हचुवाको भरमा संरचना चलाइयो, पशुपन्छी क्षेत्र दशकौं पछाडि पर्नेवाला छ

म पहिले पशु सेवा विभागको महानिर्देशक र पछि तत्कालीन कृषि तथा सहकारी मन्त्रालयको सचिव भएँ । विगतमा मैले नेतृत्व प्रदान गरेको पशु सेवा विभागको संरचनाहरू अहिले चलाइएका छन् । यो मलाई पटक्कै मन परेको छैन ।

कृषि तथा पशुपन्छी क्षेत्रले जब–जब गति लिन खोज्छ, तब यसलाई चलाइन्छ । संरचना बिगारेर पछि धकेल्ने काम गरिन्छ । विगतमा विभागलाई गिजोल्दा त्यसको धेरै नकारात्मक असर परेको थियो । हामीले विगतबाट पाठ सिक्नु पर्ने थियो । तर त्यसो गरेनौं । बरु विगतकै मार्ग अंगीकार गरेर फेरि पनि गिजोल्ने काम ग¥यौं ।

मानिसका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) रहेजस्तै पशुका लागि विश्व पशु स्वास्थ्य संगठन (ओआइई) छ । ओआइईले पशु स्वास्थ्यको क्षेत्रलाई व्यवस्थि तगर्नेबारे विभिन्न मापदण्ड तय गरेको छ । यसमा नेपालले पनि प्रतिबद्धता जनाएको छ । ओआइई मापदण्डअनुसार, क्वारेन्टिन, प्रयोगशाला पशु सेवा विभागअन्तर्गत नै हुनुपर्छ । पशुसम्बन्धी रोग उन्मूलन गर्न उसले यस्तो मापदण्ड तय गरेको हो । त्यसमा नेपालले पनि प्रतिबद्धता जनाएको छ । विगतमा हामी गंगटे रोग नियन्त्रणमा सफल हुनुमा ओआइईकै मापदण्ड र तदनुरूपको कार्यले काम गरेको थियो । फलतः यो रोग अहिले विश्वबाटै उन्मूलन भइसकेको छ ।

पहिले विभागअन्तर्गत क्षेत्रीय निर्देशनालयहरू थिए । त्यसअन्तर्गत जिल्ला पशु सेवा कार्यालय र जिल्लाअन्तर्गत सेवा केन्द्रहरू थिए । यो प्रणालीमा लाइन अफ कमाण्ड थियो । केही हुनेबित्तिकै तुरुन्ता–तुरुन्तै प्रचारप्रसार र एक्सन लिन सकिन्थ्यो । अहिले फेरि ती बनिबनाउ संरचना भत्काइएको छ । यसले विभागलाई पछाडि पार्ने त छनै अनेक रोगका महामारीको दुश्चक्रमा धकेल्ने खतरासमेत बढाएको छ । । ओआइईमा हामीले उसका मापदण्ड अंगीकार गर्ने भनेर हस्ताक्षर गरेकोमा त्यसविपरीत विभाग एकातिर, ल्याब, क्वारेन्टिन अर्कातिर बनाउने काम गरिएको छ । यसलाई तत्काल सच्याउनु पर्छ ।

पशु सेवा विभागको संरचना चलाउँदा भेटेरिनरी क्षेत्रका विज्ञ, यससँग सम्बन्धित संघ–संगठन, पेशाकर्मीलाई राखेर छलफल गर्नुपर्ने हो । तर यस्तो केही नगरी एकै पटक कार्यालय खारेजीदेखि गाभ्ने, झार्नेसम्मका कदम उठाइयो । शून्य बजेट रहेका कार्यालयमा पुनः बजेट फुकुवा गर्ने भनिए पनि अझै समाधान भएको छैन । यो काम मलाई बडो आश्चर्यपूर्ण लागेको छ ।

विभागको संरचना परिवर्तन गर्ने काम चुनौतीपूर्ण हो । यो हचुवाको भरमा नभई अध्ययनपछि गर्नुपर्छ । नभए वर्षौं पछाडि धकेलिन्छ । तर सधैंभरि पशुसँग सम्बन्धित कार्यालयलाई गिजोलिने गरेको छ । अहिले पशु सेवा विभाग ठीक–ठाकसँग चलिरहेका बेला पुनः चलाइयो । यसको असर दूरगामी रहनेछ । मेरो विचारमा हामी एक दशक पछाडि पर्नेर्छौं ।

पशु सेवा विभागअन्तर्गतको क्वारेन्टिन कार्यालयलाई खाद्यमा लगिने अर्को कार्यक्रम पनि बजेटमा समेटिएको छ । यो गलत छ । यसलाई चलाउन हुँदैन । पशु सेवा विभागअन्तर्गत नै राख्नुपर्छ । ओआइईको मापदण्डमा पनि यही उल्लेख छ । प्रयोगशाला पनि त्यही अनुसार हुनुपर्छ । प्रादेशिकको हकमा के गर्ने हो, त्यसबारे भने छलफल गर्न सकिन्छ ।

(नेपाल सरकारका पूर्वसचिवसमेत रहेका श्रेष्ठसँग भेट टाइम्स मासिकले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *