७ मिटर

गोठको लम्बाइ पशु संख्याको आधारमा निर्भर हुन्छ । त्यस्तै गोठको उचाइ, छानामा राख्ने सामग्री र हावापानीको अवस्थामा भरपर्छ । तापनि साधारणतया छानाको आधारसम्मको उचाइ २.२५ मिटर हुनुपर्छ ।

५. गेट

गोठभित्र प्रवेश गर्ने गेट १.२ मिटर फराकिलो हुनु पर्दछ । र यो फलाम वा बलियो काठबाट निर्माण गरिनु पर्दछ ।

६. छाना

छाना स्थानीय हावापानीमा सुहाउँदो हुनुपर्छ । गर्मी ठाउँमा हावा ओहोरदोहोर हुने व्यवस्था भएको दुईतिर भिरालो परेको (Gable roof) उपयुक्त हुन्छ भने चौडाइ कम भएको गोठमा दुईतिर भिरालो भई छानाको माथिपट्टि उठेको (Monitor roof) हुनु राम्रो हुन्छ । छाना हलुको बलियो, टिकाउ, हेर्दा आकर्षक, तापको कुचालक र पानी नचुहिने हुनु पर्दछ । छानामा राख्न सक्ने सामग्रीमा टायल, एस्वस्टस सिट, टिनको जस्तापाता, एल्मुनियम सिटको प्रयोग गर्न सकिन्छ । स्थानीय रूपमा पाइने सामग्री जस्तो, पराल, छवाली आदि पनि प्रयोग गर्न सकिन्छ । यस्तो छानो बनाउन सस्तो पर्ने र गोठलाई शीतलसमेत बनाउने भएता पनि आगो लाग्ने सम्भावनाबाट बचाउन सावधानी अपनाउनु पर्छ ।

७. दानापानी खाने क्षेत्रको निर्माण

जमिनबाट ५० से.मि. उचो हुनेगरी यसको निर्माण, इँटा तथा सिमेन्ट मोटार वा सिमेन्ट मोटार ढुंगाबाट निर्माण गर्न सकिन्छ । पानी पिउने क्षेत्रको निर्माण पनि दाना खाने क्षेत्रको जस्तै गरी बनाउनु पर्दछ । प्रति वयस्क पशुवस्तु १०–२० से.मि. लम्बाइ हुने गरी पानी पिउने क्षेत्रको निमाण गर्नु पर्दछ ।

८. खुट्टा डुबाउने क्षेत्र

सरुवा रोगबाट बचाउन गोठको गेटमा पिँधमा ६ह३ मिटर र माथि १२×४ मिटर फराकिलो तथा ०.३ मिटर गहिरो हुने गरी यसको निर्माण गरिन्छ र ५ प्रतिशतको फिनेल पानी वा १ प्रतिशतको पोटासियम परम्याग्नेट वा ०.१ प्रतिशतको एक्रिफलाभिन वा ७५ चुन पानी अटुट रूपमा राख्नु पर्दछ ।

९. मल राख्ने खाडल

गाईभैंसी गोठबाट अलि टाढा एउटा मल राख्ने खाडलको निर्माण गर्नु पर्दछ । यसरी बनाइने खाडल प्रति एक गाईभैंसीको लागि १२–१५ घनमिटर जति आवश्यक पर्दछ । किनकि, एउटा गाईबाट प्रति दिन ४० केजीको दरले मल प्राप्त हुन्छ र प्रति ३ मिटरमा ७००–१००० केजीसम्म मात्र मल अटाउन सक्छ ।

गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू
१. गोठ सुरक्षित हुनुपर्दछ जसले गर्दा गाईभैंसीलाई जाडो, गर्मी, वर्षा, बतासबाट बचाउँछ ।

२. गोठ सुविधायुक्त हुनुपर्दछ । यसले गाईभैंसीलाई बस्न, घाँस र दानापानी खान सजिलो हुन्छ र उत्पादन वृद्धि गर्न सहयोग पुग्दछ ।

३. गोठ बनाउँदा गाउँघरका स्थानीय सामग्री प्रयोग गरी बनाउनु पर्दछ । यसो गर्दा सस्तो लागतमा गोठ तयार गर्न सकिन्छ ।

४. गोठ सजिलै सफा गर्न सकिने हुनुपर्दछ । गोठको भुइँ केही भिरालो खाल्डाखुल्डी नपरेको र पानी नजम्ने खालको हुनुपर्दछ ।

५. गोठको भुइँ चिप्लिने खालको हुनु हुँदैन ।

६. गोठमा प्रशस्त हावा एवं प्रकाश आवतजावत गर्ने किसिमको हुनु पर्दछ । गोठमा प्रकाश र हावा कम भएमा पशुहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ ।

७. दुधालु पशुको लागि दूध दुहुन, पानी खुवाउन र सफा गर्न सजिलो हुने खालको हुनु पर्दछ ।

८. गोठमा दाना, घाँस, पानी ल्याउन सजिलो हुने ठाउँमा हुनुपर्दछ ।

९. गोठमा दाना, घाँस, पानी खेर नफालीकन खान सक्ने किसिमको डुँड बनाउनुपर्दछ ।

१०. विभिन्न उमेरका पशुहरूको लागि आवश्यक पर्ने गोठको क्षेत्रफल निम्न अनुसार छ।

पशु आहारा
गाईबाट राम्रो उत्पादन लिनको लागि राम्रो स्याहारसुसारको आवश्यकता पर्दछ । स्याहारसुसार राम्रो भएन भने राम्रो जातको पशु भएर पनि अपेक्षित उत्पादन लिन सकिँदैन । गाई पालनमा राम्रो स्याहारसुसार भन्नाले उचित व्यवस्थापन एवं राम्रो आहाराको प्रबन्ध गर्न आवश्यक पर्छ । किनभने, पशुको शरीरलाई चाहिने आवश्यक पौष्टिक तत्वहरू आहाराबाट उपलब्ध हुन्छन् ।

गाईको दूधमा पाइने चिल्लो पदार्थ, प्रोटिन, खनिज पदार्थ, भिटामिन आदि बन्ने प्रक्रियामा पशुलाई दिइने आहाराको सोझो सम्बन्ध हुन्छ । तसर्थ, गाईले जति बढी मात्रा दूध दिन्छन् त्यति नै राम्रो गुणस्तरको आहारा दिन आवश्यक हुन्छ । यसरी चाहिने मात्रामा आहारा प्राप्त भएन भने पशुले दूध उत्पादन गर्न आफ्नो शरीरमा रहेको सञ्चित शक्तिको प्रयोग गर्न थाल्दछन् । जसले पशुहरू दुब्लाउन थाल्दछन् । पशु कमजोर भएपछि उत्पादन घट्दछ, बेलामा बाली नजाने, गर्भ नरहने अथवा कमजोर बाच्छा–बाच्छी जन्मने हुन्छ । कमजोर पशुलाई विभिन्न रोग लाग्ने सम्भावना पनि हुन्छ । त्यसैले पशुहरूको आहारालाई पोषक तत्वको आधारमा २ भागमा वर्गीकरण गरिएको छ ।

१. घाँसपात
जुन आहारामा १८ प्रतिशतभन्दा बढी रेसा र ६० प्रतिशतभन्दा कम टिडिएन हुन्छ, त्यसलाई घाँसपातको वर्गमा राखिएको छ । सो हरियो वा सुख्खा दुवै किसिमको घाँसपातमा हुन सक्दछ ।

(क) सुख्खा घाँस

(ख) हरियो घाँस

(अ) नाइट्रोजन बढी हुने घाँस जस्तैः वर्सिम, लुसर्न, काउपी आदि ।

(आ) नाइट्रोजन कम हुने घाँस जस्तैः मकै, जुनेलो, बाजरा आदि ।

२. दाना
यस प्रकारको आहारामा १८ प्रतिशतभन्दा कम रेसा र ६० प्रतिशतभन्दा बढी टिडिएन हुन्छ ।

(क) पशुजन्य पदार्थ भएको दाना । जस्तैः माछाको सिद्रा, मासुको धुलो आदि ।

(ख) वनस्पतिजन्य पदार्थ भएको दाना । जस्तैः मकै, गहुँ, बदाम आदि ।

(ग) फिड एडेटिभ्स

एन्टिबायोटिक्स, हर्मोन, भिटामिन र खनिज पदार्थहरूलाई एडेटिभ्सअन्तर्गत राखिएको छ ।
दुधालु गाईको हेरचाह गर्दा दानापानी, घाँस, परालमा ध्यान पु¥याउनु पर्दछ । दुधालु पशु स्वस्थ रहन र दूध उत्पादन गर्नको लागि विभिन्न पौष्टिक तत्वहरूको आवश्यकता पर्दछ । त्यस्ता पौष्टिक तत्वहरू पशुलाई दैनिक खुवाइने दाना र घाँसपातबाट उपलब्ध हुनु पर्दछ । अन्यथा, उनीहरूको शरीरमा सञ्चित भएर रहेका तत्वहरू दूध बन्ने प्रक्रियामा प्रयोग हुन गई पशुको शरीर कमजोर हुन जान्छ । यसले दूध उत्पादन राम्रोसँग नहुने पशुले समयमा साँढे राँगो नखोज्ने समस्या पैदा भई आर्थिक हिसाबले किसानलाई नोक्सान हुन्छ । दुधालु पशु स्वस्थ रही सन्तोषजनक रूपमा दूध उत्पादन लिनको लागि व्यवस्थापनसँग सम्बन्धित निम्न कुराहरूमा ध्यान दिनुपर्दछ ।

१. गाई दुहुँदा ठीक तरिकाले दूध निथ्रने गरी दुहुनु पर्दछ, जसबाट कल्चौडोमा दूध बाँकी नरहोस् । दूध दुहुने बेला साबुनपानीले हात र कल्चौडो धोएर थुन एवं कल्चौडो सफा पार्नु पर्दछ । यसले थुन र कल्चौडोलाई संक्रमण हुनबाट जोगाउन सकिन्छ ।

२. धेरै दूध दिने उन्नत जातका गाईहरूलाई घाँस र परालबाट मात्र पौष्टिक आहारा नपुग्ने हुँदा सन्तुलित दाना दिनुपर्दछ । स्थानीयस्तरमा उपलब्ध हुन सक्ने विभिन्न पदार्थहरूको साथमा खनिज तत्वहरू मिसाइ घरमा नै सन्तुलित दाना बनाउन सकिन्छ ।

३. दूध दुहुँदा पशुलाई तर्साउने, पिट्ने र भड्काउने गर्नु हुँदैन । दूध दुहुँदा हातको मुठ्ठी बनाएर थुन निचोरेर दुहुँनु पर्छ । हत्केलाको र बुढी औंलाले थुन निचोरेर दुहुँनु हुँदैन । दूध दुहुने मानिसको हातको औलाको नङ्ग काटेको हुनुपर्छ ।

४. दूध दुहुँदा थुन धोएर पुछ्ने अनि छिटो–छिटो दुहुने गर्नुपर्दछ । थुनलाई पानीले धुँदा दूध पग्रिन मद्दत गर्छ । थुन धोएर सकेसम्म दूध पगारेको ७ मिनेटभित्र दूध दोही सक्नुपर्दछ । नत्र सबै दूध दुहुन नसकिने हुन्छ ।

५. दुधालु गाईलाई ब्याएको करिब २ महिना नपुगी साँढे लगाउने वा कृत्रिम गर्भाधान गराउनु हुँदैन । यसबाट पशुको स्वास्थ एवं शारीरिक अवस्थामा नराम्रो असर पर्छ र दूध उत्पादन घट्दछ ।
६. दूधको लागि पालिने गाईभैंसीको दूध उत्पादन क्रमशः पहिलो तथा पाँचौं बेतदेखि क्रमशः घट्दै जाने हुन्छ । तसर्थ ५ वा ६ बेत पछि हुन्छ ।

७. दूध उत्पादनको स्तर पशुलाई गरिने स्याहारसुसार र दाना पानीमा पनि भर पर्दछ ।

आहारा व्यवस्थापन

दूधालु पशुहरूलाई स्वस्थ रहन र दूध उत्पादनको लागि गुणस्तरयुक्त दानाको आवश्यकता पर्दछ । दुहुना गाईको लागि शारीरिक तौलको २.५–३ प्रतिशतसम्म सुख्खा पदार्थ आवश्यक पर्दछ । हामीले पशुवस्तुहरूलाई खुवाइने घाँसपातमा सरदर २० प्रतिशत सुख्खा पदार्थ र ८० प्रतिशत पानीको मात्रा रहेको हुन्छ । यस हिसाबले एउटा ३५० केजी तौल भएको पशुलाई ७–१० केजी जति सुख्खा पदार्थ चाहिन्छ र यसका लागि ३५ केजी घाँसपात खान दिनुपर्दछ । ३५ केजी घाँसको २० प्रतिशत सुख्खा पदार्थ भन्नाले ७ केजी हुन आँउछ र बाँकी ८० प्रतिशत ९२८ केजी अंश पानी पर्न आउँछ । एउटा स्वस्थ पशुलाई प्रतिदिन ४५ लिटर पानी दिनुपर्ने हुन्छ । माथिको हिसाब हेर्दा पशुलाई औसत २८ लिटर पानी दैनिक रूपमा दिनुपर्ने हुन्छ । यसरी पशुलाई कति पानी दिने भन्ने कुरा खाद्य पदार्थमा रहेको सुख्खा पदार्थमा घर पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *